“खस्कदो सेवा स्तर”: बुपाका एज्ड केयरको आलोचना

अस्ट्रेलियामा सबैभन्दा धेरै वृद्ध हेरचाह गृह सञ्चालन गर्ने बुपा नर्सिङ होमहरूमा प्रदान गरिने सेवाका स्तरमा निकै गिरावट आएको आरोप लागेको छ।

 A Bupa private health insurance store in Brisbane

Source: AAP

बुपालाई वृद्ध हेरचाह सेवा प्रदान गर्न दिइएको मान्यता पत्रहरूको विश्लेषण गरेको एबीसीका अनुसार उक्त संस्थाका झन्डै ३० प्रतिशत सेवा गृहहरूले आफ्ना सेवाग्राहीहरूको स्वास्थ्य तथा सुरक्षा माथि गम्भीर खेलबाड गरेको आरोप रहेको छ।

सरकारी ढुकुटीबाट करिब आधा अर्व डलर अनुदान स्वरूप पाउने बुपा के वृद्ध सेवा प्रदायक बनिराख्न लायक छ त? भन्ने प्रश्न अभियानकर्ताहरुले अगाडी सार्न थालेका छन्।

लगभग ६,५०० वृद्ध-वृद्धा हाल बुपाका ७२ सेवा गृहहरूमा भर्ती भएको बताइँदै गर्दा सरकारले बुपाको सम्बन्धन पत्र खारेज गर्ने निर्णय अपर्झट गरिदीहाल्यो भने के होला भन्ने पनि उनीहरूको चिन्ता छ।

ग्रुप एज्ड केयर नामक अभियान समूहकी लिण्डा षल्टारेल्ली बुपा निकै ठुलो रहेको र यो बन्द हुन नसक्ने बताउँछिन्।

“उनीहरूको काम गराई राम्रो छैन तर उनीहरू निकै ठुलो कम्पनी भएकाले बन्द गरिहाल्न पनि सजिलो छैन। मेरो बिचारमा उनीहरूको ठाउँमा अरू कुनै सानो कम्पनी भएको भए उहिले बन्द भइसक्थ्यो।”

calls for urgent reforms  in the workplace for aged care workers
Nursing home Source: Getty Images

सङ्घीय सरकारमा वृद्ध स्याहार तथा ज्येष्ठ नागरिकहरूका मन्त्री रहेका रिचार्ड कल्बेकका अनुसार सरकाले बुपाको काम गराइलाई नजिकबाट नियाली रहेको छ।

आफ्नो मन्त्रालयले बुपाका प्रतिनिधिहरूसँग उसको प्रगतिबारे हरेक हप्ता बुझिरहेको उनले बताए।

मन्त्री कल्बेकले बुपाद्वारा लगातार रूपमा तोकिएको स्तरको सेवा प्रदान गर्न नसक्नु अस्वीकार्य भएको पनि बताएका छन्।

सङ्कटग्रस्त बुपा?

एबीसीका अनुसार, बुपाका ७२ नर्सिङ्गहोमहरुमा गत साल मात्र स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नपुगेका ४५ वटा घटना घटेका थिए।

त्यही अवधिमा, उसका २२ वटा वृद्ध सेवा केन्द्रहरूले त्यहाँ बस्ने सेवाग्राहीहरूको स्वास्थ्य तथा सुरक्षामा गंम्भिर खतरा निम्त्याएको पनि बताइएको छ।

यसै बिच, १३ वटा नर्सिङ होमहरूले सरकारी अनुदान गुमाउँदै नयाँ आवासीय सेवाग्राहीहरू भर्ती गर्न असमर्थ भएको पनि जनाइएको छ।

बुपाले सञ्चालन गरेका नर्सिङ होमहरु मध्ये सिफोर्थ (न्यु साउथ वेल्स) बाहेक बेर्री एण्ड इडेन (न्यु साउथ वेल्स), टारालगन (भिक्टोरिया) र साउथ होबार्ट (तास्मानिया) को सम्बन्धन रद्द भएर पुन: कायम भइसकेको छ।

Bupa aged care
Source: Getty Images

प्रकाश पौडेल घटनासँग सम्बन्धित नर्सिङ होम अझै सङ्कटमा

गत वर्ष बुपाको सिफोर्थ स्थित नर्सिङ होममा कार्यरत प्रकाश पौडेलले एक वृद्ध माथि जुत्ता प्रहार गरेको भिडियो सार्वजनिक भएपछि देखि उक्त वृद्ध स्याहार केन्द्र “गम्भीर जोखिम” सूचीमा अङ्कित छ।

उक्त घटना पछि छानबिन गर्दा, नियामक संस्थाले बुपा सिफोर्थद्वारा ४४ मध्य ३४ वटा मापदण्डहरू पुरा नगरेको पाएको थियो।

ती मापदण्डहरू पुरा गर्न समय तालिका सहित उसले बुपालाई सुधारिन मौका दियो। तर, यस वर्षको मे महिनामा जारी एक प्रतिवेदन अनुसार बुपा सिफोर्थले अझै २६ वटा मापदण्डहरू पुरा गरेको थिएन जस कारण उसको सम्बन्धन खारेज पनि भयो।

बुपाका प्रमुख कार्यकारी अधिकृत हिशाम एल-अन्सारीले एबीसीलाई पठाएको एक विज्ञप्तिमा गुणस्तरमा वृद्धि गर्ने प्रतिज्ञा गर्नुका साथै कम्पनीका असफलताहरूका लागि माफी पनि मागिएको छ।

“हामीले हाम्रा सबै सेवाग्राहीका निमित्त सधैँ स्याहारको उचित स्तर राख्न सकेनौँ र त्यसका लागि म हृदयदेखि नै माफी माग्दछु,” उनको विज्ञप्तिमा भनिएको छ।

४४ वटै मापदण्डहरू पुरा नभए अक्टोबरको २७ तारिखमा बुपा सिफोर्थको हाल कायम अनुबन्धन समाप्त भएपछि पुन: नवीकरण नहुने, सरकारी अनुदान खारेज हुने र उसको इजाजतपत्र स्थायी रूपमा नै खारेज हुने नियामक संस्था “दी एज्ड केयर क्वालिटी एण्ड सेफ्टी कमिसन ले बताएको छ।


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now