SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: नागरिकता वितरण समारोहहरू पनि मारमा!

कोरोनाभाइरस प्रकोपका कारण अस्ट्रेलियाभर नै आयोजना हुने भनिएका नागरिकता वितरण समारोहहरू रद्द भएका छन्।

Corona virus and citizenship certificate
Source: AAP

3 min read

Published



Skip to article content

अस्ट्रेलियाली नागरिक बन्ने अन्तिम कानूनी खुड्किलो मानिएको नागरिकता वितरण समारोह पनि कोरोनाभाइरस महामारीकाको सिकार भएका छन्।

सङ्घीय सरकारले अघिल्लो हप्ता जारी गरेको सामाजिक दुरी सम्बन्धी नियमका कारण ती समारोहहरू रद्द भएका हुन्।

प्राय: गरेर स्थानीय सरकार (काउन्सिलहरू)द्वारा आयोजना हुने यस्ता औपचारिक समारोहहरूमा अस्ट्रेलिया प्रति बफादार रहने शपथ खुवाइन्छ र सरकारी अधिकारीहरूको रहोवरमा अस्ट्रेलियाली नागरिकताको प्रमाणपत्र वितरण हुने गर्दछ।

यही सिलसिलामा सिड्नी स्थित लेन कोभ काउन्सिलले गत मार्च १९ का लागि आफ्नो पूर्वनियोजित नागरिकता वितरण कार्यक्रम रद्द गर्‍यो भने भिक्टोरियाका ह्युम अनि विन्धम सिटी काउन्सिलहरूले यसै महिना हुने भनिएका सो सम्बन्धी आ-आफ्ना कार्यक्रमहरू अगाडी नबढ्ने घोषणा गरे।

लेन कोभ काउन्सिलले यस बारे एक विज्ञप्ति जारी गर्दै “कोरोनाभाइरस कोभिड-१९ सम्बन्धित मामला द्रुत रूपमा बढेको” आफूहरूले नागरिकता वितरण लगायत अन्य कार्यक्रमहरू रद्द गर्ने निर्णय लिएको बताएको छ।

यसै गरी, विन्धम सिटी काउन्सिलले पनि आफ्ना सबै कार्यक्रमहरू, अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै रद्द भएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

उता, अस्ट्रेलियाको नयाँ नागरिक बन्ने तयारीमा रहेका सयौँ स्थायी बासिन्दाहरूले गृह मामिला मन्त्रालयबाट हाललाई नागरिकता वितरण समारोहहरू रद्द गरिएको पत्र पाए।

तर मन्त्रालयद्वारा प्रेषित गरिएको पत्रमा भने उक्त कार्यक्रम किन रद्द भयो भन्ने बारे केही पनि खुलाइएको छैन, बरु निवेदकलाई आफ्नो सम्पर्क विवरण वा परिस्थितिमा परिवर्तन हुनासाथ ती नयाँ जानकारी अद्यावधिक गर्न भनिएको छ।

यस्तै एक पत्र पाएका आफ्ताब तारिकले* उक्त चिठी खोलेर हेर्नासाथ आफ्नो मन भारी भएको अनुभव व्यक्त गरे।

“त्यो चिठी हात परेपछि मेरो खुसी एकाएक गायब भयो। समयको कुरा हो, ठिक होला,” करिब ६ वर्ष पीआर पाएर अस्ट्रेलिया बसाइँ सरेका उनले भने।

“नयाँ अस्ट्रेलियन भएको खुसीमा रमाइलो गर्ने प्लान थियो तर सबै सोचेजस्तो नहुने रहिछ - हात्ती छिर्‍यो पुच्छर अड्क्यो भने जस्तै भयो यो त!”

आफ्ताबले आफूलाई पठाइएको पत्रमा उक्त समारोह अब फेरी कहिले हुन्छ भन्ने बारेमा केही पनि उल्लेख नगरिएको बताए।

“अर्को महिना हुन्छ कि अझ पर हुन्छ, कोभिड-१९ विरुद्धको सङ्घर्षमा कहिले ए कति सफलता हात पर्ने हो, त्यही हेरेर हुन्छ होला नि!”

*गोपनीयता अनुरोध गरिएको कारण हामीले नाम परिवर्तन गरेर यो सामाग्री प्रकाशित गरेका छौँ। कोभिड-१९ का कारण तपाईँको जीवनमा परेका यस्तै प्रभावहरू अरूसँग बाँड्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्ने तरिका यहाँ छन्।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now