चामल, दाल, पास्टा, ट्वाईलेट पेपर लगायतका सामानहरु धेरै सुपरमार्केटहरुबाट द्रुत गतिमा बिक्री हुन थालेको छ।
आम मानिसहरुले- कोरोनाभाइरसले ल्याउन सक्ने प्रतिकुल अवस्थामा, आफू र आफ्नो परिवारलाई सहज अवस्थामा राख्न, यसरी सामानहरु किनेको बताईन्छ।
उता प्रधानमन्त्री स्कट मोरिशनले ठूला सुपरमार्केटहरुका प्रतिनिधीहरुसँग छलफल गर्ने क्रममा, सामानहरुको आपूर्तिमा सुचारुपनाको प्रसंग उठाएको बताएका छन्।
“घरमा चाहिने सामानहरुको आपूर्तिमा म कुनै दिर्घकालिन समस्या देख्दिन,” मोरिशनले पछि पत्रकारहरुलाई जानकारी दिए।
यो पनि पढ्नुहोस्

एकै पटकमा किन्न सकिने टोइलेट पेपरको संख्या वूलवर्थ्सले तोक्यो
सुपरमार्केटहरुमा सामान सिध्दिने समस्या अस्ट्रेलियामा मात्र नभएर संसारको विभिन्न ठाउँहरुमा देखिएको छ। ईटालीको मिलान शहरमा रहेको एक पसलको तलको तस्विरले पनि आम मानिसहरुले समानहरु जोगाएर राख्न थालेको जनाउ दिन्छ।

कोल्स सुपरमार्केटका एक प्रवक्ताका अनुसार, आफ्ना पसलहरुमा केहि सामानहरु अत्याधिक मात्रामा बिक्री हुन थालेपछि, त्यसको सुचारूपूर्ण आपूर्तिका लागि काम शुरु भईसकेको छ।
अहिलेसम्म अस्ट्रेलियामा ३४ जना कोरोनाभाईरसले ग्रसित भएको छ भने एक जनाको ज्यान गएको छ।
“हात धुने एन्टिब्याकटरियल साबुन र स्यानिटाईजरहरुमा अत्याधिक माग देखिएको छ, र अहिले धेरै स्टोरहरुमा यसको कमी रहेको छ,” कोल्सबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ।

कोरोनाभाईरसले ग्रसित ठानिएकाहरुलाई अलग्गै राख्ने र भिडभाडमा जान नदिने अस्ट्रेलिया सरकारको सरकारको नीति रहेको छ। प्रधानमंत्री मरिशनले आम मानिसहरुले आफ्नो दैनिक कार्यहरुमा रुकावट आउन नदिन सल्लाह दिएका छन्।
“केटाकेटिहरुको लागि सांगितिक कार्यक्रममा जान, र फुटबल खेलहरु हेर्नका लागि मैदान जान म आफै आतुर छु,” प्रधानमंत्री मरिशनले बताए।
ईरान र चीनबाट आउने विदेशी नागरिकहरुलाई अस्ट्रेलिया प्रवेशमा हाल रोक लगाईएको छ।
अस्ट्रेलियामा भेटिएका ३४ रोगीहरुमध्ये १५ जना चीन भ्रमणसँग सम्बन्धित रहेका थिए, र अर्को १० जना भने डायमण्ड प्रिन्सेस पानीजहाजमा रहँदा ग्रसित भएका थिए।
कोरानाभाईरसका कारण संसारभर अहिले ८८ हजारभन्दा बढी मानिसहरु ग्रसित रहेका छन् भने, ३००० भन्दा बढीको ज्यान गईसकेको छ। ६७ देशहरुमा यसको संक्रमण भेटिएको छ।
