हिरासतमा भएको बखत हुने गरेको आदिवासी अस्ट्रेलियालीहरूको मृत्यु विरुद्ध सप्ताहान्तमा भएको विरोधमा हज्जारौं अस्ट्रेलियालीहरूले कोरोनाभाइरस सम्बन्धी सामाजिक प्रतिबन्धहरूको वास्ता नगरी भाग लिँदै गर्दा मङ्गलवार उक्त रिपोर्ट सार्वजनिक भएको हो।
“बायस अगेन्स्ट इन्डीजिनियस अस्ट्रेलियनस्: इम्प्लिसिट एसोसिएसन टेस्ट रिजल्ट्स फर अस्ट्रेलिया” का अनुसार आदिवासी अस्ट्रेलियालीहरू उमेर, लिङ्ग, काम, धर्म, शैक्षिक एवं आय स्तर जस्तो सुकै भएता पनि अस्ट्रेलियाका अधिकांश बासिन्दाहरूले औसत रूपमा एबोरिजिनी पृष्ठभूमि भएका व्यक्तिहरू बारे थाहै नपाइकन नकारात्मक दृष्टिकोण राख्ने गरेको पाइएको छ।
उक्त रिपोर्टका लेखक एवं यस विषयका शोधकर्ता सिद्धार्थ शिरोडकर आफ्नो खोजका नतिजा स्तब्ध पारिदिने किसिमको भए पनि आफू आश्चर्य चकित भने नभएको बताउँछन्।
“यसले आदिवासी मानिसहरूको बारेमा भन्दा पनि हामी बाँकी सबैको बारेमा केही न केही भन्छ,” शिरोडकरले भने।

सन् २००९ यता करिब ११,००० अस्ट्रेलियालीहरूलाई समेटिएर गरिएको उक्त अध्ययनका अनुसार संयुक्त राज्य अमेरिकामा त्यहाँका अफ्रिकन अमेरिकी विरुद्ध जस्तो पूर्वाग्रह छ, अस्ट्रेलियामा पनि यहाँका आदिवासीहरू प्रति सोही अनुरूपको पूर्वाग्रह रहेको छ।
आफूलाई उग्र प्रगतिशील भन्ने अस्ट्रेलियालीहरूले समेत आदिवासी अस्ट्रेलियालीहरू माथि नकारात्मक सोच राख्ने गरेको तथ्य उक्त रिपोर्टले उजागर छ।

अध्ययनका लागि तयार पारिएको एक अनलाइन प्रश्नावलीमा गोरो छाला भएका अस्ट्रेलियाली र एबोरिजिनी पृष्ठभूमिका अस्ट्रेलियालीहरू तस्बिर द्रुत रूपमा देखाउनुका साथै सकारात्मक एवं नकारात्मक शब्दहरू छान्न प्रयोगकर्ताहरूलाई लाग्ने समयका आधारमा शिरोडकर उक्त निष्कर्षमा पुगेको बताउँछन्।
उक्त प्रयोगमा भाग लिएका अधिकांश मानिसहरूले सेतो छाला भएका अस्ट्रेलियालीहरूको अनुहारलाई रुचाएका थिए।

शिरोडकर भन्छन् कि अस्ट्रेलियालीहरूले अनजान मै पूर्वाग्रहपूर्ण सोच राख्न सक्ने भए पनि उनीहरूले त्यसलाई सम्बोधन गर्ने कि नगर्ने भनेर छनौट गर्न सक्छन्।
“यदि हामीले त्यस्तो बिचारलाई चुनौती दिन सकेनौँ भने त्यसले दैनिक रूपमा हामीहरूद्वारा हुने निर्णयलाई असर पुर्याउन सक्छ,” उनले भने।
शोधकर्ता सिद्धार्थ शिरोडकरले आफ्नो अध्ययनमा केही विशेष समूहका मानिसहरूको बहु प्रतिनिधित्व भएको स्वीकार गर्दै आफ्नो सर्वेक्षणमा महिला, प्रगतिशील विचारधारा बोक्ने मतदाताहरू र विश्वविद्यालयमा अध्ययन गरेका व्यक्तिहरूको बाहुल्यता रहेको बताए।
