केहि महिना अघि अस्ट्रेलियामा आएको डढेलोले निकै परिवार प्रभावित भएका थिए।
यहि क्रममा रेड क्रस संस्थाले अर्थ संकलनका लागि राहत-कोष स्थापना गरेको थियो, जहाँबाट पैसा चोर्न अहिले अनेकन प्रयास भईरहेका छन्।
रेड क्रसले जनाए अनुसार, उक्त संस्थाबाट पैसा चोर्नका लागि, ९०० भन्दा बढी साईबर आक्रमण भईसकेका छन्।
अहिलेसम्म रेड क्रसले डढेलो राहतका लागि २१६ मिलियन डलर जम्मा गरिसकेको छ।
उक्त अन्तराष्ट्रिय संस्थाका अस्ट्रेलियाका प्रोग्राम डाईरेक्टर नोल क्लेमेन्टले पैसा चोर्ने प्रयास शुरु देखिनै भएको बताएका छन्।
डढेलोको सम्बन्धमा भईरहेको शाही आयोगको सुनुवाईको क्रम क्लेमन्टले उक्त जानकारी दिएका हुन्।
यो सँगसँगै, रेड क्रसले डढेलो राहतका लागि निकै ठूलो मात्रामा गलत सूचनाका साथ भरिएको आवेदनहरु पाएको छ।
अहिले उक्त संस्थाले यस्ता शंकास्पद आवेदनहरुमा फर्छ्यौट गर्दै गरेको क्लेमेन्टले बताएको छन्। कतपय झुठ्ठा आवेदनहरु स्थानिय प्रहरिलाई थप कारवाहीका लागि बुझाईएको पनि रेड क्रसले उल्लेख गरेको छ।
“ब्ल्याक समर” भनेर चिनिन थालेको गत गर्मी यामको डढेलोले ३३ जनाको ज्यान लिनुका साथै ३१०० भन्दा बढी घरहरु क्षति गरेको थियो। त्यस डढेलोले १२ मिलियन हेक्टर जमीनलाई प्रबावित गरेको थियो।

रेड क्रसले जम्मा भएको २१६ मियन डलरमध्ये करिब ८३ मिलियन ४००० प्रभावित व्यक्तिहरुमाझ बाँडिसकेको छ। यसमध्ये अधिकांस रकम न्यु साउथ वेल्स राज्यमा गएको उक्त संस्थाका अधिकारिले बताएका छन्।
डढेलोले प्रभावितहरुले चाहिने समयमा राहत-कोषकोबाट सहयोग नपाएको कुरालाई लिएर रेडक्रसको कटु आलोचना हुँदै आएको छ।
उक्त संस्थाले भविष्यका कारवाहीका लागि अहिलेनै रकम छुट्याएको र पीडितहरुलाई सहयोग गर्न कञ्जुसाँई गरेको आरोप लाग्दै आएको छ।
रेड क्रसले भने उक्त आरोपको खण्डन गर्दै आएको छ, र डढेलो प्रभावितहरुलाई रकम बाँड्ने आश्वासन दिएको छ।
“हामीलाई प्रभावितहरुको बारेमा पूर्ण आधिकारिक जानकारि नभएका कारण यसमा ढिलाई भएको उनले बताए,” क्लिमेन्टले बताए।
यसै क्रममा शाहि आयोगमा बोल्दै, केहिले डढेलोको धुँवाका कारण अस्ट्रेलियाका ८० प्रतिशत जनसंख्या प्रभावित भएको र कम्तिमा ४५५ जनाको यसै कारण ज्यान गएको बताएका छन्।
यसरी डढेलोबाट प्रभावितहरु पूर्ण रुपले सामान्य रुपमा फर्कन कम्तिमा पाँच बर्ष लाग्ने भनि बताईएको छ।
