केही दिन देखि पानी पर्न सुरु गरेकोमा यसले देशका पूर्वी तटीय क्षेत्रहरूमा यो सप्ताह अन्त्यमा पनि निरन्तरता पाउने भएको छ।
न्यु साउथ वेल्सका केही स्थानमा त विगत १० वर्ष यताकै सबैभन्दा भारी वर्षा भएको देखिन्छ जसमध्ये राज्यको उत्तर तर्फ १०० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
यो वर्षाका कारण डडेलोको चपेटामा परेका धेरै स्थानहरूमा राहत पुगेको छ।

यसले गर्दा अहिले न्यु साउथ वेल्समा १०० भन्दा कम डडेलोहरू जलिरहेको छ जुन डिसेम्बरको मध्ये डिसेम्बर पछिको सबैभन्दा कम हो।
र यो वर्षाले खडेरी प्रभावित क्विन्सल्याण्डका विभिन्न क्षेत्रहरूलाई पनि निकै सहयोग पुगेको छ।
२४ घण्टा अगाडी मात्र सुख्खा देखिएका क्विन्सल्याण्डका केही स्थानहरूमा शुक्रवारको वर्षाले ज्यान ल्याइदिएको छ।
क्विन्सल्याण्डका दक्षिण पूर्वी केही स्थानहरूमा त शुक्रवार मात्र १५० मिलिमिटर सम्म पानी परेको थियो।

मौसम विज्ञान विभागका ग्राहम रिडरले न्यु साउथ वेल्सका उत्तरी र उत्तर पूर्वी धेरै स्थानहरूमा १०० मिलिमिटर भन्दा बढी वर्षा मापन गरिएको बताएका छन्।
त्यो स्थानहरू मध्ये १०५ मिलिमिटर वर्षा भएको बन्डारामा ९ वर्ष पछि यति वर्षा भएको बताइन्छ।
त्यस्तै केही दिन अगाडी सम्म पनि डडेलो ग्रस्त रहेका क्षेत्रहरूमा पनि पानी परेको र त्यस मध्येको एक ब्लु माउन्टेनमा कम्तीमा पनि ६० मिलिमिटरसम्म वर्षा भएको छ।
एक हप्ता अगाडी मात्र डडेलो जोखिमबारे गहन छलफल भएको सेन्ट्रल कोस्टको रेप्टाएल पार्क सन् २००७ पछि पहिलो पटक बाढीका कारण बन्द गर्नु परेको छ।
तर डडेलोबाट राहत दिने भएकाले सो परिस्थितिलाई त्यहाँका कर्मचारीहरूले स्वागत गरेका भए पनि यो जोखिम मुक्त भने नभएको राज्यको आपतकालिन सेवा प्रवक्ता पल बेलीले बताएका छन्।
"डडेलोका कारण कमजोर भएका ती रुखहरू पानी परेपछि झन् कमजोर हुन्छन् र ढल्ने जोखिम पनि बढी हुन्छ।"
तर यति वर्षाका बाबजुद पनि डडेलोको जोखिम भने पूर्ण तया समाप्त भएको छैन।

न्यु साउथ वेल्समा अहिले पनि ८० वटा जति डडेलो जलिरहेका छन् तर धेरै जस्तो नियन्त्रण गर्न सकिने स्तरका भएको बताइएको छ।
र यो वर्षाले अग्नि नियन्त्रकहरूलाई पनि निकै सहयोग पुर्याएको छ।
