संयुक्त राष्ट्र सङ्घले विश्वभरका ३५ प्रतिशत महिलाहरू आफ्नो शारीरिक वा मानसिक हिंसाको सिकार हुने गरेको प्रक्षेपण गरेको छ।
कुनै एक समयमा भएको यौन दुर्व्यवहार बाहेक नै यति ठुलो सङ्ख्यामा महिलाहरू आफ्नो पार्टनर वा बाहिरको मानिसहरूबाट प्रताडित हुने गरेको राष्ट्र सङ्घले जनाएको छ।
तर कतिपयले उक्त आँकडालाई पुरातन वादी भएको आरोप लगाउँदै राष्ट्रिय अध्ययनहरूले ७० प्रतिशत महिलाहरू शारीरिक र मानसिक रूपमा आफ्नो पार्टनरबाट हुने हिंसाको सिकार बनेको बताएका छन्।

महिला विरुद्ध हुने हिंसाका बारेमा सधैँ चर्चा हुने गरेको भए पनि राष्ट्र सङ्घले युद्ध सँग सम्बन्धित यौन हिँसलाई 'इतिहासकै सबैभन्दा ठुलो मौनता' को संज्ञा दिएको छ।
मारिया लुइज़ा रिवेरो विओट्टी राष्ट्र सङ्घ महासचिवको कार्यालयमा कार्यरत रहेकी छन्।
उनी भन्छिन् हिंसाले महिलाहरूको शारीरिक र मानसिक अवस्थालाई मात्र असर पुर्याउँदैन यसले त समग्र परिवार, समुदाय र समाजमा नै प्रभाव पार्दछ।
"महिला विरुद्धको हिंसाले विश्व शान्ति र सुरक्षामा प्रत्यक्ष सरोकार राख्दछ। बलात्कार र लैङ्गिकतामा आधारित हत्याहरू पनि द्वन्दका समयमा प्रयोग हुने युक्तिहरू मध्ये पर्दछ ।"
राष्ट्र सङ्घीय महिला आयोगले आफ्नो पार्टनरले गर्ने गरेको शारीरिक र यौन हिंसाबाट पीडित महिलाहरूमा डिप्रेसन हुने दर अन्य महिलाहरूमा भन्दा बढी हुन्छ।
त्यस्तै गर्भपतन गर्ने र एचआइभी हुने सम्भावना पनि घरेलु हिंसाका सिकार महिलाहरूमा बढी देखिन्छ।

८७,००० महिलाहरू बर्सेनि आफ्नो पार्टनर वा परिवारका सदस्यबाट मारिने गरेको अनुमानित विश्वव्यापी तथ्याङ्क रहेको छ।
रिवेरो विओट्टी भन्छिन् यस्ता हिंसाले महिलाको जीवनका हरेक पाटोलाई असर पार्ने गर्दछ।
राष्ट्र सङ्घ अन्तर्गतको यौन हिंसा र द्वन्द हेर्ने विशेष प्रतिनिधि प्रमीला पाटेनले युद्ध सँग सम्बन्धित यौन हिंसा बन्द गरिनु पर्ने बताएकी छन्।
हिंसाका सम्बन्धमा अध्ययन गर्ने क्रममा पछिल्लो समयमा उल्लेख्य वृद्धि हुँदा नजिकको पार्टनरबाट हिंसामा पर्नेहरूको सन् २००५ देखि २०१७ सम्मको तथ्याङ्क १०६ राष्ट्रहरूमा उपलब्ध रहेको छ।
हिंसा पीडित पुरुषहरू पनि
घरेलु हिंसाका कारण पिडामा रहेका महिलाहरू मात्र नभएर आजभोलि पुरुष विरुद्ध हुने हिंसाका बारेमा पनि अध्ययनहरू केन्द्रित हुने गरेका छन्।
अस्ट्रेलियाली तथ्याङ्क विभागको व्यक्तिगत सुरक्षा अनुसन्धान सम्बन्धी एक प्रतिवेदनले जनाए अनुसार ४१ लाख ४८ हजार पुरुषहरूले आफू १५ वर्षको हुँदा देखि हिंसाको सिकार भएको उजुरी दिएका छन्।

त्यस मध्ये ११ लाख ३९ हजारले कम्तीमा एक घटनामा पीडक महिला रहेको बताएका छन्। त्यस बाहेक महिला र पुरुष दुवै माथि हुने हिंसामा ९५ प्रतिशत घटनामा पीडक पुरुष हुने गरेको देखिन्छ।
अस्ट्रेलियामा घरेलु हिंसाको अवस्थालाई हेर्ने हो भने २०१९ को सेप्टेम्बरमा प्रकाशित अस्ट्रेलियामा घरेलु हिंसाका पीडक, हिंसा पूर्व र हिंसा दोहोरिने अवस्था विषयको एक अध्ययनले यस्ता घटनामा मादक पदार्थको सेवन चाहिँ प्राय गरी भेटिने गरेको पनि जनाएको छ।
अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्नाले हिंसा गर्न उक्साउन सक्ने पनि विभिन्न अध्ययनहरूले देखाएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजी अन्तर्गतको उक्त खोजबाट प्राय घरेलु हिंसामा पुरुष पीडक रहने गरेको देखिएको छ। प्रहरी समक्ष दर्ता भएका घटनाहरूमा ६ वटा मध्ये ५ पीडक पुरुष रहेको देखिएको हो।
२१ वटा घरेलु हिंसाका घटनालाई लिएर गरिएका अध्ययनहरूले ७५ देखि ९४ प्रतिशत पीडक पुरुष र महिला पीडक ६ देखि २५ प्रतिशत मात्र रहेको देखिन्छ।
हेडी, स्कट र डी वसले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सामाजिक विज्ञान खोज सम्बन्धी तथ्याङ्कहरूको पुनर्मुल्याङ्कन गर्दा ३.४ प्रतिशत पुरुष र ३.६ प्रतिशत महिलाहरूले आफूहरू पनि आफ्नो पार्टनर प्रति आक्रामक हुने गरेको स्विकार्ने सम्भावना प्रस्तुत गरेका छन्।
अस्ट्रेलियामा सामान्यतया प्रत्येक हप्ता एक महिलाको आफ्नो वर्तमान वा पूर्व पार्टनरबाट हत्या हुने गरेको एक तथ्याङ्कले देखाएको छ।
२०१७ मा प्रकाशित मानव हत्याबारे निगरानी राख्ने राष्ट्रिय कार्यक्रम (एनएचएमपी) को उक्त तथ्याङ्कले देखाए अनुसार २०१२ देखि २०१४ सम्मको अवधिमा १२६ घरेलु हिंसाका कारण मृत्यु भएकोमा पीडित महिलाहरूको सङ्ख्या ९९ रहेको छ।
यदि तपाईँ वा तपाईँले चिनेको कोही घरेलु हिंसाको सिकार वा जोखिममा भए १८००रेस्पेक्ट को नि शुल्क हटलाइन १८०० ७३७ ७३२ मा फोन गर्नु होला।
यदि तत्काल सहयोग चाहिए ००० मा फोन गर्नु होला।
