हजारौँ अस्ट्रेलियालीहरू शुक्रवार अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी अभियानमा ऐक्यबद्धता जनाउन कार्यस्थल, विश्वविद्यालय र विद्यालयहरू छोडेर सडकमा उत्रने भएका छन्।
संयुक्त राष्ट्रसङ्घको सेप्टेम्बर २३ मा हुन गइरहेको जलवायु सम्मेलनमा अस्ट्रेलियाले सम्बोधन गर्न नपाउने भनिएको समयमा अस्ट्रेलिया भित्रै पनि यो विरोध प्रदर्शन हुन गइरहेको हो।
'विद्यालय हडताल' का रूपमा चिनिएको एस वर्षको मार्च महिनामा भएको र्यालीमा, जलवायु परिवर्तनका कारण उत्पन्न हुने सङ्कटका बारेमा जनचेतना जगाउने उद्देश्यले अस्ट्रेलियामा १० लाख ४० हजार मानिसहरूले सहभागिता जनाएका थिए।
संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलन आगामी सेप्टेम्बर २३ मा न्यु योर्कमा हुन गई रहेको छ। र उक्त सम्मेलन पूर्व फेरी एक पटक विश्वभरबाट लाखौँ मानिसहरूले प्रदर्शनमा सहभागिता जनाउने छन्।
विद्यार्थीहरूले नेतृत्व गर्ने उक्त विरोध प्रदर्शनमा विभिन्न सामाजिक संस्थाहरूको साथै व्यावसायिक संस्थाहरू, विश्वविद्यालय समूहहरू र ट्रेड युनियनहरूको पनि साथ रहने छ।
हडताल किन ?
साइमन शेख फ्युचर सुपर नामक कम्पनीका प्रमुख कार्यकारी हुन् , र उनले पनि कार्यालयबाट समय निकालेर यो अभियानमा सहभागिता जनाउँदै छन्।
"चाहे हामी विद्यार्थी हौँ, शिक्षक वा कर्मचारी हौँ -हामी कसैले पनि राजनीतिलाई राजनीतिज्ञहरूका लागी मात्र छोड्न सक्दैनौँ। जलवायु परिवर्तन अहिलेको आधारभूत समस्या हो, धेरै महत्त्वपूर्ण र ठुलो समस्या हो , यति ठुलो समस्यालाई अरू कसैले समाधान गर्छ भनेर मात्र छोड्न सकिँदैन।"
सामान्यतया हुने व्यवसाय जस्तो नहुने मनसाय बोकेको साइमन शेखको अभियानले उक्त हडतालको समयमा व्यवसायहरू बन्द गर्न प्रोत्साहित गर्दछ।

उक्त वेबसाइटले व्यवसायीहरूलाई आफ्नो पसलको ढोका बन्द गर्न र फुर्सदिलो भएर भेटघाट गर्न साथै आफ्ना कर्मचारीहरूलाई लामो खाना खाने समय प्रदान गर्न र उनीहरूलाई केही घण्टा काम नगर्दा केही कारबाही नहुने जानकारी दिन सुझाएको छ।
प्रविधि सम्बन्धी कम्पनी एट्लासियन र घर जग्गा सम्बन्धी कारोबार गर्ने कम्पनी डोमेन, १६ सय यो र्यालीको समर्थन गर्न व्यावसायिक कम्पनीहरूमध्ये पर्दछन्।
शेख यस्ता व्यवसायहरूलाई जलवायु परिवर्तनका कारणले हुने सामुन्द्रिक सतहको वृद्धिले धेरै ठुलो असर पुर्याउने बिचार व्यक्त गर्दछन्।
यो विद्यालय र व्यवसायीहरूको मात्र हडताल होइन।
धेरै विश्वविद्यालयका विद्यार्थीहरूले पनि स्कुले विद्यार्थीहरूको साथ दिदैं हडताल गर्ने बताएका छन्।
र उनीहरूका शिक्षकहरूलाई पनि यसमा सहभागिता जनाउन प्रोत्साहन गरेका छन्।

युनिभर्सिटी अफ न्यु साउथ वेल्स अन्तर्गतको विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने परिषद्ले उक्त र्यालीसम्म विद्यार्थीहरूलाई पुर्याउन बस र अन्य यातायातको व्यवस्था गरेको छ।
उक्त विश्वविद्यालयकी छात्रा एन्जेला ग्रीफिन भविष्यलाई लिएर चिन्ता व्यक्त गर्छिन्।
"हामीले विश्वविद्यालयमा पढिरहँदा आफ्नो भविष्यको बारेमा योजनाहरू बनाइरहेका हुन्छौँ। हामी सबैले रोजगारी प्राप्त गर्न प्रयास गरिरहेका हुन्छौँ, तर मृत ग्रहमा कुनै रोजगारी हुँदैन। र मलाइ लाग्छ त्यो नै सबैभन्दा महत्त्वपूर्ण कारण हो कि हामी शुक्रवार हडताल गर्दै छौँ।"
जलवायुका लागी विद्यालय हडताल एक अन्तर्राष्ट्रिय अभियान हो जुन जलवायु अभियन्ता ग्रेटा थर्नबर्गले सुरु गरेकी हुन्।
अस्ट्रेलिया, कोइला र जलबायु सम्मेलन
यसरी देशभर विरोध प्रदर्शन र जलवायु परिवर्तनका सम्बन्धमा कदम चाल्न दबाब आइरहँदा प्रधानमन्त्री स्कट मोरिसनले भने जलवायु सम्मेलनमा सहभागिता नजनाउने भएका छन्।
सम्मेलन हुने समयमा मोरिसन अमेरिकामा नै हुने भए पनि सम्मेलनमा सहभागिता नजनाउने भए पछि उनको विभिन्न पक्षबाट आलोचना भएको छ।

उनको सट्टा विदेश मामिला मन्त्री मारिस पाइन् र अस्ट्रेलियाका वातावरण दूत प्याट्रिक सक्लिङ्गले सम्मेलनमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने छन्।
यस अघि नै संयुक्त राष्ट्र सङ्घले अस्ट्रेलिया लगायत कोइला प्रयोगलाई अपनाउने राष्ट्रहरूले सम्मेलनमा बोल्न नपाउने निर्णय गरिसकेको छ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गूटेरशको उक्त निर्णयलाई अस्ट्रेलियाका जलवायु परिवर्तन सम्बन्धी वकालत गर्ने समहरूले स्वागत गरेका छन्।
महासचिव गूटेरशले जलवायु परिवर्तनका सम्बन्धमा कदम चाल्ने स्पष्ट योजना भएका नेताहरूले मात्र उक्त सम्मेलनमा सम्बोधन गर्न पाउने बताएका छन्।
उनले यसका सम्बन्धमा केही कदम नचाल्नु धेरै महँगो पर्न जाने पनि बताएका छन्।
"हामीले जलवायु परिवर्तन विरुद्धको दौडमा पराजय बेहोर्दै छौँ। हामी दिगो विकासको उद्देश्य पुरा गर्न सही बाटोमा छैनौँ। जलवायु परिवर्तनले यो शताब्दीकै अन्त्य गर्ने खतरा मात्र बोकेको छैन तर यसले समाजमा अत्यन्त गम्भीर समस्या निम्त्याइ सकेको छ।“
जलवायु परिषद् अस्ट्रेलियाका प्रमुख अनुसन्धानकर्ता डा. मार्टिन राइसले यो निर्णय आश्चर्यजनक नभएको बताएका छन्।
"राष्ट्रसङ्घलाई थाहा छ अस्ट्रेलियाको सम्बोधन आधारहीन हुन्छ, कार्बन उत्सर्जन बढाउने जस्तै जसले मौसमी अवस्थालाई झन् बिगार्छ।
अस्ट्रेलिया बोल्नको लागी बोल्छ तर यो कदममा कदम चाहिँ मिलाउँदैन। जलवायु सम्बन्धी कामका लागी यसले विश्वलाई नै विचलित पार्छ।"

कोइला प्रयोग प्रमुख मुद्दा रहने उक्त सम्मेलनमा- जापान, साउथ अफ्रिका र अन्य कोइला समर्थक राष्ट्रहरूको सूचिमा अस्ट्रेलियाको पनि नाम रहेको छ।
उक्त सम्मेलनलाई संयुक्त राज्य अमेरिका, ब्राजिल र साउदी अरबले पनि सम्बोधन गर्न पाउने छैनन्।
जलवायु परिषद्का मार्टिन राइसले अब सरकारले जलवायु परिवर्तनको असर अस्ट्रेलियामा पनि परिरहेको र समय सँगै यो झन् खराब हुँदै जाने बारे बुझ्नु पर्ने बताएका छन्।





