

Published
Updated
हाल कोप–२६ जलवायु सम्बन्धी शिखर सम्मेलनका लागि स्कटल्यान्डको ग्लास्गोमा रहेका प्रधानमन्त्री मोरिसनले एक विज्ञप्ति जारी गर्दै उज्यालोको पर्वका रूपमा लिइने दीपावली मनाउने सम्पूर्ण मानिसहरूलाई शुभकामना दिएका हुन्।
"महिनाको यो सबै भन्दा अँध्यारो रातमा, हाम्रो मनमा अँध्यारो माथि उज्यालोको विजय, दुष्टता माथि असलताको र अज्ञानता माथि ज्ञानको विजयको भाव रहने छ। यो, हामी सामु रहेको उज्यालोले हामीलाई अगाडी डोर्याउने समय हो," उनले भनेका छन्।
कोभिड–१९ का कारण गत दुई वर्ष अन्धकारमय भएको भन्दै प्रधानमन्त्रीले अब प्रकाशका किरणहरू देखिन थालेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
“यसको अर्थ, हामीले गर्न नपाएका सबै कुराहरू - स्वागत, भेला, उत्सव र समारोहहरू - फेरी सम्भव हुनेछन्। अस्ट्रेलियाका केही भागमा हामीले यस वर्ष मनाउन पाउने छौँ, र बाँकी भागमा अर्को वर्ष मनाउने छौँ।"
अघिल्ला वर्षहरूमा आफू दीपावलीका विभिन्न कार्यक्रममा सरिक भएको भन्दै यस विशेष उत्सवको आनन्द, रङ्ग, समुदाय र खानाका बारेमा आफू परिचित रहेको पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ।
साथै, उनले खोप लगाउन सबै अस्ट्रेलियालीलाई आग्रह गर्दै समुदायलाई सुरक्षित राख्न जारी प्रयासका लागि पनि सबैलाई धन्यवाद दिएका छन्।

विपक्षी दल लेबरका नेता एन्थोनी अल्बनिजी

यसै गरी, सङ्घीय विपक्षी दल लेबरका नेता एन्थोनी अल्बनिजीले पनि दीपावली मनाउने सबै प्रति शुभ-कामना व्यक्त गरेका छन्।
६ महिनामा पहिलो पटक भिक्टोरियामा पाइला राखेका अल्बनिजीले पश्चिमी मेलबर्न स्थित एक गुरुद्वारा पुगेर दीपावलीको शुभ-कामना दिएका हुन्।
"अँध्यारो माथि उज्यालोको विजयका प्रतीक दीपावली मनाउने गरिन्छ," उनले भने।
दीपावलीले एकताको सन्देश पनि दिने गरेको छ भन्दै उनले यस चाडले हिन्दु, जैन, सिख तथा केही बौद्ध धर्मावलम्बीहरूलाई एकै सूत्रमा बाँध्ने बताए।
अध्यागमन मन्त्री एलेक्स हअक 
सङ्घीय अध्यागमन मन्त्री एलेक्स हअकले पनि दीपावलीको अवसरमा शुभकामना दिएका छन्।
विज्ञप्ति मार्फत उनले अस्ट्रेलिया पुनः खोलिँदै गर्दा मानिसहरू दीपावलीको उत्सवमा भाग लिएको हेर्न आफू उत्सुक रहेको बताए।
“मानिसहरू राम्रा लुगा लगाएर, दियो बत्तीका साथ एकसाथ भेला भएको हेर्न पाउने मेरो आशा छ,” मन्त्री हकले भनेका छन्।
गत १८ महिना यता अस्ट्रेलियालीहरूले थुप्रै अवरोधहरूको सामना गर्नु परेको थियो।
यस वर्ष सरकारले अन्तराष्ट्रिय यात्राका लागि अस्ट्रेलियाली नागरिक एवम् पीआर भएका अभिभावकहरूलाई तत्काल परिवारको मान्यता दिएकाले थुप्रै परिवारहरूमा भेटघाटको अवसर मिल्ने पनि हकले उल्लेख गरेका छन्।
