SKIP TO MAIN CONTENT
Rural landscape, Western Australia, Australia

नेपाली भाषामा अस्ट्रेलियन राष्ट्रिय गान तथा नागरिकताको प्रतिज्ञा

हामीले अस्ट्रेलियन राष्ट्रिय गान तथा नागरिकता लिँदा गरिने प्रतिज्ञालाई नेपाली लगायत अस्ट्रेलियाभर बोलिने विभिन्न भाषाहरूमा अनुवाद गरेका छौं।

एसबीएस अस्ट्रेलियाभरका एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूलाई यो देशको परम्परागत मालिकका रूपमा र उनीहरूको भूमि, जल तथा समुदायसँग लगातार सम्बन्ध रहेको स्वीकार गर्छ।

सन् १८७८ मा एड्भान्स अस्ट्रेलिया फेयरको रचना एक शिक्षक तथा गीतकार पिटर डड्स मक्कर्मिकद्वारा गरिएको थियो र यसले अस्ट्रेलियाको राष्ट्रिय गानको मान्यता भने १९ एप्रिल १९८४ मा प्राप्त गरेको हो।

अनि सन् २०२१ मा समावेशिता झल्काउने उद्देश्यकासाथ अस्ट्रेलियन राष्ट्रिय गानको दोस्रो लाइनमा रहेको ‘यङ एन्ड फ्री’ लाई ‘वन् एन्ड फ्री’ मा अद्यावधिक गरिएको थियो।

राष्ट्रिय गान औपचारिक समारोहहरू, खेलकुद प्रतियोगिता र अन्य सामुदायिक कार्यक्रमहरूमा बजाइन्छ।

अस्ट्रेलियन राष्ट्रिय गान

अस्ट्रेलियन हौँ हामी सब प्रसन्न,

किनकि हौँ हामी सबै एक अनि छौँ निर्विघ्न;

छ हामीसँग माटो सुनौलो र सम्पत्ति परिश्रम गर्न;

घेरिएको छ घर हाम्रो सागरले;

छ भूमि हाम्रो भरिपूर्ण प्रकृतिको उपहारले

सुन्दर, सम्पन्न अनि दुर्लभ यो

इतिहासको पानामा, हरेक पालामा

बढौँ अगाडी अस्ट्रेलिया अब

गाऔँ खुसी भएर सब

बढौँ अगाडी अस्ट्रेलिया अब

चमक मनि उज्ज्वल सदर्न क्रसको

हुनेछ मेहनत हाम्रो मन र तनको

बनाउन यो कमनवेल्थ हाम्रो

भूमिहरूमा सबैभन्दा राम्रो

आएका छन् जो सबै सागर पारीबाट

अपार छ जमिन बाँड्न हामीसाथ

सब जोडियौँ एक आपसमा हिक्मतसाथ

लागि बढौँ अगाडी अस्ट्रेलिया अब

गाऔँ खुसी भएर सब

बढौँ अगाडी अस्ट्रेलिया अब

अस्ट्रेलियन नागरिकता लिँदा गरिने प्रतिज्ञा

सन् १९४९ मा सुरु भएदेखि, ६० लाखभन्दा मानिसहरू औपचारिक रूपमा अस्ट्रेलियाको नागरिक भइसकेका छन्।

सेप्टेम्बर १७ मा मनाइने अस्ट्रेलियन नागरिकता दिवस सहित नागरिकता समारोहहरू स्थानीय काउन्सिलहरूद्वारा आयोजित गरिन्छ।

समारोहको एक हिस्साको रूपमा अस्ट्रेलियन राष्ट्रिय गान बजाइन्छ र मानिसहरूलाई अस्ट्रेलियन नागरिकताको जिम्मेवारी बोध गराउँदै प्रतिज्ञा लिन लगाइन्छ।

यसरी अस्ट्रेलियाको नागरिकता लिँदा दुई किसिमबाट प्रतिज्ञा लिन सकिन्छ, जसमध्ये एकमा ईश्वरको उल्लेख हुन्छ।

प्रतिज्ञा प्रारूप १

अब यस समय उप्रान्त, ईश्वरलाई साक्षी राखेर,

म प्रतिज्ञा गर्छु कि मेरो वफादारी अस्ट्रेलिया तथा यसका मानिसहरू प्रति हुनेछ

जसका प्रजातान्त्रिक मान्यताहरूलाई म आत्मसात् गर्छु

जसका अधिकारहरू र स्वतन्त्रताहरूलाई म आदर गर्छु र

जसका कानूनहरूको समर्थन गर्नुका साथै म मान्नेछु।

प्रतिज्ञा प्रारूप २

अब यस समय उप्रान्त,

म प्रतिज्ञा गर्छु कि मेरो वफादारी अस्ट्रेलिया तथा यसका मानिसहरू प्रति हुनेछ

जसका प्रजातान्त्रिक मान्यताहरूलाई म आत्मसात् गर्छु

जसका अधिकारहरू र स्वतन्त्रताहरूलाई म आदर गर्छु र

जसका कानूनहरूको समर्थन गर्नुका साथै म मान्नेछु।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now