लेबनानमा कम्तीमा पनि १३७ व्यक्तिको मृत्यु हुने गरी भएको विनाशकारी विस्फोट जस्तै खतरा अस्ट्रेलियामा नरहेको स्कट मरिसनले बताएका छन्।
बेरूतमा विस्फोट भएको भन्दा चार गुणा धेरै परिमाणमा न्युकासलको एक भण्डारण केन्द्रमा राखिएको अमोनियम नाइट्रेटको बारेमा डर पैदा हुँदै गर्दा प्रधानमन्त्रीको उक्त भनाई आएको हो।
न्यु साउथ वेल्स तटीय शहर न्युकासलको मुख्य व्यापारिक क्षेत्र भन्दा करिब तीन किलोमिटर र नर्थ स्टकटोन सबर्बमा रहेका घरहरू भन्दा मात्र ८०० मिटर पर ६,००० देखि १२,००० टन परिमाणमा खनिज उत्खनन कम्पनी ओरिकाले अमोनियम नाइट्रेट भण्डार गरेको बताइएको छ।
लेबनानको राजधानीमा विस्फोट भएको अमोनियम नाइट्रेट परिमाण भने २,७५० टनको हाराहारीमा रहेको अनुमान छ।
रासायनिक इन्जिनियर र सामुदायिक अभियानकर्ता किथ क्रेगले लामो समयदेखि उक्त भण्डारण सुविधामा विस्फोट हुने खतरा रहेको बारेमा चेतावनी दिँदै आइरहेका व्यक्ति हुन्।
उनले बिहीबार एबीसीसँग कुरा गर्दै भने, "एकदम खतरनाक सामग्रीको उत्पादन र भण्डारण गर्न यो ठाउँ निकै नै अनुचित छ, र यस बारे हामीले धेरै, धेरै वर्षदेखि गुनासो गर्दै आइरहेका छौँ।"
तर ओरिका भने बासिन्दाहरूले चिन्ता लिनुपर्ने कुनै कुरा छैन नरहेको बताउँछ।
एसबीएस समाचारलाई दिएको बयानमा कम्पनीका प्रवक्ताले भनेका छन् “विस्फोट हुनका लागि तपाई अमोनियम नाइट्रेटको सम्बन्धमा अत्यन्त लापरवाह हुनुपर्दछ”।

ओरिकाको बयानसँग मेलबर्न विश्वविद्यालयका एक जना वरिष्ठ प्राध्यापक तथा रासायनिक इन्जिनियर सहमत देखिन्छन्।
डा गेब्रियल डा सिल्भा भन्छन् कि रसायनको भण्डारण गर्दा अस्ट्रेलियामा उच्च सुरक्षा मापदण्ड अपनाइने भएकाले न्युकासलका बासिन्दाहरू तर्सिहाल्नुपर्ने स्थिति छैन।
"यदि यो सही रूपमा भण्डारण र ह्यान्डल गरिएको छ भने, यो त्यस्तो खतरनाक हुँदैन। र यो त्यत्तिकै नजल्ने हुँदा यसलाई विस्फोट गर्न धेरै गाह्रो छ। तर स्पष्ट छ, गलत परिस्थितिमा यसको केही विनाशकारी र दुःखलाग्दो परिणाम हुन सक्छ," उनले एसबीएस समाचारलाई भने।
प्रधानमन्त्री स्कट मरिसन पनि अस्ट्रेलियामा कडा नियमन हुनु दुई देशबिचको मुख्य भिन्नता रहेको स्पष्ट पार्न चाहन्छन्।
"बेरूतमा भएको भयानक दुर्घटना र दुर्घटनाहरू मध्ये घटनाहरू सबैभन्दा डरलाग्दो हो," मरिसनले शुक्रवार टु जीबी रेडियोसँगको कुराकानीका क्रममा भने।
उनले भने कि बेरूतको बन्दरगाह हिजबुल्लाह नियन्त्रित छ र उक्त रसायन ६ वर्षसम्म आतिशबाजीहरू बेवास्ता गरी राखिएको स्थान नजिकै रहेको थियो।

"अस्ट्रेलियाको परिस्थिति त्यस्तो छैन। ती सामग्रीहरू कसरी प्रयोग हुन्छन् भन्ने बारे यहाँ कडा नियमहरू छन्," प्रधानमन्त्रीले भने।
बेरुतमा भएको उक्त विनाशकारी विस्फोटको घटनामा एक अस्ट्रेलियालीको पनि ज्यान जानुका साथै ५,००० भन्दा बढी घाइते भएको बताइएको छ।
सङ्घीय सरकारले प्रारम्भिक सहयोग स्वरूप राहत प्रयासको लागि लेबनानलाई २० लाख डलर दिने बाचा गरेको छ।
