कोरोनाभाइरस महामारीका कारण व्यवसायहरू सङ्घर्षरत रहँदा, अस्थायी भिसामा रहेका र अस्ट्रेलियामा काम गरिरहेका २० लाख भन्दा बढी मानिसहरू अन्योलमा परेका कारण आप्रवासीहरूका पक्षमा वकालत गर्नेहरूले, सङ्घीय सरकारलाई उनीहरूको आम्दानीमा सहायता गर्न र घर भाडा तत्कालका लागी तिर्नु नपर्ने व्यवस्था गरेर आउँदा महिनाहरूमा ती मानिसहरूको जीविकोपार्जन सहज बनाउन आग्रह गरेका छन्।
च्यान्टल चंग सन् २०१९ मा वर्किङ होलिडे भिसामा सिड्नीमा आएकी थिइन र उनलाई अस्ट्रेलियामा बस्न अनि काम गर्न निकै रमाइलो लाग्न थाल्यो।
तर जब कोरोनाभाइरस महामारी सुरु भयो, उनले काम गर्ने गरेको रेस्टुरेन्ट बन्द भयो र उनी अहिले अर्को काम खोज्न सङ्घर्षशील छिन्।
"मलाई एकदम दुख लागेको छ मेरो बोसको लागी, आफ्नो लागी र अरू सबै मेरा समकक्षीहरूको लागी, अहिले म पहिले नै कमाएको पैसामा निर्भर छु, र अहिले म यहाँ अड्किएर बसेको कारण मेरो साथीहरू पनि चिन्तित छन्।"

२७ वर्षीय चंग त एक उदाहरण मात्र हुन्।
उनी जस्तै २० लाख ४० हजार अस्थायी भिसा लिएर बसेकाहरू यो स्वास्थ्य सङ्कटको समयमा अन्योलमा रहेका छन्।
आप्रवासी कामदारहरूको केन्द्रका निर्देशक म्याट कन्केल राहत उपायहरू अवलम्बन गर्दा यस्ता अस्थायी आप्रवासीहरूलाई पनि समावेश गर्न नछुटाउन सङ्घीय सरकार समक्ष आह्वान गर्छन्।
“सरकारले तुरुन्त कदम चाल्न जरुरी छ ताकि अस्ट्रेलियाका मानिसहरूले खाना र बस्न पाउन् तर त्यसमा पनि विशेष गरी अस्थायी आप्रवासी कामदारहरूलाई पनि समावेश गर्ने गरी आवश्यक उपाय ल्याउनु पर्छ।
उक्त उपायले घर भाडा तिर्न तत्काललाई स्थगित गर्नु पर्छ जसले गर्दा कसैलाई पनि घरबाट ननिकालियोस्।"
कन्केलले सङ्घीय सरकारलाई भिसा सकिने म्याद पनि थप गरेर अस्थायी भिसामा रहेकाहरू तत्काल देशबाट निकालिनबाट रोक्न पनि आग्रह गरेका छन्।

कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अस्थायी भिसाहरूलाई नियमन गर्दा सरकारद्वारा कोरोनाभाइरस महामारीलाई पनि ध्यानमा राखिएको बताएका छन्।
“जो मानिसहरू अस्ट्रेलिया छोड्न चाहदैनन र यहीँ बस्न चाहन्छन् म उनीहरूलाई भन्न चाहन्छु कि अध्यागमन विभागलाई यसबारे जानकारी गराएर आफ्नो अवस्था बारे स्पष्ट पार्नुहोस्” उनले भने।
अमेरिकाबाट आएकी पेज सेन्टेलीको पनि समान कथा छ।
काम गर्न पाउने होलिडे भिसामा रहेकी उनी पनि काम विहीन भएकी छन्।
उनको भिसा व्यवस्थामा कुनै एक रोजगारदातासँग ६ महिना बढी काम गर्न नपाइने प्रावधान रहेकाले उनले विश्वविद्यालयमा व्यवस्थापकको रूपमा गर्दै आएको काम छाड्न बाध्य भएकी थिइन।
पछिल्लो हप्ताहरूमा उनको कडा मेहनतका बाबजुद पनि उनले कुनै पनि क्याजुअल काम पाएकी छैनन्।
गत शुक्रवार प्रधानमन्त्री स्कट मरिसनद्वारा गरिएको आगामी ६ महिना सम्म भाडामा बस्नेहरूलाई संरक्षण प्रदान गर्ने राहत व्यवस्था बारे घोषणाले अस्थायी भिसामा रहेकाहरूलाई समेट्छ कि समेट्दैन, त्यो हालसम्म स्पष्ट छैन।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र अन्य जानकारी यहाँ उपलब्ध छन्: https://www.sbs.com.au/language/nepali/coronavirus-updates





