SKIP TO MAIN CONTENT

सोमवार साँझ ५ देखि ब्रिसबेन लगायत चार अन्य काउन्सिलमा पर्ने क्षेत्रहरू लकडाउनमा

आगामी बिहीबार साँझ ५ बजेसम्मका लागि बृहत् ब्रिसबेन महानगरीय क्षेत्र लगायत इप्सविच, लोगन, रेडल्यान्ड्स र मोरेटन लकडाउनमा जाने भएका छन्।

Queensland Premier Annastacia Palaszczuk.
Queensland Premier Annastacia Palaszczuk. Source: AAP

2 min read

Published

Updated



Skip to article content

सोमवार बिहान ब्रिसबेनमा आयोजित एक प्रेस सम्मेलनलाई सम्बोधन गर्दै क्विन्सल्यान्ड प्रिमियर अनास्टेसि्या पलाशेले उक्त घोषणा गरेकी हुन्।

गत शुक्रवार यता सामुदायिक रूपमा कोरोनाभाइरसद्वारा सङ्क्रमित हुनेको सङ्ख्या क्विन्सल्यान्डमा बिस्तारै बढिरहेको छ।

यसैक्रममा सोमबार थप चार जनामा कोभिड-१९ को सामुदायिक सङ्क्रमण देखिएपछि, सोको नियन्त्रणका लागि भन्दै उनको यस्तो घोषणा आएको हो।

"भाइरसको यो प्रजाति अत्यधिक सङ्क्रामक छ," पत्रकारहरूलाई क्विन्सल्यान्ड प्रिमियरले सम्बोधन गर्दै भनिन्।

पलाशेका अनुसार उक्त 'युके स्ट्रेन' प्रजाति निकै द्रुत गतिमा फैलने र भविश्यमा लामो अवधिका लागि कडा खालको कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू लगाउन नपरोस् भन्ने हेतुले, यस प्रकारको तीन दिने लकडाउन लगाउन आवश्यक परेको हो।

लकडाउन लागू भएपछि मानिसहरूलाई ४ प्रमुख क्रियाकलापका लागि मात्रै घर बाहिर जान पाउने अनुमति रहनेछ।

ती अत्यावश्यक क्रियाकलापहरूमा खाद्यान्न किनमेल, व्यायाम, स्वीकृति प्राप्त रोजगारी र स्वास्थ्य सम्बन्धी कारणहरू रहेका छन्।

Nepali Can I go for a Drive Infographics
Source: SBS Nepali

साथै, घरबाट निस्कँदा लकडाउनमा परेका सबै क्षेत्रका मानिसहरूले मास्क पनि अनिवार्य रूपमा लगाउनु पर्नेछ।

प्रिमियर पलाशेले मङ्गलवारदेखि स्कूलहरू बन्द रहने पनि जानकारी दिइन्।

"कन्ट्याक्ट ट्रेसिङ माथि काबू पाउन यी सबै कदमहरू चाल्न जरुरी देखिएको हो," उनले आफ्नो निर्णयहरूको प्रतिरक्षा गर्दै भनिन्।

"गए रात म निदाउन सकिन। म निकै चिन्तित छु।"

क्विन्स्ल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङ्गका अनुसार सङ्क्रमित मानिसहरूले यात्रा गरेका कारण सामुदायिक सङ्क्रमणको चिन्ता थप बढेको छ।

सङ्क्रमित अवस्थामा रहँदा नै दुई जना मानिसहरूले ग्लाडस्टोन तथा बाइरन बेको भ्रमण गरेको उनले खुलासा गरिन्।

यसै कारण, ब्रिसबेन बाहेक अन्यत्र पनि लकडाउन गर्नुपरेको डा. यङ्गको भनाई छ।

बृहत् ब्रिसबेन क्षेत्रलाई 'हटस्पट' घोषणा गरेको क्विन्सल्यान्ड सरकारले अन्य राज्य तथा प्रदेशहरूले पनि सोही दर्जामा राख्न आग्रह गरेको छ।

आइतबार मात्र ११,६०० भन्दा बढी परीक्षण भएको क्विन्सल्यान्डमा ४ सामुदायिक सङ्क्रमणका घटना बाहेक विदेशबाट आएर हाल होटेल क्वारेन्टिनमा रहेका ६ जनामा पनि कोरोनाभाइरस देखा परेको बताइएको छ।

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यू साउथ वेल्स, भिक्टोरिया, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now