SKIP TO MAIN CONTENT

अस्ट्रेलियाभर कम तलबमा काम लगाइएका कामदारहरूले झन्डै आठ लाख डलर फिर्ता पाउने

अस्ट्रेलियाभर ९ रेस्टुरेन्ट सञ्चालन गर्ने एक कम्पनीले विदेशी कामदार स्पन्सर गर्न नपाउने भएको छ।

Underpaid workers to receive almost $800,000 in back pay after ABF investigation
Underpaid workers to receive almost $800,000 in back pay after ABF investigation Source: Marion Pintaux from Pexels

2 min read

Published

Updated

Source: ABF Media



Skip to article content

अस्ट्रेलियाली बोर्डर फोर्स (एबीएफ)को 'अपरेसन आकापेला' अन्तर्गत गरिएको एक अनुसन्धान पछि, चाइना चिल्ली होल्डिङ ग्रुपलाई १३१,४०० ‍डलर जरिवाना गरिनुका साथै आगामी दुई वर्षका लागि विदेशी कामदार प्रायोजित गर्नबाट प्रतिबन्ध लगाइएको हो।

एबीएफको स्पन्सर मोनिटरिङ युनिट भनिने प्रायोजक अनुगमन इकाईले, अस्ट्रेलिया भरि नौ सिचुआन भोजनालय सञ्चालन गर्ने सो कम्पनीका सिड्नी, ब्रिसबेन, मेलबर्न र एडिलेड स्थित रेस्टुरेन्टहरूमा आफ्ना अधिकारीहरू पठाएर सन् २०२० को ज्यानुअरीदेखि अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा उक्त होल्डिङ ग्रुपले सन् २०१९ को जुलाई महिनादेखि सन् २०२० को नोभेम्बर महिनासम्मको अवधिमा, आफ्ना २३ कामदारहरूलाई कानूनसम्मत तिर्नुपर्ने ज्याला भन्दा ७९९,५७५ डलर (सामुहिक रुपमा) कम रकम तलब भुक्तानी गरेको पाइएको थियो।

एबीएफ इन्फोर्समेन्ट अपरेसन्स इस्टका कार्यवाहक कमान्डर ग्यारी लो भन्छन् कि कामदारहरूलाई दिनुपर्ने भन्दा कम तलबमा काममा लगाउनु, एक गम्भीर मामिला हो।

"प्रायोजित भिसामा कार्यरतहरू सहित, अस्ट्रेलियामा काम गर्ने सबै मानिसहरूलाई उचित पारिश्रमिक पाउने अधिकार छ," उनले भने।

लोका अनुसार उनको संस्थाले स्पन्सर भिसामा काम लगाउने कम्पनीहरूको नियमित अनुगमन गर्छ।

उनी भन्छन् कि यस्ता अनुगमन कार्यले, ती कम्पनीहरूद्वारा भिसा प्रायोजन सम्बन्धी नियमहरू उल्लङ्घन भए नभएको तथा ती रोजगारदाताहरूले श्रमिकहरूलाई कानूनसम्मत भुक्तानी प्रदान गरिरहेको बारे, सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ।

"कम तलब भुक्तानी गरेको भए स्पन्सरले कामदारहरूलाई तिर्न बाँकी रकम फिर्ता दिनुपर्छ," उनले भने।

यसका साथै नियम पालना नगर्ने रोजगारदाताहरुले ठुलो जरिवाना तिर्नुपर्ने र कामदार प्रायोजन गर्ने आफ्नो सम्झौता रद्द हुनसक्ने जोखिम समेत उठाउनुपर्ने कमान्डर ग्यारी लोको भनाई छ।

"थप कामदारहरूलाई प्रायोजन गर्ने आवेदन हाल्न समेत उनीहरूलाई प्रतिबन्ध लगाइन्छ," लोले भने।

कामदारहरूलाई प्रायोजन गर्नबाट निषेध वा प्रतिबन्ध लगाइएका केही नेपाली सहितका व्यवसायीहरूको सूचि यो लिङ्कमा गएर तपाईंले हेर्न सक्नुहुन्छ।

भिसा प्रायोजन दायित्वहरूको पालना नगर्ने बारेमा सूचना भएको जो कोहीले बोर्डर वाचलाई सम्पर्क गर्नुपर्दछ जहाँ तपाईंले आफ्नो नाम गोप्य राखेर पनि जानकारी दिन गर्न सक्नुहुन्छ। के तपाईँ हामीसँग आफ्नो कथा बाँड्न चाहनुहुन्छ? सम्पर्क गर्न यहाँ जानुहोस्। हाम्रा गोपनीयता सर्तहरू यहाँ छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now