सिड्नी देखि हन्टर, इलावारा र सेन्ट्रल कोस्ट क्षेत्रमा १०० मिलिमिटर सम्म पानी पर्न सक्ने मौसम विभागको भनाइ छ।
तर केही स्थानहरूमा २०० मिलिमिटर वा साढे ७ इन्च भन्दा बढी पानी पर्न सक्ने पनि अनुमान विभागका अधिकारीहरूले गरेका छन्। बुधवार बिहान न्यु साउथ वेल्सको तटीय क्षेत्रमा सबै भन्दा भारी वर्षा हुने उनीहरूले बताए।
सिड्नीमा नोभेम्बर महिनाको पानी पर्ने औसत दर ८४ मिलिमिटर हो।
"बाढी बाट प्रभावित भएका वा पानी जमेका सडकहरूमा सवारी साधन नचलाउन आग्रह"
मङ्गलवार पत्रकारहरू समक्ष बोल्दै न्यु साउथ वेल्स प्रहरी प्रमुख फिलिप ब्रूक्सले भारी वर्षाको समयमा सडक प्रयोगकर्ताहरूले आफ्नो यात्रा बारे पुनर्विचार गर्नु उपयुक्त हुने बताए।
“सवारी चालक, मोटरसाइकल र साइकल प्रयोगकर्ताका साथै पैदलयात्रुहरुले पनि आफू सडकमा सुरक्षित रहेको सुनिश्चित गर्न जरुरी रहेको छ”, उनले भने।
साथै न्यु साउथ वेल्सको राज्य आपत्कालीन सहायता सेवाका सह-आयुक्त स्कट ह्यान्केलले चाहिँ अभिभावकहरूले आफ्ना छोरा छोरीहरूलाई स्कुल कसरी पुराउने विकल्प बारे सोच्नुपर्ने बताएका छन्।
“व्यावसायहरुले आफ्ना कर्मचारीहरू काममा ढिलो आउन सक्ने बारे बुझ्न र मिल्छ भने घर बाटै काम गर्न भोलिको दिन एकदमै उपयुक्त रहेको छ”, ह्यान्केलले बताए।
विशेष गरी बाढी बाट प्रभावित भएका वा पानी जमेका सडकहरूमा सवारी साधन नचलाउन पनि उनले आग्रह गरे।
“ठुलो सङ्ख्यामा मानिसहरूको त्यसरी मृत्यु भएको छ”
भोलिको उक्त भारी वर्षा पर्सि सम्ममा रोकी सक्ने मौसम विभागको भनाइ छ।
