२५३ यात्रु सहित कोलम्बोबाट उढेको श्रीलंकन एयरलाइन्सको फ्लाइट युएल ६०४ मेलबर्नको टुलामारिन विमानस्थलमा अवतरण गरेको छ।
सोमबार बिहान ८ नबज्दै अवतरण गर्ने उक्त विमान आज मेलबर्न आउने आठ अन्तर्राष्ट्रिय एयरलाइन्सहरु मध्येको पहिलो हो। ती फ्लाइटहरुमा अस्ट्रेलियाली नागरिक र स्थायी निवासीहरु रहने सरकारले बताउदै आएको छ।
गत जुलाई महिनाको सुरुमा मेलबर्नका विभिन्न क्वारेन्टिन होटेलमा कार्यरत केहि कर्मचारीहरुमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएदेखि भिक्टोरिया सरकारले सम्पूर्ण अन्तर्राष्ट्रिय फ्लाइटहरु माथि रोक लगाएको थियो।
विदेशबाट फर्किएका यात्रुहरुबाट फैलिएको भनिएको जुलाईको दोश्रो लहरको सङ्क्रमणहरुका कारण उक्त राज्यमा १८ हजार भन्दा बढी कोरोनाभाइरसका केस र ८०० जनाको मृत्यु भएको थियो।

होटेल क्वारेन्टिन व्यवस्थामा भएका परिवर्तन
निजि सुरक्षा गार्डहरुको प्रयोगका कारण भएका विगतका गल्तिहरुलाई नदोहर्याउन भन्दै राज्यमा आज देखि सुरु गरिएको नयाँ होटेल क्वारेन्टिन व्यवस्थाको नेतृत्व भिक्टोरिया प्रहरी द्वारा गरिने छ। अस्ट्रेलियाली सेनाका सदस्यहरुले पनि क्वारेंतीं व्यवस्था संचालनका लागि प्रहरीलाई सहयोग गर्नेछन्।
यसपटक विमानस्थाल र मेलबर्न सीबीडी मा रहेका कुल ११ होटेल होटेलहरुमा विदेशबाट फर्कनेहरुलाई क्वारेन्टिनमा राख्न प्रयोग गरिने छ। तर गत जून महिनामा कोरोनाभाइरस सङ्क्रमणको श्रोत बनेका दुई होटेल मध्ये यसपटक स्ट्यामफ़र्ड होटेललाई मात्र उक्त व्यवस्थामा समावेश गरिएको छ।
होटेलमा बस्नुपर्नेहरुले आफ्नो १४ दिने अनिवार्य क्वारेन्टिनका लागि झन्डै ३५०० डलर तिर्नुपर्ने हुन्छ, साथै होटेल भित्र मानिसहरुको आवतजावतलाई रोक्न, हावा खान वा व्यायामको लागि आफ्नो कोठा बाहिर जान बाट पनि क्वारेन्टिनमा बसेकाहरुलाई रोकिने छ।
गत शनिबार टोकियो बाट सिड्नी आएका दुई यात्रुहरु क्वारेन्टिनमा जानुको सट्टा आन्तरिक फ्लाइटमा मेलबर्न पुगेपछि, विमानस्थलहरुको कोभिड सुरक्षा मापदण्डहरु माथि पनि प्रश्न उठेका छन्। तर उक्त घटनालाई लिएर न्यु साउथ वेल्स प्रहरीले आफ्नो गल्ती स्वीकार गर्दै सुरक्षा प्रबन्धमा सुधार गरिने बताएको छ।
तर भर्जिन एयरलाइन्स बाट मेलबर्न पुगेका ती जर्मन पृष्ठभुमिका आमा र छोरालाई हाल क्वारेन्तिनमा राखिएको र उनिहरुको कोरोनाभाइरसका लागि गरिएको पहिलो जांचमा उनिहरुमा सङ्क्रमण नभेटिएको भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलीले आइतबार बताएका थिए।
ती यात्रुहरुको आज पनि कोरोनाभाइरसको लागि जांच गरिने र यदि सङ्क्रमण पुष्टि नभए उनिहरुले आफ्नो घरमै आइसोलेशनमा बस्नुपर्ने पनि उनको भनाइ छ।

खुकुलो बनाइएका थप नियम
आइतबार भिक्टोरियाका प्रिमियर डानिएल एन्ड्रुले राज्यमा मास्कको प्रयोग र मानिसहरुले आफ्नो घरमा बोलाउन पाउने मानिसहरुको दैनिक संख्या खुकुलो बनाउने घोषणा गरेका थिए।
जसअन्तर्गत अब देखि मेलबर्नवासीहरुले अरु मानिसहरुसंगको भौतिक दूरी कायम गर्न नसकिने बाहेकका अवस्थामा मास्क लगाउन नपर्ने भएको छ।
तर १.५ मिटरको भौतिक दुरी रहन नसक्ने स्थानहरुका साथै सार्वजनिक यातायात सेवाहरुको प्रयोग गर्दा र भवन भित्र रहेका शपिंग सेन्टरहरुमा जाँदा चाहिं मानिसहरुले अझै पनि मास्क प्रयोग गर्नुपर्ने छ।
मानिसहरुले आफ्नो साथमा मास्क पनि राख्नुपर्ने एन्ड्रुजले बताए।
साथै, मानिसहरुले आफ्नो घरमा बोलाउन पाउने पाहुनाहरुको संख्यालाई पनि बढाइएको छ।
एक भन्दा बढी घरबाट दिनको कुल ३० जना सम्मको संख्यामा पाहुनाहरु आफ्नो घरमा बोलाउने अनुमती पनि मेलबर्नवासीहरुले पाएका छन्।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।
