हजारौँ अस्थायी भिसा भएकाहरूले आफूहरूका लागी पनि सीमा खोलेर काम, घर र अस्ट्रेलियामा रहेका परिवारहरूसँग भेट्ने वातावरण सिर्जना गर्न
सरकारलाई दबाब दिने उद्देश्यले एक अभियान सञ्चालन गरेका छन्।
परिवार अस्ट्रेलियामा भएका र यात्रा प्रतिबन्धका कारण आफू विदेशमा अड्किएका धेरै जना मध्ये दानिश गोरीको परिवार पनि एक हो।
उनले तिन महिना देखि आफ्ना दुई बालबच्चालाई धमिलो भिडियो च्याट मार्फत मात्र भेट्न पाएका छन्।
उनको श्रीमती आफ्नी एक वर्षीय छोरी ज़ारालाई भर्खरै क्यान्सर रोग देखिएका उनका हजुरबुवासँग भेट गराउन पाकिस्तान गएकी थिइन।

यात्रा प्रतिबन्ध कायम गर्ने निर्णय कार्यान्वयन हुने बित्तिकै उनीहरूले घर फर्किन प्रयास गरेका थिए। अढाई घण्टा मात्र ढिलो हुँदा देशको सीमा बन्द भयो र दानिश गोरी भन्छन् त्यस बेला देखि नै उनीहरूको पारिवारिक जीवन पनि पुरै परिवर्तन भयो।
"यो मेरो लागी निकै पिडादायक छ। हेर्नुस् मेरो घर सानो छ तर पनि बच्चाहरू बिना साह्रै खाली लाग्छ। यी मेरो बच्चाहरूको खेलौना यहीँ छन् तर यसलाई खेल्ने कोही पनि छैनन्।"
उनी भन्छन् उनकी छोरी ज़ाराको खोप लिने समय भएको छ र दुई वर्षीय छोरा मुहम्मद रायनलाई किन्डरगार्डेनमा भर्ना गराउनु पर्ने छ।
उनीहरूकी आमा उरूज उस्मान भन्छिन् पाकिस्तानमा खाना र दूध परिवर्तन भएर बच्चाहरू बिरामी पर्न थालेका छन्।
र उनी जतिसक्दो चाँडो घर फर्कन चाहन्छिन्।
"मेरो छोरी उठ्ने बित्तिकै सबैभन्दा पहिले 'बाबा बाबा' भन्छिन्। र छोरो आफ्नो बाबालाई फोनमा देख्न साथ रुन थाल्छन्।"
दानिशले आफ्नो परिवारलाई घर फर्काउन विशेष व्यवस्था मार्फत स्वीकृति प्रदान गर्न चार पटक आवेदन हालिसकेका छन्। तर चार पटक नै उनीहरूको आवेदन अस्वीकृत गरिएको छ।
यसको प्रमुख कारण भनेको त्यो विशेष यात्रा प्रतिबन्धमा छुट अस्ट्रेलियाली नागरिकको श्रीमान् वा श्रीमती, पार्टनर अथवा अभिभावकहरूलाई मात्र प्रदान गर्ने गरिएको छ।

कार्यवाहक अध्यागमन मन्त्री एलन टजले यहीँ नियमको कारण अस्ट्रेलिया सुरक्षित भएको बताउँछन्।
"विशेष परिस्थितिमा देशभित्र हुने पर्ने अवस्था देखिए अस्ट्रेलियाको सीमा बलका आयुक्तले उनीहरूलाई देशमा आउन दिन्छन्। नियमका कारण अहिले हामीले अस्ट्रेलियाली बाहेकका लागी भने सीमा बन्द गरेका छौँ।"
फेब्रुअरी देखि गृह मामिला विभागले अस्ट्रेलियाको अस्थायी भिसामा रहेकाहरूबाट १३ सय भन्दा बढी विशेष व्यवस्था अन्तर्गत आफूहरूलाई देश फर्कन दिन आवेदनहरू प्राप्त गरेको छ।
ती मध्ये २० प्रतिशतलाई मापदण्ड पुरा नभएको भन्दै उनीहरूको आवेदन अस्वीकृत गरिएको छ। तर ग्रीन्सका सेनेटर निक म्याककिम भन्छन् वास्तवमा त्यो मापदण्डहरूमा के कुरा उल्लेखित छ भन्ने थाहा हुन सकेको छैन।
"आवेदनहरूलाई केको आधारमा छनौट गरिन्छ भन्ने मापदण्ड सार्वजनिक हुन आवश्यक छ। अन्ततः यहाँ कसैको परिवार, घर र जागिर हुन्छ र उनीहरूलाई देशमा आएर आफ्नो जीवन जारी राख्न दिइनु पर्दछ।"
सिनेटर म्याककिमले सामाजिक सञ्जालमा जारी अभियानमा जोडिएका हजारौँ मानिसहरूको तर्फबाट कार्यवाहक अध्यागमन मन्त्रीलाई पत्राचार गरेका छन्। उक्त पत्रमा उनीहरू विदेशमा अड्किएको र उनीहरूलाई फिर्ता ल्याइनु पर्ने भनेका छन्।
त्यही मध्येका सिड्नी निवासी जोडी गोन्जालो जाबालेटा र उनकी श्रीमती लूईया करेरो गत फेब्रुअरी देखि कोलम्बियामा अड्किएका छन्।
उनीहरूको भिसाको म्याद केही हप्ताहरूमा सकिँदै छ। जाबालेटा भन्छन् सीमा बन्द हुँदा उनीहरूले अस्ट्रेलिया बनाएको घर र जीवन गुमाउने जोखिम रहेको छ।
दानिश गोरी आफ्ना बच्चाहरू फिर्ता ल्याइदिए दुई हप्ता होटेलमा क्वारेन्टिनमा बस्ने खर्च आफूले नै व्यहोर्ने बताउँछन्।
"प्रधानमन्त्री वा गृह मामिला मन्त्री जो भए पनि मलाई सहयोग गर्नुहोस्, हाम्रो परिवारको बिजोग भएको छ हामीलाई सहयोग चाहिएको छ।"

