अक्सफ्याम नामक संस्थाले जारी गरेको एक तथ्याङ्कका अनुसार, अस्ट्रेलियाका निकै धनी एक प्रतिशत जनसङ्ख्यासँग यस देशको आधा जनसङ्ख्याको कुल सम्पत्तिको दोब्बर बराबरको धन रहेको छ।
त्यसको अर्थ, करिब अढाई लाख अस्ट्रेलियालीहरूसँग, आफ्नै देशका एक करोड बीस लाख मानिसहहरुसँग भएको सम्पत्तिको दोब्बर धन रहेको छ।
अस्ट्रेलियामा अर्बपतिहरुको सङ्ख्या पनि बढ्दै गएको छ।
पछिल्लो दस वर्षमा त्यो सङ्ख्या तेब्बर भएको छ- अस्ट्रेलियासँग हाल ३६ अर्बपतिहरु रहेका छन्।
अक्सफ्यामले जारी गरेको यो रिपोर्ट, स्विट्जरल्याण्डको डाभोसमा सञ्चालन हुन गइरहेको विश्व आर्थिक मञ्च अगाडि सार्वजनिक भएको थियो।
यसरी अस्ट्रेलियालीहरूमै आर्थिक असमानता बढ्नुमा सर्वसाधारणहरूको तलब र ज्यालामा वृद्धि नभएर भएको पनि सम्बन्धित पक्षले जनाएको छ।
अस्ट्रेलियामा रहेको सामाजिक संस्थाकी क्यासेन्ड्रा गोल्डीले बर्षौदेखि नभएको तलबको समानुपातिक वृद्धिले गर्दा असमानता बढ्दै गएको बताउँछिन्।
सरकारले यस तर्फ ध्यान दिएर आवश्यक परिवर्तनहरू गर्नु पर्ने अहिले निकै महत्त्वपूर्ण रहेको उनले बताइन्।

