सन् २०२१ को जनगणना अनुसार अस्ट्रेलियामा करिब ८००,००० मुस्लिम समुदायका सदस्यहरू बसोबास गर्छन्।
र बुधवारको सुर्यास्तसँगै विभिन्न राज्यमा छरिएर रहेका समुदायका सदस्यहरूले आफ्नो परम्परा र गक्ष अनुसार रमदान मनाइरहेका छन्।
इस्लामिक क्यालेन्डरले नवौँ महिनाका रूपमा रमदानलाई व्याख्या गरेको छ।
इस्लाम धर्मावलम्बिहरुले महिनाभर बिहानदेखि सूर्यास्तसम्म व्रत बस्ने चलन छ।
यस महिनालाई दान र पुण्य कमाउने अवसरका रूपमा पनि लिइन्छ।

किन हरेक वर्ष फरक मितिमा रमजान पर्छ?
रमदान, हरेक वर्ष एकै दिन वा महिनाबाट सुरु हुँदैन, यसको कारण चाहिँ इस्लाम धर्मावलम्बीको पात्रो हो।
इस्लाम पात्रोलाई मान्यता दिने चलन अनुरूप, प्रत्येक वर्ष रमदान सुरु हुने मिति १० दिनसम्मले फरक पर्न सक्छ।
यस वर्ष भने २२ मार्चमा सुरु भएर २१ अप्रिलमा यसको अन्त्य हुदैछ।
के महिनाभर नै व्रत बस्ने चलन छ?
रमदानको व्रत बसेका धर्मावलम्बिहरुले सूर्योदय देखि सूर्यास्तसम्म पानी पनि पिउँदैनन्।
उक्त समयमा धूम्रपान, कुनै पनि प्रकारका औषधि सेवन र यौन क्रियाकलाप पनि बन्देज गरिएको छ।

तर सूर्यास्त भएपछि भने यो नियमहरू लागु हुँदैनन्।
सूर्यास्त पछि या चन्द्रोदय पछि लिइने पहिलो खानालाई इफ्तार भनिन्छ– इफ्तार अर्थात् व्रत भङ्गको क्रम।
वर्त भङ्ग गर्नका लागि पानी र खजुर खाने प्रचलन छ।
त्यसपछि भने सुर्य उदय नभएसम्मका लागि खानाका लागि थुप्रै परिकारहरू बनाइएका हुन्छन्।
सबेरै या सूर्योदय अघि नै उठेर, कतिपयले ब्रेकफास्टका रूपमा हल्का खाना खाएर दिनको सुरुवात गर्ने चलन छ।
व्रत बस्नुको मुख्य कारण चाहिँ के हो त?
रमदानमा व्रत बस्नु धेरैका लागि चुनौती हो तर समृद्ध जीवन जिउन नसकेका वा आर्थिक रूपमा विपन्न मानिसहरूको भोगाइलाई अनुभव गर्नु पनि व्रत बस्नुको मूल उद्देश्य मानिन्छ।
यस बाहेक भावनात्मक र आध्यात्मिक रूपमा आफूले आफूलाई शुद्धीकरण गर्नु पनि यसको उद्देश्यमा पर्दछ।
यस वर्षको रमदानका अघिल्ला १० दिन अस्ट्रेलियाका कतिपय राज्यहरूमा, डे लाइट सेभिङ्गस पर्ने भएकाले व्रत बस्नेहरू केही प्रभावित हुन सक्छन्।
यसको मतलब, २ अप्रिल अघि साँझ व्रत तोड्नका लागि केही लामो समय कुर्नु परेको अनुभव हुनेछ।
युरोपका केही देशमा भने चाडै उज्यालो हुने र ढिला रात पर्ने भएकाले १६ घण्टासम्म व्रत बस्नु पर्ने हुन सक्छ।
के रमदानलाई खाना वा व्रतसँग मात्र जोडिन्छ त?
रमदानलाई खानासँग मात्र जोड्दा न्याय नहुने केहीको भनाई छ।
यो महिना इस्लाम धर्मका मूल्य र मान्यताहरूलाई आत्मसाथ गर्दै एक असल व्यक्तिका रूपमा आफूमा परिवर्तन गर्नु पनि हो।
समुदायका धेरै सदस्यहरूले आफूमा भएका नकारात्मक भावना र बानीहरूबाट मुक्त राख्न पनि रमदानको व्रत बस्छन्।
यो समयलाई अरूको बारेमा चियो चर्चा गरेर बिताउने भन्दा पनि, धार्मिक ग्रन्थ 'कुरान' पाठ गरेर, भगवान् प्रति आस्था राख्दै मस्जिदहरू पुगेर वा सकारात्मक सोचको विकास गरेर बिताउन मानिसहरू चाहन्छन्।
यसबाहेक महिनाको अन्त्यमा आफ्नो सम्पत्तिको केही भाग दान पनि गर्ने चलन छ– जसलाई इस्लामिक भाषामा जाकात भनिन्छ।
यसबाहेक महिनाको १० औँ दिनमा लेलातुल–कदीर पर्दछ, जसमा गरेका पुण्यकामहरु हजारौँ गुणाले बढ्ने मान्यता छ।
सिया र सुन्नी मुस्लिम समुदायमा केही रात जागराम बस्नु पर्ने परम्परा पनि छ।
यसरी रातभर जागराम बस्दा मस्जिद, सार्वजनिक स्थान वा घरमा भेला हुने चलन छ।
व्रत बसेका मानिसहरूको अघि बसेर खाना खानु उचित हुन्छ?
खान त सकिन्छ, तर सामान्य शिस्टाचारका कुरामा भने विचार पुर्याउनु पर्छ।
व्रत बसेका मानिसहरूले साँझ परेपछि रुचाएको भोजन प्राप्त गर्ने भएकाले यसलाई ठुलो रूपमा भने लिनु हुदैन्।
के सबैले व्रत बस्नु जरुरी हुन्छ?
स-साना बालबालिका, बृद्द व्यक्ति, गर्भवती महिला, बिरामी, महिनावारी भएका वा विशेष ख्याल राख्न पर्ने मानिसहरूले व्रत बस्नबाट छुट पाएका छन्।
यदि कसैले रमदानको समयमा व्रत बस्न मिलेन वा पाएन भने पनि महिना सकिएपछि पनि व्रतलाई कायम नै राख्न सक्छन्।
यस बाहेक आफ्ना व्यक्तिगत कारणले पनि केही मानिसहरूले व्रत नबस्न रोज्न सक्छन् यस्तो अवस्थामा उनीहरूलाई प्रश्न गर्न भने अनुचित मानिन्छ।
के व्रत बस्दा वजन घट्छ?
प्रत्येक मानिसको शरीर फरक हुने भएकाले व्रत बस्नेले वजन कम गराउँछ भन्ने चाहिँ हुँदैन।
कतिपय मानिसको भने रातिमा खाना खाने भएकाले वजन बढ्न पनि सक्छ।
तर वजन घट्छ वा बढ्छ भन्नका लागि व्रत बस्ने भन्ने चाहिँ हुदैन।

रमदानमा आफ्ना साथीहरूलाई कसरी शुभकामना दिने
आध्यात्मिक रूपमा चुनौतीपूर्ण महिनामा आफ्ना मुस्लिम साथीभाईहरुलाई कसरी शुभकामना दिने भनेर सोच्दै हुनुहुन्छ भने जसरी क्रिसमस वा अन्य पर्वहरूमा हामीले एक अर्कालाई आदरतापूर्वक सम्मान व्यक्त गर्छौ, रमदानमा पनि त्यसरी नै शुभकामना दिइन्छ।
'रमदान मुबारक' वा 'रमदान करीम' सामान्य रूपमा शुभकामना दिने शब्दहरू हुन्।
तर स्थान र अवस्था हेरीकन यसमा फेरबदल भएमा भने आश्चर्य मान्नु हुँदैन।
नोट: डे लाइट सेभिङ्गसले व्रतालुमा प्रभाव पार्ने भएकाले लेखलाई केही संशोधन गरिएको छ।
