आज १ जुलाई देखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सुरु भएको छ र यो सँगै विभिन्न सरकारी नीति नियममा पनि परिवर्तन भएका छन्।
तपाईँ एक्लै बस्नुहुन्छ, परिवारसँगै बस्नुहुन्छ, विद्यार्थी हुनुहुन्छ, मजदुरी गर्नुहुन्छ, व्यापार व्यवसाय चलाउनु हुन्छ वा मज्जाले रिटायर्ड लाइफ बिताइरहनु भएको भए पनि यी कर, सुपर र तलब सम्बन्धी परिवर्तनले तपाईँलाई छुनेछन्।
कर छुट

यो आर्थिक वर्षको लागि सङ्घीय सरकारद्वारा गरिएको बजेट घोषणा अनुसार निम्न तथा मध्य आय भएका मानिसहरूका लागि कर छुट हुनेछ।
यो बजेट संसद्बाट पास भए ३७,००० हजार डलर भन्दा कम रकम कमाउने व्यक्तिहरूले थप २५५ डलरसम्म कर छुट पाउने व्यवस्था छ।
अब, यो भन्दा अलिक बढी कमाउनु हुन्छ भने चाहिँ छुट पनि अलिक बढी नै छ - ३७,००० डलर देखि ४८,००० डलरसम्म कमाउनेहरूका निम्ति भने उक्त २५५ डलर सहित अधिकतम १,०८० डलरसम्म छुट हुनेछ।
यो रकमको निर्धारण गर्न तपाईँको कमाइको ७.५ प्रतिशत रकम वा १,०८० डलर जुन बढी हुन्छ त्यति नै छुट पाउनुहुनेछ।
यदि ४८,००० डलर भन्दा बढी र ९०,००० डलर भन्दा कम कमाउनु हुन्छ भने चाहिँ सिधै १,०८० डलर कर छुट पाउनुहुनेछ।
९०,००१ देखि १२६,००० डलरसम्म कमाउनेहरूका हकमा भने उक्त छुट १,०८० बाट सुरु भई जति धेरै कमाइ उही अनुपातमा कम हुँदै जानेछ।
अब, १२६,००१ वा सो भन्दा बढी कमाउनेमा पर्नुहुन्छ भने चाहिँ १३५ डलर छुट पाउनु हुनेछ।
अस्ट्रेलियन कर कार्यालयका अनुसार यदि प्रस्तावित कर छुट सम्बन्धी नियम परिवर्तन संसद्बाट पास भए आजका मिति देखि लागु हुने गरी कायम हुनेछ।
न्यूनतम तलबमा वृद्धि

फेयर वर्क कमिसनले मे महिना गरेको घोषणा अनुसार अस्ट्रेलियामा सबैभन्दा कम पैसामा काम गर्ने कामदारहरूले प्रतिहप्ता २१.६० डलर थप कमाइ गर्नेछन्।
युनियनहरूद्वारा ६ प्रतिशत वृद्धिको वकालत गरेता पनि फेयर वर्क कमिसनका अध्यक्ष इयन रसका अनुसार हाल अस्ट्रेलियाको आर्थिक अवस्थामा तीन प्रतिशतले न्यूनतम ज्याला दर बढे पनि त्यसलाई राम्रै उपलब्धि मान्नु पर्ने बताएका थिए।
व्यापारिक समूहहरूले भने उक्त माग पुरा गर्न नसकिने बताउँदै सो वृद्धि २ प्रतिशतमा झार्नुपर्ने बताएका थिए।
तीन प्रतिशतले वृद्धि हुने न्यूनतम ज्याला दरका साथ, अब फुल टाइम काम गर्ने तर सबैभन्दा कम कमाउने मानिसहरूले अब हरेक हप्ता कम्तीमा ७४०.८० डलर कमाउने छन्।
सुपरएन्नुएसन्

आज देखि लागु भएको सुपरएन्नुएसन् सम्बन्धी प्रमुख परिवर्तन भनेको यदि तपाईँको सुपरमा ६,००० डलर भन्दा कम रकम भए, त्यो व्यवस्थापन गरिदिए बापत सुपर फण्डहरुले ३ प्रतिशत भन्दा बढी शुल्क उठाउन पाउने छैनन्।
एक आधिकारिक अनुमान अनुसार यसले करिब ५० लाख अस्ट्रेलियन करदाताहरूलाई मद्दत गर्नेछ।
विशेषतः: यदि तपाईँको सुपर विभिन्न फण्डहरुमा छरिएर रहेका छन् भने वा तपाईँले भर्खरै अस्ट्रेलियामा काम गर्न सुरु गर्नुभएको छ भने यसले तपाईँलाई मद्दत गर्नेछ।
बिजुली बत्तीको बिल

न्यु साउथ वेल्स, क्विन्सल्याण्ड र साउथ अस्ट्रेलियामा बसोबास गर्नुहुन्छ भने तपाईँको घरको बत्तीको बिलमा प्रति वर्ष १८१ डलरसम्मको बचत हुनेछ।
यो परिवर्तनले “स्ट्याण्डर्ड रिटेल प्लान”मा रहेका करिब १० लाख अस्ट्रेलियनहरुलाई बिजुली ग्राहकहरूलाई प्रभावित गर्नेछ।
नयाँ दर रेट अनुसार दक्षिण-पूर्वीय क्विन्सल्याण्ड निवासीहरूले ११८ डलर, साउथ अस्ट्रेलियामा बस्नेहरूले १७१ डलर औसत बचत गर्न सक्नुहुनेछ।
न्यु साउथ वेल्समा भने सेवा प्रदायक अनुसार यो बचत १२९ डलर देखि १८१सम्म हुन सक्नेछ।
व्यापार व्यवसाय गर्नुहुन्छ भने चाहिँ ८९६ डलरसम्म बचत गर्न सक्नुहुनेछ।
साउथ अस्ट्रेलियाका व्यापारिक ग्राहकहरूले ८९६ डलर वार्षिक रूपमा बचत गर्न सक्नेछन् भने दक्षिण-पूर्वीय क्विन्सल्याण्ड व्यापारिक ग्राहकहरूले ४५७ डलर बचत गर्न सक्नेछन्।
न्यु साउथ वेल्समा भने घरेलु ग्राहकहरू झैँ यो वार्षिक बचत रकम तपाईँको आफ्नो सेवा प्रदायक अनुसार फरक पर्नेछ जस अनुसार अधिकतम ८७८ डलर र न्यूनतम ५७९ डलर बचत हुनेछ।
सिड्नी यातायात

सिड्नीमा बस्नुहुन्छ भने आज देखि तपाईँले हप्ताको ५० डलर भन्दा बढी सार्वजनिक यातायातका लागि खर्चिनु पर्नेछैन।
हिजोसम्म ६३.२० डलर “क्याप” रहेको अधिकतम शुल्कमा राज्य सरकारले आफ्नो चुनावी बाचा अनुरूप २० प्रतिशतले कटौती गरेको हो।
यसबाट करिब ५५ हजार यात्रुहरूले वार्षिक ६८६ डलर बचाउने न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनको भनाइ रहेको छ।
भिसा शुल्क

आज देखि प्राय जसो सबै भिसाहरूको शुल्क ५.४ प्रतिशतले बढेको छ।
विद्यार्थी भिसा ५७५ डलर बाट बढेर ६०६ डलर पुगेको छ भने जनरल स्किल्ड माइग्रेसन भिसाको शुल्क ३,९५८ डलर पुगेको छ।
त्यसै गरी पार्टनर भिसाको शुल्क पनि ७,१६० बाट बढेर ७,५४७ पुगेको छ।
तर, टुरिस्ट भिसा वा १४३ “कनट्रिब्युटरि पेरेन्ट भिसा”को शुल्क यथावत् नै राखिएको छ।
पारिवारिक कर लाभ

फ्यामिली ट्याक्स बेनेफिट पार्ट ए पाउने केही अस्ट्रेलियनहरुलाई यस परिवर्तनले सहयोग पुर्याउने देखिए पनि ९८,९८८ भन्दा बढी आय हुने परिवारहरूलाई भने अलिक घाटा हुनेछ।
फ्यामिली ट्याक्स बेनेफिट पार्ट ए योजना अन्तर्गत सुविधा पाउने थ्रेसहोल्ड ९४,३१६ बाट बढेर ९८,९८८ पुगेको छ।
९८,९८८ भन्दा बढी समायोजित आय हुने परिवारहरूले चाहिँ हरेक डलरबाट ३० सेन्ट गुमाउनेछन्।
राजनीतिज्ञ
आज देखि तलब बढ्नेमा तपाईँ हामी मात्र होइन राजनीतिज्ञहरू पनि छन्।
अन्य मन्त्री र सङ्घीय सांसदको तलब दुई प्रतिशतले वृद्धि भएको छ भने प्रधानमन्त्री स्कट मरिसनले अब ५४८,४६० डलर तलब स्वरूप पाउनेछन्।
सङ्घीय सांसदहरूको यो वर्ष तलब मात्र २११, २४२ डलर हुनेछ।

