यस वर्षको सुरुवाती विरोध प्रदान गर्ने राष्ट्रहरूमा अस्ट्रेलिया पनि परेको छ र यो हप्ताभर विश्वभर प्रदर्शन हुँदैछ।
जलवायु परिवर्तनका सम्बन्धमा जनचेतना जगाउने अभियानको सुरुवात गराउने व्यक्ति १६ वर्षीय स्विडेनकी एक किशोरी हुन्।
अघिल्लो वर्षको अगस्टमा ग्रेटा थर्नबर्गले विद्यालय छाडेर स्विडेनको संसद् अगाडी जलवायु परिवर्तनका सम्बन्धमा ठोस कदम चाल्न माग गर्दै प्रदर्शन गरेकी थिइन।
उनको त्यो कदम विश्वलाई परिवर्तन गर्ने लक्षका साथ सुरु भएको थियो।

अरू विद्यार्थीहरूले पनि उनको सो मागलाई समर्थन गरे र विश्वभरबाट विद्यार्थीहरूले हडताल गर्न थाले।
र अबको एक हप्ता सम्म लाखौँ विद्यार्थी र अन्यले यो विश्वव्यापी विरोध प्रदर्शनमा सहभागिता जनाउँदै छन्। उनीहरूको प्रदर्शनको मुख्य उद्देश्य भनेको आफ्नो राष्ट्रिय नेतृत्वलाई जलवायु सङ्कटका विरुद्ध काम गर्न झक्झक्याउनु हो।
न्यु योर्कमा ग्रेटा थर्नबर्गले यो विरोधको नेतृत्व गरेकी छन्। र उनले संयुक्त राज्यको संसद् समक्ष राष्ट्र सङ्घको विश्वव्यापी उष्णीकरणका सम्बन्धमा प्रकाशित प्रतिवेदन प्रस्तुत गरेकी छन्।
"यो प्रतिवेदन म मेरो बयानका रूपमा प्रस्तुत गर्दैछु किनकि तपाइहरूलाई मेरो कुरा सुन्न लगाउँदिन। म चाहन्छु कि तपाइहरूले वैज्ञानिकहरूको कुरा सुन्नुहोस्। र मैले विज्ञान सँग सँगै मिलेर जान चाहेको छु। र म चाहन्छु कि तपाइहरूले यसका सम्बन्धमा साच्चिकै काम गर्नुहोस्।"

शुक्रवार अस्ट्रेलिया भर भएको प्रदर्शनमा थर्नबर्गको सिको गर्दै एडिलेडकि छात्रा १६ वर्षीय डेजी जेफ्रीले सो क्षेत्रको विरोध प्रदर्शनको आयोजना गरेकी थिइन।
उनले स्काई न्युज सँग कुरा गर्दै संसद्ले यो विषयमा ध्यान दिइयोस भन्ने विद्यार्थीहरूले चाहेको बताएकी छन्।
उनले आफूहरूका मागलाई स्पष्ट सँग राखेकी छन्।
"हाम्रो तिन वटा माग छन् -पहिलो भनेको अब अदानी कोइला खानी लगायत नयाँ कोइला, तेल वा ग्यासका खानीहरू नआओस्, दोस्रो भनेको शत प्रतिशत नवीकरणीय ऊर्जा र सन् २०३० सम्ममा त्यसलाई निर्यात गर्ने र हाम्रो तेस्रो माग भनेको यो परिवर्तनको समयमा सन्तुलन गर्न एक कोषको स्थापना र जीवाश्म इन्धन मा काम गर्ने कामदारहरूका लागी रोजगारी सिर्जना गर्ने जो जलवायु सङ्कटबाट सबैभन्दा बढी प्रभावित हुन्छन्।"

मेलबर्नको ट्रेजरी गार्डेनमा पनि ठुलो भिड जम्मा भएको थियो र उक्त र्यालीले सिटी सेन्टर हुँदै सहर परिक्रमा गर्यो।
उक्त प्रदर्शनमा अभिभावकहरूले पनि उक्त प्रयासको समर्थन गरेको पाइएको छ।
दुई छोरीहरूकी आमा क्याथले आफ्नो बच्चाहरूलाई बिदा लिन स्वीकृति दिएको किनभने यो मुल्यवान प्रयास हो भने कि छन्।
र उनका दुई छोरीहरू एडी र साषाले पनि आफूहरू आफ्नो भविष्यलाई लिएर चिन्तित भएको बताएका छन्।
एडी : "जब हामी हुर्कन्छौँ यो विश्व बस्नको लागी धेरै खराब ठाउँ बन्न सक्छ।"
साषा : "हामी चाहन्छौँ हाम्रो पछिको पुस्ताले पनि राम्रो पुस्ता पाउन। "
विद्यार्थी मात्र नभएर यो प्रदर्शनमा अन्यले पनि ऐक्यबद्धता जनाएका थिए।

दिगो र नैतिकवान् सुपरएन्युएशन कोष फ्युचर सुपरकि प्रबन्ध निर्देशक क्रिस्टिन हन्टरले पनि आफ्नो सिड्नीमा अवस्थित कार्यालय एक दिनका लागी बन्द गरेकी थिइन।
"हाम्रा कर्मचारीहरूले आफूहरू पनि उक्त हडतालमा जान पाइन्छ कि भनेर सोधे पछि हामीले कार्यालय बन्द गर्ने निर्णय गरेका हौँ।"
तर सबैले शुक्रवारको हडताललाई सही कार्य भने मान्दैनन्।
कार्यवाहक प्रधानमन्त्री माइकल म्याकरम्याकले विद्यार्थीहरू सडकमा होइन कक्षाकोठामा हुनु पर्छ भनेका छन्।

सेप्टेम्बर २७ सम्ममा १५६ वटा राष्ट्रहरूमा कम्तीमा पनि ५ हजार २ सय २५ वटा जलवायु सङ्कटका सम्बन्धमा कार्यक्रमहरू हुनेछन्।
यसरी विश्वभर प्रदर्शनहरू जारी रहँदा २३ सेप्टेम्बरमा विश्वका नेताहरूले संयुक्त राष्ट्रसङ्घका महासचिवको कार्यालयमा जलवायु सम्मेलनमा सहभागिता जनाउने छन्।
