Key Points
- हाल निर्धारण हुन बाँकी नै रहेको पश्चिमी सिड्नी स्थित कुनै एक स्थानमा एसबीएसले आफ्नो हब स्थापना गर्नेछ।
- एक सम्भाव्यता अध्ययनले आर्टामनमा रहेको एसबीएसको मुख्यालय स्थानान्तरण नगर्ने निर्णय लिएपछि हब निर्माण बारे घोषणा गरिएको हो।
- हब निर्माणको लागि सम्भावित स्थान बारे स्थानीय घरजग्गा बजारबाट एसबीएसले ‘एक्सप्रेसन्स अफ इन्ट्रेस्ट’ माग गर्नेछ।
सङ्घीय सरकारले आइतवार, ८ डिसेम्बर २०२४ मा गरेको यो घोषणासँगै स्पेसल ब्रोडकास्टिङ सर्भिस (एसबीएस) नेपालीभाषी लगायतका आप्रवासीहरूको ठुलो उपस्थिति रहेको पश्चिमी सिड्नीमा विस्तारित हुने भएको हो।
नयाँ बन्ने हबमा दर्शकहरू समावेश हुने गरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने एक टेलिभिजन स्टुडियोका साथै रेडियो कार्यक्रम र पोडकास्ट निर्माण बुथहरू हुनेछन्।
यसै गरी उक्त नयाँ कार्यक्रम उत्पादन केन्द्रमा प्रसारण सामाग्रीहरूको निर्माणमा सहयोग पुर्याउन एक कार्यस्थलको पनि स्थापना हुनेछ।
यसअगि, सिड्नीको उत्तरमा रहेको आर्टामन स्थित मुख्यालयबाट एसबीएसलाई पश्चिमी सिड्नी सार्ने कुरामा केन्द्रित हुँदै एक प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको थियो।
स्थानान्तरणका लागि ठुलो धनराशि खर्च गर्नुपर्ने कारण देखाउँदै सरकारले यो नयाँ विकल्प रोजेको हो।
हब निर्माणको स्थान र अन्तिम योजनाहरू आर्थिक लाभ बारे हुने एक विस्तृत अध्ययनका आधारमा तय गरिनेछ।
नयाँ बन्ने हब स्थापना भइसकेपछि उक्त केन्द्रबाट वार्षिक १,४४० घण्टाभन्दा बढी मौलिक अडियो तथा पोडकास्ट सामाग्रीका साथै हरेक वर्ष ३६० घण्टाको हाराहारीमा नयाँ अस्ट्रेलियन टेलिभिजन सामाग्री निर्माण गर्न एसबीएस सक्षम हुनेछ।
“अर्को साल एसबीएस ५० वर्ष पुग्दै गर्दा, प्रसारण सामाग्रीहरू निर्माण गर्ने हाम्रो क्षमता र पूर्वाधार विस्तार गरेर उक्त उत्सव मनाउन पाउनुभन्दा उत्तम के होला र,” एसबीएस सञ्चालक समितिका अध्यक्ष जर्ज साभिडेस एएमले भने।
“पश्चिमी सिड्नीभित्र एसबीएसलाई समाहित गर्ने अवसर, समुदायलाई एक विश्वासिलो एवं निष्पक्ष मिडियासम्मको पहुँच मार्फत सामाजिक एकतामा एसबीएसको योगदानलाई निरन्तरता दिन पाउनुका साथै स्थानीय समुदायहरूलाई हाम्रो विविधतापूर्ण सामाग्रीहरूको हिस्सा हुन अझै बढी अवसरहरू उपलब्ध गराउन पाउँदा एसबीएस बोर्ड हर्षित छ।”

पश्चिमी सिड्नीमा अस्ट्रेलिया बाहिर जन्मेका ४० प्रतिशत मानिसहरू र आदिवासीहरूको ठुलो जनसङ्ख्या छ।
सञ्चार मन्त्री मिशेल रोल्यान्ड भन्छिन् कि एसबीएसको सेवालाई बढाउने सङ्घीय सरकारको प्रतिबद्धतालाई यो पछिल्लो घोषणाले सङ्केत गरेको छ।
“अस्ट्रेलियाको समर्पित बहुसांस्कृतिक र आदिवासी प्रसारकका अनि हाम्रो सबैभन्दा भरपर्दो समाचार ब्रान्डहरू मध्येको एकका रूपमा, सामाजिक एकता प्रवर्धनमा एसबीएसको महत्त्वपूर्ण भूमिका रहेको छ,” रोल्यान्डले भनिन्।
“पश्चिमी सिड्नीमा रहेका सहित सबै बहुभाषिक, बहुसांस्कृतिक र फर्स्ट नेशन्स समुदायहरूसँग एसबीएस जोडिने गरेको छ र यसले सबै प्रकारका विविध विचारहरूलाई अस्ट्रेलियन दर्शक तथा श्रोताहरू समक्ष ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।
“म एसबीएस बोर्ड र व्यवस्थापनलाई यो उत्साहजनक परियोजना प्रस्ताव गर्न उनीहरूले लिएको पहलका लागि धन्यवाद दिन्छु र यसलाई सफल पार्न उनीहरूसँग काम गर्न तत्पर छु,” उनले भनिन्।
मन्त्री रोल्यान्डका अनुसार, यो हबको सञ्चालनसँगै स्थानीय समुदायलाई सामाजिक-आर्थिक लाभहरू उपलब्ध हुनुका साथै रोजगारीका अवसरहरू सृजना हुनेछन्।
‘विश्वासको उत्कृष्ट मत’

एसबीएसका प्रबन्ध निर्देशक जेम्स टेलरले सरकारी घोषणा “हामीले सबै अस्ट्रेलियनहरूको सेवामा गर्ने काम प्रति सञ्चार मन्त्री र सरकारको विश्वासको उत्कृष्ट मत” भएको बताए।
“पश्चिमी सिड्नीमा एसबीएसले आफूलाई स्थायी रूपमा बसाल्न चालेको कदमलाई समर्थन गर्ने सरकार प्रतिबद्ध भएकोमा बोर्ड र म खुसी छौँ, यसबाट हामी सबै अस्ट्रेलियनहरू समक्ष अझ विशिष्ट सामाग्रीहरू लिएर आउन सक्षम हुनेछौँ,” टेलरले भने।
यसबारे अडियो रिपोर्ट सुन्नुहोस्:

एसबीएसको नयाँ ‘प्रडक्सन हब’ पश्चिमी सिड्नीमा बन्ने सरकारी घोषणा
