एन्ज्याक डे भनेर सुपरिचित एन्ज्याक दिवस, अस्ट्रेलियाको राष्ट्रिय पहिचान प्रतीक हो र एन्ज्याक्सको अर्थ अस्ट्रेलिया र न्युजिल्याण्ड सेनाका सिपाहीहरू हुन् जसमा धेरै आदिवासी सहित बहुसांस्कृतिक सेवाकर्मी र महिलाहरू भर्ती थिए।
सन् १९१४ को अगस्ट महिना चलिरहेको थियो जब पहिलो विश्वयुद्धको समाचार प्राप्त हुन थाले। जर्मनी, हँगेरी, बुल्गेरिया र अट्टोम्यान साम्राज्य समावेश रहेको सेन्ट्रल पावर्स भनिने केन्द्रीय शक्तिहरू विरुद्धको मोर्चामा ब्रिटेनलाई सघाउन अस्ट्रेलिया जानै आँटेको समय थियो।
४२०,००० अस्ट्रेलियालीलाई भर्ती गरिएको सैन्य दलमा १,००० भन्दा बढी एबोरिजिनी तथा टोरेस स्ट्रेट द्वीप समूहका मानिसहरू स्वेच्छाले भर्ना हुन आएका थिए।
अन्य थुप्रै जना चाहिँ विविध सांस्कृतिक पृष्ठभूमिबाट आएका थिए।

मेलबर्न स्थित चिनियाँ संग्रालयमा स्वयंसेवी खोजकर्ताका रूपमा कार्यरत प्राध्यापक एडमण्ड चिऊ, सन् १९३० को एक कानूनका बाबजुद कसरी ब्यालाराटका अल्बर्ट भिक्टर चान, युद्ध घोषणा भएको एक हप्ता मै, पहिलो चिनियाँ अस्ट्रेलियालीका रूपमा सेनामा भर्ना हुन पुगे भन्ने बारे भन्छन्, “उस ताका, अस्ट्रेलियामा एक रक्षा ऐन विद्यमान थियो जस अनुसार गैर युरोपेली पृष्ठभूमिका मानिसलाई भर्ना लिइँदैन थियो। तपाईँ मुख्य रूपमा युरोपेली पृष्ठभूमिको भए मात्र अस्ट्रेलियाली फौजमा सामेल हुन सक्नु हुन्थ्यो। तर, जो चिनियाँ अस्ट्रेलियालीहरुले सेनामा भर्ती हुने निर्णय लिए, उनीहरूले उक्त कानूनलाई पुरै बेवास्ता गरे।”
चिऊको खोज अनुसार २१७ चिनियाँ अस्ट्रेलियालीहरुले पहिलो विश्वयुद्धमा आफ्नो देश प्रतिको कर्तव्य निभाएको देखिएको छ।
उनका अनुसार, उतिखेरका चिकित्सकीय अधिकारीहरूको सद्भावका कारण ती देशभक्त पुरुषहरूले आफ्नो देशलाई सेवा गर्ने मौका पाए।
“ती दिनहरूमा अन्तिम निर्णय गर्ने अधिकार, आवेदकहरूको परीक्षण गर्ने मेडिकल अफिसरसँग हुन्थ्यो र धेरै मेडिकल अफिसरहरूले त्यो ऐनलाई बेवास्ता गरेर ‘यदि तपाई सामेल हुन चाहनुहुन्छ र तपाई लड्नका लागि पर्याप्त रूपमा फिट हुनुहुन्छ भने लौ तपाईँ सामेल हुन सक्नुहुन्छ’ भन्दै छाडिदिए,” प्राध्यापक चिऊले भने।

अनि, समुदायका केही सदस्यहरूलाई पनि जातीयतासँग मतलब थिएन।
अझ जर्ज कङ्ग मेङ्गलाई अस्ट्रेलियन इम्पेरीयल फोर्समा भर्ना हुनबाट अस्वीकृत गरिँदा त सार्वजनिक रूपमा हलचल नै भयो।
एक त उनीसँग मिलिटरीमा काम गरेको पूर्व अनुभव थियो अनि अर्को तिर उनका आफ्नै कान्छा भाइ पनि वेस्टर्न फ्रन्ट भनिने युरोपको पश्चिमी घाट स्थित युद्ध मोर्चामा देशलाई सेवा गरिरहेको स्थिति थियो।
“त्यति खेरका अस्ट्रेलियालीहरूद्वारा यो मान्छेलाई किन अस्वीकृत गरिएको हो भनेर ठुलै रूपमा आपत्ति जनाइएको थियो। उनी भर्ती त भएका थिए तर उनलाई देश बाहिर युद्धको मोर्चामा भने पठाइएको थिएन।”
एबोरिजिनी तथा टोरेस स्ट्रेट द्वीप समूहका मानिसहरूको पूर्व सैनिक सेवा सङ्गठन तथा गुण्डुङ्गगुर्राका ग्यारी ओक्ली भन्छन् कि थुप्रै आदिवासी अस्ट्रेलियालीहरू सेनामा स्वेच्छाले भर्ना हुन चाहन्थे।
अनि, छालाको रङ्ग अलिक गाढा भएकाहरूले चाहिँ प्रतिबन्ध छल्न अन्य तरिका अपनाए।
ओक्लीका अनुसार कालो छाला भएका मानिसहरू आफू नजिकैको भर्ती केन्द्रबाट अस्वीकृत भए अर्को राज्यसम्म पुग्ने गर्थे।
“त्यो बेलामा अहिले जस्तो खुला रूपमा सडकहरूबाट स्वतन्त्रता पूर्वक हिँड्ने अवसर हामीलाई थिएन। त्यसै कतिपय त आफ्नो बसेको ठाउँबाट गायबै हुन्थे, अन्य राज्य पुग्थे र अलि वास्ता नगर्ने मेडिकल अफिसर नभेटेसम्म विभिन्न भर्ती केन्द्रहरू धाइ नै रहन्थे।”
अनि आदिवासी अस्ट्रेलियालीहरू किन सैन्य सेवामा भर्ती हुन लालायित थिए भन्ने कुरा पनि कम्ती रोचक छैन।
“पैसा - उनीहरूले पहिलो पटक तलब वा ज्याला कमाउने अवसर थियो त्यो। त्यसको साथ-साथै देश प्रेम पनि अर्को एक प्रमुख कारण हो। अनि, शायद उनीहरूलाई यो पनि लाग्यो होला कि उनीहरू अस्ट्रेलिया फर्केर आएपछि यहाँका मानिसहरूको उनीहरूप्रति हेर्ने दृष्टिकोण फरक हुन्छ। हामी अस्ट्रेलियाली नागरिक थिएनौँ र त्यसैले पनि उनीहरूले यहाँको नागरिकता पाइहालिन्छ कि भनेर पनि सेनामा भर्ती हुन चाहेको होला। अरू आम मानिसले पनि यो हेर्न सक्थे र यो गजबको साहसिक काम पनि त हो नि!”
ग्यारी ओक्ली मान्छन् कि यो नै पहिलो अवसर थियो जब आदिवासी अस्ट्रेलियालीहरूले समानताको अनुभूति गर्न पाए।
“एक पटक सैन्य पोशाक लगाए पछि तपाईँलाई मान्यता प्राप्त हुन्थ्यो। अब लडाइँको मोर्चाका बखत, कसैले पनि तपाईँको छालाको रङ्ग वा धर्म हेर्दैन - तपाईँ पछि बसेको मान्छेले हेर्छ त केवल तपाईँले साथ दिनु हुन्छ कि हुदैन। त्यसैले तपाईँ र अरूहरू सबै बराबरी थिए।”
अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा रिसर्चरका रूपमा काम गर्ने गोभोर भन्छिन् कि रुसी आप्रवासीहरूले स्पष्टसँग अङ्ग्रेजी नबोल्ने भएकाले उनीहरूलाई गिज्याइन्थ्यो र उपनाम दिइन्थ्यो।
“मानिसहरूले उनीहरूलाई अनौठो नजरले हेर्थे र सोही हिसाबको व्यवहार गर्थे। एलियन नै हो कि भने जस्तो!”
तर, युद्ध मैदानमा धेरै समय एक आपससँग बिताउँदै जाँदा भने उनीहरूलाई अस्ट्रेलियाली फौजका अन्य सदस्यहरूले बिस्तारै स्विकार्न थाले।
“खासमा भन्ने हो भने, अस्ट्रेलियन इम्पेरीयल फोर्समा ब्रिटिस, न्युजिल्याण्ड र क्यानेडामा जन्मेका मानिसहरू पछि सबैभन्दा बढी रुसी साम्राज्यको सिमाना भित्रका विभिन्न जातीय पृष्ठभूमिबाट आएका मानिसहरू नै थिए,” प्राध्यापिका लेना गोभोर भन्छिन्।

“उदाहरणका लागि, रुसी साम्राज्यमा निकै सताइएका यहुदीहरू त्यहाँबाट उम्किने प्रयासमा हुन्थे र उनीहरू अरू रुसीभन्दा फरक भएकै कारण प्रताडित हुन्थे र यसै मारिन्थे पनि। त्यसैले पनि थुप्रै यहुदी पृष्ठभूमिका रुसी युवाहरू त्यहाँको सेनामा भर्ना हुन खोज्दैन थिए। रुसी सेनाको अनिवार्य सदस्यता लिनु पर्ने चलन थियो तर जब यी युवाहरू अस्ट्रेलिया आइपुगे र प्रथम विश्वयुद्ध सुरु भयो, उनीहरू अस्ट्रेलियाली सेनामा भर्ती भए।”
कतिपय रुसमा जन्मेका अस्ट्रेलियाली सैनिकहरू बाल्टिक क्षेत्रमा सामुद्रिक जीवन यापन गर्ने मानिसहरू रहेको बताउँछिन् गोभोर।
“उनीहरू कामको खोजीमा एक डुङ्गाबाट अर्को डुङ्गामा गर्थे र काम नपाउँदा वा रुसी अधिकारीहरूबाट जोगिन उनीहरू सेनामा भर्ती हुन जान्थे।
उनीहरूलाई देशभक्ति जस्ता कुरा थाहै थिएन। सेनामा भर्ती हुनु भनेको उनीहरूको लागि सामान्य काम जस्तै थियो - पहिले उनीहरू डुङ्गामा कार्यरत थिए अब उनीहरू अस्ट्रेलियाली सेनामा काम गर्ने भए।”

पहिलो विश्व युद्ध, अस्ट्रेलियाको लागि मानव क्षतिका दृष्टिकोणबाट हेर्दा सबैभन्दा महँगो द्वन्द्वको रूपमा रहेको छ।
१५६,००० भन्दा बढी सेनाहरू कि त घाइते भए वा उनीहरूलाई युद्ध बन्दी बनाइयो अनि ६०,००० भन्दा ज्यादा त सहिद नै भए।
दुर्भाग्यवश, घर फर्किने थुप्रै अस्ट्रेलियाली सैनिकहरूको जीवन उनीहरूले सोचे जस्तो राम्रो भएन।
सामाजिक प्रतिष्ठा बढ्ने आसा लिएर युद्धमा होमिएका आदिवासी अस्ट्रेलियालीहरूलाई सन् १९४९ सम्म कुर्नु पर्यो जब गएर बल्ल जातियताका आधारमा सैन्य सेवामा भर्ती लिने कार्य बन्द भयो।
“यसमा सबैभन्दा बढी लाजमर्दो कुरा के थियो भने जो आदिवासीहरू अस्ट्रेलियाका लागि युद्ध लड्न भनेर गएका थिए, जब उनीहरू फर्केर यहाँ आए - उनीहरूले भोग चलन गरी आएको जमिन सैन्य बस्ती योजनाका नाममा अधिग्रहण गरिसकिएको थियो। त्यसले उनीहरूको मनमा फाटो ल्याइदियो। युद्धमा जानु अघिसम्म आफ्नो स्वामित्वमा भएका जमिन अब उनीहरूका आफ्ना थिएनन्। तपाईँ आफ्नो देशका लागि युद्धमा जानुभयो तर फर्केर आउँदा त त्यही देशले तपाईँको जमिन टुक्रा-टुक्रा पारिदिएको छ। अनि फेरी तपाईँ अझै नागरिक हुनुभएन।”

प्रोफेसर एडमण्ड चिऊ भन्छन् कि युद्धका नायक ठहरिएका एक चिनियाँ-अस्ट्रेलियाली - बिल्ली सिङ्गको अन्त्य पनि निकै दुखद थियो - सैन्य बस्ती योजनाबाट जग्गा तोकिए पनि।
“बिल्ली सिङ्ग - ग्यालिपोली मोर्चाका सर्वाधिक लोकप्रिय निशाना बाज थिए। तर, उनलाई दिइएको जमिनबाट खासै जीविकोपार्जन हुन सक्दैन थियो। त्यसैले उनले त्यो जमिन छाडे र ब्रिसबेन फर्किए जहाँ अनेक उपाय गर्दा गर्दै पनि एक निकै गरिब मानिस भएर आफ्नो जीवन सिङ्गले गुमाए।”
उता, डा गोभेरले पनि रुसी पृष्ठभूमिका अस्ट्रेलियाली सैनिकको पनि त्यसै दुखद किस्साहरू सुनाउँछिन्।
“थुप्रै रुसी एन्ज्याक्सहरूले युद्ध पछिको जीवनलाई सामना गर्नै सकेनन्। कतिपय ठाउँहरूमा उनीहरूलाई युद्ध पछि पनि अपरिचित मानिसलाई गर्ने जस्तै व्यवहार गरियो। कतिपयले समाजमा आफ्नो स्थान बनाउनै सकेनन्। धेरैले त आत्महत्या गरे। मलाई लाग्छ, धेरै जनालाई पोस्ट-ट्रमेटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) थियो जसबारे कसैलाई थाहा पनि थिएन, बुझेका पनि थिएनन् र उनीहरूलाई त्यसो भएको छ भनेर पत्ता पनि लागेको थिएन। उनीहरूले राम्रो व्यवहार गर्दैन थिए र सबै प्रकारका समस्यामा उनीहरू फसे।”
रुसी एन्ज्याक्सहरूको सवालमा भने, उनीहरूले स्थानीय युवतीहरूसँग घर बसाएर अस्ट्रेलियाली बन्ने बाटो समाते।
उनी भन्छिन् कि अस्ट्रेलियामा बहुसंस्कृतिको जग बसाल्ने काम विभिन्न पृष्ठभूमिबाट आएका एन्ज्याक्सहरूले नै गरे भन्दा अतिशयोक्ति नहोला।
“कहिलेकाहीँ दूर दराजका क्षेत्रमा रुसी भनेका ती आप्रवासी नै मात्र हुन्थे। त्यस्ता दुर्गम बस्तीका अस्ट्रेलियालीहरूका लागि रुसी भनेको उनीहरूको संसर्गमा आइपुगेका ती व्यक्ति नै मात्र हुन्थे जो उनीहरूले सुन्ने गरेको बोल्शेविकहरू वा कम्युनिस्ट भन्दा फरक थिए। उनीहरू तपाईँ हामी जस्ता सामान्य मानिस थिए र यसले अस्ट्रेलियामा बाहिरबाट आउने मानिस नराम्रै हुन्छ भन्ने सोचलाई बदल्न निकै ठुलो भूमिका निर्वाह गर्यो।”

एन्ज्याक दिवस फरक मानिसका लागि फरक अर्थ राख्छ।
ग्यारी ओक्ली भन्छन् कि आदिवासी अस्ट्रेलियालीहरूका लागि २५ अप्रिलमा आयोजना हुने सैन्य परेडमा भाग लिनु भनेको मान्यता पाउनु, समान व्यवहार पाउनु हो।
“अन्ततः मैले मेरो देशका लागि गरेको सेवाको लागी मान्यता प्राप्त गरेँ। बृहत् अस्ट्रेलियाली समुदायद्वारा मलाई मेरो सेवाका कारण मान्यता प्राप्त छ। मैले गरेको सेवा प्रति म गौरवान्वित छु। म को हुँ भनेर पनि गौरवान्वित छु। म गैर आदिवासी केटाहरूमा पनि गर्व छु जसको साथमा मैले हिँडे, जसले मलाई मौका दिए - एक राम्रो सिपाही, नौसेना वा वायुसेना सदस्य बन्न।”
अस्ट्रेलियाको एन्ज्याक दिवस बारेमा थप जानकारीको लागि अस्ट्रेलियाली युद्ध स्मारकको वेबसाइट हेर्नुहोस्।

