न्यु साउथ वेल्स सरकार द्वारा राज्यमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सहयोगको लागि भन्दै घोषणा गरिएको २ करोड डलरको सहायता प्याकेजको प्रभावकारीता माथि प्रश्न उठेका छन्।
गत मे १५ तारिक राज्य सरकार द्वारा गरिएको घोषणाका अनुसार कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्ध लगायतका कारणहरुले संकटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि होमस्टे र विद्यार्थी सेवाहरु मार्फत अस्थायी आवासको व्यवस्था गराउने छ।
साथै घर भाँडा, स्वास्थ्य, कानूनी र मानसिक स्वास्थ्य सहायता लगायतका विषयहरुमा परामर्श लिन विद्यार्थीहरुका लागि टेलिफोन हटलाइन सेवा पनि सुरु गरिने छ।
उक्त सेवा चौबीसै घण्टा सातै दिन उपलब्ध रहने न्यु साउथ वेल्स सरकारको भनाइ छ।

पछिल्ला समयमा देशका अन्य राज्य र प्रादेशिक सरकारहरुले आफ्नो सीमा भित्र रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि राहत सहयोगको घोषणा गरिए पछि, त्यस्तै कदम चाल्न न्यु साउथ वेल्स सरकार माथि पनि दबाब बढेको थियो।
तर ग्लाडिस बेरेजिक्लियन सरकार द्वारा गरिएको पछिल्लो घोषणा अन्य राज्यहरुको तुलनामा कम रहेको पनि बताइएको छ।
भिक्टोरियामा आफ्नो जागिर गुमाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि १,१०० डलरको नगद भुक्तानी लगायत चार करोड पचास लाख डलरको राहत प्याकेज घोषणा गरिएको थियो।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुको राष्ट्रिय महासंघ कि ओलेना न्युवेनले प्रभावित विद्यार्थीहरुका लागि न्यु साउथ वेल्स सरकारको पछिल्लो सहायता स्वागतयोग्य रहेता पनि, भिक्टोरियामा झैं यहाँ पनि विद्यार्थीहरुलाई आर्थिक सहायता उपलब्ध गराउनु जरुरी रहेको बताएकी छन्।
"मलाई लाग्दैन यसले धेरै समस्याहरुको समाधान गर्ने छ," उनले एसबीएसलाई बताइन।
"अन्तर्राष्ट्रिय विद्यार्थीहरुले आवासको मात्र नभई खाना र दैनिक जीवनयापनका अन्य समस्याहरुको पनि अहिले सामना गर्नुपरिरहेको छ," उनले भनिन्।
"तर आवास पनि एक महत्वपूर्ण विषय हो।"
हाल अस्ट्रेलिया भर करिब ५ लाख ६५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरु रहेको र उनीहरुले हाल आफ्नो रोजगार गुमाउने आम अस्ट्रेलियालीहरु झैं जबसीकर वा जबकीपर भुक्तानी पाउदैनन्।
न्यु साउथ वेल्सका सीप र उच्च शिक्षा सम्बन्धि मन्त्री जेफ ली द्वारा गरिएको पछिल्लो घोषणाका साथ् लिगल सर्भिस न्यु साउथ वेल्स द्वारा विद्यार्थीहरुका लागि नि:शुल्क कानूनी परामर्श उपलब्ध गराइने छ।
"धेरैले आफ्नो पार्ट-टाइम काम गुमाएका छन्, साथै उनीहरु आफ्नो देश फर्किन र संघीय सरकारको आर्थिक सहायता पाउने अवस्थामा रहेका छैनन्," राज्य मन्त्री ली ले बताए।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई न्यु साउथ वेल्सको भन्दा कम आर्थिक सहयोग प्रदान गर्ने राज्य तास्मानिया रहेको छ।
जहाँ प्रत्येक विद्यार्थीलाई २५० डलर वा प्रत्येक परिवारलाई १,००० डलर सम्म प्रदान गर्ने घोषणा राज्य सरकारले गरेको छ।
यसैक्रममा न्यु साउथ वेल्स लेबर पार्टीले चाहिं राज्य सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई थप सहयोग प्रदान गर्न सक्ने बताएको छ।
उच्च शिक्षा सम्बन्धि विपक्षीका छायाँ मन्त्री क्लेटन बारले विद्यार्थीहरुको सहयोगको लागि कदम चाल्न किन राज्य सरकारले यति ढिलो गरेको भनि प्रश्न गरेका छन्।
साथै हाल घोषणा गरिएको भन्दा धेरै राम्रो सहयोग प्रदान गर्न सकिने अवस्थामा सरकार रहेको पनि क्लेटनले बताए।
"यदि तपाईंको छोराछोरी पनि अहिले कुनै विदेशी विश्वविद्यालयमा अध्यनरत रहेको र सीमा भन्दा भएका कारण उनीहरु आफ्नो घर फर्कन नपाएको अवस्थामा, उनीहरु रहेको देशले पनि आफ्नो छोराछोरीको राम्रोसंग हेरचाह गरेको तपाईंले हेर्नचाहनुहुन्छ," उनले भने।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

