आफ्नो मोबाइल वा ल्यान्ड लाइनबाट तीन शून्य थिच्ने बित्तिकै एम्बुलेन्स, दमकल वा प्रहरीको सहयोग माग्न सकिने व्यवस्था अस्ट्रेलियामा छ।
यो तीन शुन्य वा ट्रिपल जिरो (०००) भनेको अस्ट्रेलियामा राष्ट्रिय आपतकालिन सेवाका लागि सम्पर्क गर्ने नम्बर हो।
तर ज्यानै जाने जोखिम नभए, सहायताका लागि उपलब्ध अन्य नम्बरहरूमा सम्पर्क गर्न भन्दै प्रहरीले आग्रह गरेको छ।
ज्यान जाने खतरा बाहेक केही विशेष परिस्थितिहरूमा तपाईँले ट्रिपल जिरोलाई फोन गरिदिँदा, आपतकालिन सहयोग आवश्यक परेको व्यक्तिलाई समयमै सहायता उपलब्ध नभएर उनीहरूको मृत्यु हुनसक्ने, प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार, आपत् आइपर्यो तर तत्काल ज्यानै जाने जोखिम वा निश्चित समय सीमा भित्रै सहयोग पाउनै पर्ने स्थिति छैन भने, तपाईँले अन्य विशेष नम्बरहरूमा सम्पर्क गर्नुपर्छ।
आर्थिक वर्ष २०१९-२० मा भिक्टोरियामा मात्र दैनिक ७,६०० फोन कलहरू ट्रिपल जिरो अन्तर्गतका सेवाहरू लिनका लागि गरिएको, इमर्जेन्सी सर्भिसेज टेलिकम्युनिकेसन्स अथोरिटी(एस्टा) भनिने आपतकालिन सेवा दूरसञ्चार प्राधिकरण बताउँछ।
एस्टाका अनुसार यो भनेको हरेक ११ सेकेन्डमा ट्रिपल जिरोलाई एक कल आउनु हो।
उनी भन्छिन् कि मानिसहरूले एकदमै जरुरी अवस्थामा मात्र ट्रिपल जिरोलाई सम्पर्क गरेर यस्तो भार घटाउन मद्दत गर्न सक्छन्।
“यदि हामीले कसैसँग कुरा गरिरहेका छौँ र उनीहरूको कुरा ज्यानै जाने जोखिम बारे छैन भने अन्य महत्त्वपूर्ण फोनलाई हामीले चाहे अनुसारको द्रुत सेवा दिन सक्दैनौँ,” उनी भन्छिन्।
“त्यो बाहेक, अपराध भइरहेको बेला वा हामीले अपराधीलाई तत्काल पक्राऊ गर्न सक्ने स्थिति छ भने तपाईँले ट्रिपल जिरोमा कल गर्नुपर्छ।”
दुर्घटना स्थलमा तत्काल प्रहरीको उपस्थिति आवश्यक छ भने पनि ट्रिपल जिरोलाई फोन गर्न सकिने वरिष्ठ सार्जेन्ट वल्टर्स बताउँछिन्।

भिक्टोरिया प्रहरीको पुलिस असिस्टेन्स लाइनकी केटी फिशका अनुसार सानोतिनो आपराधिक क्रियाकलाप जस्तै कि लुटपाट, चोरी, सामान हराए वा घर एवं अन्य चल अचल सम्पत्तिमा क्षति पुगे १३१ ४४४ मा फोन गर्नुपर्छ।
“मानिलिऊँ कि रेलमा यात्रा गर्दा वा घर फर्किँदै गर्दा तपाईँको केही कुरा चोरी भयो, जस्तो कि तपाईँको साइकल वा कार, अथवा गाडीको नम्बर प्लेट; तपाईँले यस्ता कुरा १३१ ४४४ मा फोन गरेर रिपोर्ट गराउन सक्नुहुन्छ,” उनले भनिन्।
“घरमा आफू नभएको बेला केही चोरी भएको छ भने पनि १३१ ४४४ मा फोन गर्नुहोस्।”
सानोतिनो सवारी दुर्घटना बारे प्रहरी समक्ष रिपोर्ट गर्नै पर्ने बाध्यता नरहेको पनि उनी बताउँछिन्।

“गाडी दुर्घटना भयो तर कसैलाई चोटपटक लागेको छैन अनि मादक वा लागू पदार्थ प्रयोग भएको छैन भने पनि साधरणतया प्रहरीलाई बताउनुपर्छ भन्ने छैन,” फिश भन्छिन्।
“अर्को गाडीको चालकसँग विवरणहरू सट्टापट्टा गरेर आफ्नो बीमा कम्पनीलाई थप कारबाही अगाडी बढाउन दिँदा हुन्छ।”
तर, सवारी दुर्घटनामा कोही पनि घाइते भयो र ट्राफिकमा व्यवधान उत्पन्न भयो भने चाहिँ तत्काल ट्रिपल जिरोलाई सम्पर्क गर्नुपर्ने पनि उनको भनाई छ।

यसै गरी आफ्नो जीवनसाथीको हिंसात्मक व्यवहारका कारण जोखिम मोल्ने स्थिति आइपरेको पनि ट्रिपल जिरोमा फोन गर्न केटी फिश सुझाउँछिन्।
“पारिवारिक हिंसा एक अपराध हो र त्यस्तो बेला तपाईँलाई सुरक्षित बनाउन प्रहरीले मद्दत गर्छ,” उनले भनिन्।
मौसम सम्बन्धी घटनाहरू जस्तै कि बाढी, आँधी वा पहिरोबाट प्रभावित भएर आफू बसेको घरको संरचनामा ठुलै क्षति पुग्यो तर ज्यानै जाने खतरा छैन भने चाहिँ स्टेट इमर्जेन्सी सर्भिस (एसइएस) भनिने राज्य आपतकालिन सेवालाई फोन गर्न पनि भिक्टोरिया प्रहरीकी फिशको अनुरोध छ।
“यस्तो बेलामा एसइएसलाई १३२ ५०० मा फोन गर्नुहोस्,” उनी भन्छिन्।
ट्रिपल जिरोमा फोन गर्ने कि नगर्ने भन्ने दुबिधा भएमा पहिले १३१ ४४४ मा फोन गर्न पनि प्रहरीको सल्लाह छ।

आपतकालिन अवस्थामा आफू रहेको स्थानको ठेगाना ठ्याक्कै यही हो भनेर थाहा नहुन पनि सक्छ।
यस्तो बेलाका लागि भनेर अस्ट्रेलिया सरकारले दुई मोबाइल एपहरू मानिसहरूलाई प्रयोग गर्न सिफारिस गरेको छ:
आपतकालिन अवस्थामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शान्त भएर ट्रिपल जिरो अपरेटरको कुरा सुन्नु र आफ्नो ठेगाना टिपाउनु हो, भन्छिन् केटी फिश।
“त्यसैले फोनमा नक्सा हेर्नु वा इमर्जेन्सी प्लस एपको प्रयोग गर्नु निकै सहयोगी हुन्छ,” उनले भनिन्।
अङ्ग्रेजी भाषामा पकड छैन तर तत्काल सहयोगको आवश्यक्ता छ भने दुवै ट्रिपल जिरो र पुलिस असिस्टेन्स लाइनले दोभासे सेवा नि:शुल्क उपलब्ध गराउँछन्।
ट्रिपल जिरो बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
दोभासे सेवाका लागि १३१ ४५० मा सम्पर्क गर्नुहोस्।
घरेलु हिंसा सम्बन्धी सहयोगका लागि १८०० ७३७ ७३२ मा फोन गर्नुहोस्।

