अस्ट्रेलियालीहरूले आफ्नो पैसा हाल धेरै खर्च नगरिरहेको भन्ने लगायतका भनाइहरूका माझ नेपाली व्यवसायीहरू भने आफ्नो व्यवसायमा कुनै परिवर्तन नदेखिएको बताउँछन्।
विश्व अर्थतन्त्रमा नै देखिएको सङ्कट, खडेरी र डडेलो जस्ता कारणहरूले यस्तो अवस्था आइपरेको बताइने गरेको छ।
गत वर्षको अप्रिल महिनाको बजेट सार्वजनिक भए देखि अस्ट्रेलियाको आर्थिक वृद्धि, तलब, लगानी र उपभोक्ताहरूले खर्च गर्ने रकमको मात्रा पनि घटेको सरकारी बजेट सम्बन्धी रिपोर्टले देखाएको थियो।

Treasurer Josh Frydenberg and Minister for Finance Mathias Cormann during a press conference as they hand down the Mid-Year Economic and Fiscal Outlook 2018/19 Source: AAP
ब्याङ्किङ्ग क्षेत्रमा नै प्राविधिक क्षेत्र तर्फ काम गर्ने होम नाथ पाण्डेले ग्राहकको भावनालाई समावेश गर्ने एक तथ्याङ्कले बजारमा खर्च गर्ने उनीहरूको भावना घटी राखेको देखाएको बताएका छन्।
कमनवेल्थ ब्याङ्कमा कार्यरत पाण्डेले तर यही अवस्थालाई सञ्चार माध्यमहरूले बाहिर ल्याउँदा आर्थिक मन्दीको हुने हो कि भन्ने त्रास सिर्जना गर्ने गरेको बताए।
"त्यही भएर भोलि अप्ठ्यारो पर्छ कि भनेर ग्राहकहरूले खर्च गर्नु भन्दा पनि जम्मा गर्न थाल्नु भएको छ, भोलि जागिर गयो भने के गर्ने भनेर… त्यो सेन्टिमेन्ट बिग्रिदा चाहिँ खर्च गर्न कम भएको हो।"

कमनवेल्थ ब्याङ्कमा कार्यरत होम नाथ पाण्डे पनि यसरी रिजर्भ ब्याङ्कले पनि ब्याज दर घटाएर उपभोक्ताहरूलाई खर्च गर्न प्रोत्साहित गर्न खोजेको बिचार राख्छन्। Source: sbs nepali
व्यवसायीहरूलाई कुन व्यवसाय गर्दा ठिक हुन्छ भनेर परामर्श दिने व्यवसाय सञ्चालन गर्दै आएका बिजनेस ब्रोकर सुदिप ढकाल पनि यस्ता आन्तरिक र बाह्य कारणबाट प्रभावित हुने भन्दै यसलाई धेरै ठुलो कुराको रूपमा लिन नपर्ने बिचार राख्छन्।
घर जग्गामा खर्च
घर किन्दा ऋण लिने लगायतका आर्थिक सरसल्लाह दिने 'अजि फ़ाइन्यान्स एण्ड होम लोन्स' का निर्देशक रहेका विष्णु हमाल पछिल्ला केही समय देखि घर जग्गाको भाउ बढ्नुले बजार राम्रो भएको सङ्केत दिने बताउँछन्।
विभिन्न आन्तरिक र बाह्य कारणले आर्थिक सङ्कट आउने हुनाले कति आफ्नो नियन्त्रण बाहिर हुने गरेको भन्दै हमालले घर जग्गाको क्षेत्रमा त विगतमा भन्दा अवस्था झन् सुध्रिएको आफूले पाएको बताएका छन्।
त्यसै गरी 'सक्सेस मोर्टगेज एण्ड फ़ाइन्यान्स' का प्रमुख नन्द गुरुङ त्यसरी भविष्यका लागी भन्दै जम्मा गरिएको रकम ग्राहकहरूले अहिले भने घर जग्गामा लगानी गर्न खर्चिने गरेको आफूले पाएको बताउँछन्।

बिष्णु हमाल र नन्द गुरुङ घर जग्गा कारोबारमा आर्थिक मन्दीको संकेत नदेखिएको बताउँछन्। Source: sbs nepali
"हामी क्यासमा भर पर्ने व्यवसाय नभएकोले खासमा हामीलाई त यसले फाइदा हुन्छ जस्तो लाग्छ। किनभने मान्छेले पैसा जम्मा गरे पछि घर किन्छन्।"
उनी भन्छन्, "अब तपाइले दैनिक उपभोगका सामानमा १० डलर जोगाउनु भयो, टेलिफोनमा १० डलर जोगाउनु भयो भने तपाइले थप रकम जम्मा गर्दै हुनुहुन्छ र भविष्यमा तपाई सँग घर किन्दा डिपोजिट गर्न पर्याप्त रकम जम्मा हुन्छ।"
नेपालीहरू काम धेरै गर्ने मेहनती भएको भएर होला उहाँहरूले चाहिँ अलि खर्च पनि गरिराख्नु भएको छ। बरु भन्नु पर्दा यहीँको प्रोपर अस्ट्रेलियनले चाहिँ खर्च कम गरेको हो कि जस्तो लाग्छ।
गुरुङले तत्काल रकम खर्चिनु पर्ने खुद्रा व्यवसायमा यसको प्रभाव देखिन सक्ने बताए पनि खुद्रा व्यवसायीहरू भने आफ्नो व्यापारबाट सन्तुष्ट रहेको बिचार राख्छन्।
खुद्रा व्यापारमा प्रभाव
दक्षिण सिड्नीको रकडेलमा नेपाली समुदाय माझ चर्चित रहेको मासु पसल 'एभरेस्ट बुचरी'का सञ्चालक महेश बाबु भन्छन् अन्य व्यवसायमा असर परे पनि मान्छेले खाना खान नछोड्ने हुनाले उनको व्यवसायमा खासै असर परेको छैन।
"भनिन्छ सबै ठाउँमा आर्थिक मन्दी आए पनि खाद्य उद्योगमा आउँदैन, हामीले जुन हिसाबले ग्राहकहरूलाई सन्तुष्ट गराइराखेको छौँ, ग्राहकहरू हामीसँग खुसी हुनुहुन्छ, त्यो हिसाबले चाहिँ जुन व्यवसायमा म छु त्यसमा मलाइ कुनै पनि गुनासो गरिने ठाउँ छैन।“

'एभरेस्ट बुचरी'का सञ्चालक महेश बाबु भन्छन् अन्य व्यवसायमा असर परे पनि मान्छेले खाना खान नछोड्ने हुनाले उनको व्यवसायमा खासै असर परेको छैन। Source: sbs nepali
मेलबर्नको सिड्नी रोडमा विगत ६ वर्षदेखि सञ्चालनमा रहेको लालीगुराँस किराना पसलका सञ्चालक विक्रम ढकालले दसैँ तिहार जस्ता चाडबाड लगत्तै व्यापार अलि सुस्ताए जस्तो लाग्ने भए पनि बिस्तारै फेरी यसले गति लिने गरेको बताउँछन्।
उनले व्यवसाय सञ्चालन गरी रहँदा दुई प्रकारका ग्राहकहरू देख्ने गरेका छन् जसमा एक प्रकार भनेको विद्यार्थीहरू र अर्को भनेको यहाँ व्यवस्थित रूपमा बस्दै आएकाहरू।
विद्यार्थीहरू जतिखेर पनि हतारमा हुने भएकोले तुरुन्त खान मिल्ने फ्रोजन म : म, सुकुटी जस्ता खानेकुरा किन्ने गर्दछन् भने व्यवस्थित मानिसहरू बच्चा साथै घरको मोर्टगेज लगायतका कारणले गर्दा खर्च गर्दा अलि मितव्ययी भएको पाउँछन् विक्रम ढकाल।
उनी भन्छन् उनीहरूले दाल, चामल जस्ता अति आवश्यक कुराहरूमा मात्र खर्च गर्छन्। तर यसरी किनमेल गर्ने व्यवहारमा भने केही उल्लेख्य परिवर्तन अहिले सम्म महसुस नगरेको बताउँछन् ढकाल।

मेलबर्नका किराना पसल सञ्चालकहरू पनि ग्राहकहरूले गर्ने खर्चबाट सन्तुष्ट छन्। Source: sbs nepali
मेलबर्न कै कोबर्गमा रहेको महालक्ष्मी किराना पसलका सञ्चालक भी.के. जोशी पनि २ वर्षदेखिको आफ्नो व्यवसायमा ग्राहकहरूको खर्च गर्ने तरिकामा कुनै परिवर्तन नआएको बताउँछन्।
उनी भन्छन्, "उनीहरू प्राय आउँदा एक पटकमा कम्तीमा पनि १०० डलर खर्चिन्छन्।"
उनले पनि विक्रम ढकालले जस्तै विद्यार्थीहरूले नै बढी खर्चिने गरेको पाउँछन्।
किराना पसलमा अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरू पाइने भएर उपभोक्ताहरूले गर्ने खर्चमा परिवर्तन भएको नपाइनु सामान्य नै हुन सक्छ।
तर त्यसो भनी रहँदा सौन्दर्य क्षेत्रमा पनि नेपाली समुदायको खर्च कम भएको पाइँदैन।
न्यु साउथ वेल्समा नै आर बि हेयर एण्ड ब्युटी लाउञ्ज सञ्चालन गरिरहेका सन्देश राजभण्डारी पछिल्लो समयमा मान्छेहरूले खर्च कम गर्ने गरेको पाइए पनि नेपाली समुदायमा भने यो अवस्था लागू नहुने बताउँछन्।

'नेपालीहरू मेहनत पनि गर्छन् , खर्च पनि गर्छन्' Source: sbs nepali
नेपालीहरू मेहनत गरेर काम गर्ने भएकाले पनि खर्च गर्न खासै नहिचकिचाउने उनको भनाइ रहेको छ।
"नेपालीहरू काम धेरै गर्ने मेहनती भएको भएर होला उहाँहरूले चाहिँ अलि खर्च पनि गरिराख्नु भएको छ। बरु भन्नु पर्दा यहीँको प्रोपर अस्ट्रेलियनले चाहिँ खर्च कम गरेको हो कि जस्तो लाग्छ।"
सरकारी प्रयास
अस्ट्रेलियालीहरूले पसलहरूमा आफ्नो खर्च घटाई रहेको अवस्थामा दस अर्व डलर सम्मको राजस्व सङ्कलन घटेको भन्दै सरकारले अर्थतन्त्रलाई उकास्न थप लगानी गर्नु पर्नेमा लेबरका लेबरका जिम चाल्मर्सले जोड दिएका छन्।
देशमा बेरोजगारहरूको सङ्ख्यामा वृद्धि हुने अनुमानका साथ रिजर्भ बैङ्कले ग्राहकहरूलाई खर्च गर्न प्रोत्साहित गर्ने उद्देश्यले गत वर्षको अक्टोबरमा आफ्नो आधिकारिक ब्याजदरलाई ०.२५ प्रतिशतले घटाउँदै ०.७५ प्रतिशतमा पुराउने निर्णय गरेर नयाँ रेकर्ड बनाएको थियो।
कमनवेल्थ ब्याङ्कमा कार्यरत होम नाथ पाण्डे पनि यसरी रिजर्भ ब्याङ्कले पनि ब्याज दर घटाएर उपभोक्ताहरूलाई खर्च गर्न प्रोत्साहित गर्न खोजेको बिचार राख्छन्।

People walk past the Reserve Bank of Australia sign in Sydney on September 2, 2014, AFP PHOTO/William WEST Source: AAP
"ब्याज दर घटाउनु भनेको पैसा सस्तो हुनु भन्या हो, पैसा सस्तो भए पछि मान्छेलाई खर्च गर्न सजिलो भयो।"
व्यवसायीहरू सँगको पुरा कुराकानी सुन्न यो पेजको माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्।