SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको लागि ओमिक्रनको नयाँ सब्भेरिएन्टको जोखिम के हो? यात्राको लागि पछिल्लो सल्लाह

विश्वव्यापी रूपमा कोभिडका नयाँ र बलियो सब्भेरिएन्टहरू देखा परिरहेका छन्। विशेषज्ञहरू भन्छन् कि यससँग बाँच्न सिक्नु भनेको यसका जोखिमलाई बेवास्ता गर्नु होइन।

APTOPIX Virus Outbreak California
Australia's mandatory pre-departure screening of COVID positive passengers from China, Hong Kong and Macau bound for its shores is being termed as "politically-driven" by some quarters. Source: AP / Jae C. Hong/AP/AAP Image

4 min read

Published

By Yumi Oba

Source: SBS



Skip to article content

Key Points

  • ओमिक्रनको सबैभन्दा सङ्क्रामक सब्भेरिएन्ट एक्सबीबी.१.५ पत्ता लाग्यो: विश्व स्वास्थ्य संगठन
  • अघिल्ला भेरिएन्टहरू भन्दा बढी जोखिमपूर्ण, तर हालका खोपहरूले बलियो सुरक्षा प्रदान गर्ने
  • पछिल्लो यात्रा सल्लाहको लागि, स्मार्टट्राभलरमा हेर्नुहोस्

कोभिड महामारीको चौथो वर्षमा प्रवेश गर्दा, कोभिडलाई श्वासप्रश्वासका अन्य रोगहरूको रूपमा लिन थालिएको छ।

तर, हालै चीनमा बढ्दो सङ्क्रमण र उत्तरी गोलार्धमा ओमिक्रनको नयाँ सब्भेरिएन्ट एक्सबीबी.१.५ (XBB.1.5) देखिए पछि भने महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने सन्देश पाइन्छ।

अस्ट्रेलियाको लागि कस्तो जोखिम छ?

विश्व स्वास्थ्य सङ्गठनको अनुसार ओमिक्रनको नयाँ सब्भेरिएन्ट एक्सबीबी.१.५ अहिलेसम्म २९ वटा देशहरूमा फेला परेको छ।

दुई वटा बीए.२ सब्लिनियेजहरूको पुनः सम्मिश्रणले बनेको हुनाले यो भाइरस बढी सङ्क्रामक रहेको बताइएको छ।

एक्सबीबी.१.५ "अहिलेसम्म पत्ता लागेका मध्य सबैभन्दा छिटो सर्ने सब्भेरिएन्ट" रहेको, र यसले अरू भेरिएन्टहरूको ठाउँ लिइसकेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।

अमेरिकाको उत्तरपूर्वी क्षत्रमा ७०% सङ्क्रमण एक्सबीबी.१.५ का कारण भएको, र बेलायतका पछिल्लो तथ्याङ्कमा २५ मध्य एक जनामा यही सब्भेरिएन्ट देखा परेको छ।

अस्ट्रेलियामा अहिलेसम्म एक्सबीबी.१.५ का आठ वटा केसहरू फेला परेका छन्।

"हामीले जे गरे पनि एक्सबीबी.१.५ अस्ट्रेलियामा फैलिन्छ," युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाका महामारी रोग विशेषज्ञ, प्राध्यापक एड्रियन एस्टरम्यानले बताए।

"एक्सबीबी.१.५ ले अस्ट्रेलियामा सङ्क्रमणको अर्को लहर सुरु गर्ने सम्भावना छ," उनले एसबीएसलाई बताए।

यद्यपि, धेरैजसो मानिसहरूलाई पहिले नै कोभिड भइसकेको हुनाले, र धेरैले खोप लगाएका हुनाले "वर्तमान सब्भेरिएन्टभन्दा खराब नहुने" उनको विचार छ।

"प्रारम्भिक तथ्याङ्क अनुसार एक्सबीबी.१.५ अघिल्ला भेरिएन्टहरू भन्दा बढी जोखिमपूर्ण छ, तर हालका खोपहरूले बलियो सुरक्षा प्रदान गर्ने गर्दछन्।

"एक्सबीबी.१.५ ले गम्भीर बिरामी बनाउन सक्ने (या यसबाट कसैको मृत्यु हुन सक्ने) भनी देखाउने हालै कुनै तथ्याङ्क छैन।

"अस्ट्रेलिया सरकारले स्थानीय र विश्वव्यापी कोभिड-१९ अवस्थाको नजिकी निगरानी जारी राखेको छ। अहिलेको अवस्थामा सीमा नियमहरू थप्ने कुनै योजना छैन," स्वास्थ्य र वृद्ध हेरचाह विभागले एसबीएसलाई बताएको छ।

चीनमा फैलिएको बीएफ.७ (BF.7)को अवस्था कस्तो छ?

अस्ट्रेलियाले चीन, हंगकंग र मकाउबाट आउने यात्रुहरूले उडान अघि कोभिड-१९ परीक्षण गर्नु पर्ने नियम बनाएको छ।

यी ठाउँहरूबाट यात्रुहरूले उडानभन्दा ४८ घण्टा पहिलेको समयमा र्यापिड एन्टीजेन परीक्षण (र्याट) या न्युक्लीक एसिड एम्प्लिफिकेसन टेक्नोलोजी (एनएए) परीक्षण गरी सङ्क्रमण नभएको अर्थात् नेगेटिभ रिपोर्ट देखाउनु पर्ने हुन्छ।

यी अस्थायी उपायहरू "प्रशस्त रूपमा सतर्क रहनको लागि" अपनाइएको स्वास्थ्य मार्क बट्लरले २ ज्यानुअरीमा एबीसी रेडियोलाई बताएका छन्।

डिकेन विश्वविद्यालयको महामारी विज्ञानका एसोसिएट प्राध्यापक हसान भाली भन्छन् कि अस्ट्रेलियामा हाल फैलिएका भेरिएन्टहरू र समुदायको प्रतिरोधात्मक शक्तिलाई हेर्दा, बीएफ.७ को खतरा कम छ।

"चीनबाट आउने यात्रुहरूले अस्ट्रेलियामा कुनै ठूलो जोखिम निम्त्याउँदैनन् जस्तो मलाई लाग्छ," उनले एसबीएसलाई बताए।

"कुनै देशबाट आउने यात्रुहरू माथि लगाइएका प्रतिबन्धहरू प्रमाणमा आधारित हुनु पर्दछ," उनले भने।

डाक्टर भाली र प्राध्यापक एस्टरम्यान भन्छन् कि उडान अघि परीक्षण गर्नु पर्ने नियम "राजनीतिक" हो, र यो जोखिमसँग मेल खाँदैन।

यात्राको लागि पछिल्लो सल्लाह के हो?

चीन र अस्ट्रेलिया बीच कुनै यात्रा प्रतिबन्ध नभए तापनि, सरकारले चीन जाने यात्रुहरूमा "उच्च सावधानी अपनाउन" सल्लाह दिएको छ।

अमेरिका जाने यात्रुहरू "सामान्य सावधानी अपनाउन" सल्लाह दिइएको छ।

चीन, हंगकंग र मकाउबाट अस्ट्रेलिया आउनेहरूले उडान अघि परीक्षण गर्न अनिवार्य छ।

"यात्रुहरूले आवश्यकता अनुसार खोप लगाएको हुनु पर्ने सरकारको सुझाव छ। यात्रा सम्बन्धी समय सान्दर्भिक जानकारीको लागि स्मार्टट्राभलर वेबसाइटमा हेर्नुहोस्।"

"सबै अस्ट्रेलियालीहरूले जोखिमपूर्ण स्थानमा शारीरिक दुरी कायम राख्ने, हात र श्वासप्रश्वास सम्बन्धी सरसफाइ कायम राख्ने र उचित किसिमको मास्क लगाउनु पर्दछ," स्वास्थ्य र वृद्ध हेरचाह विभागले एसबीएसलाई बताएको छ।

महामारीले सन् २०२३ मा कस्तो रूप लिन्छ?

आपतकालीन अवस्थाबाट सामान्य समयमा आउँदा, सन् २०२३ मा सङ्क्रमणमा लहरहरू आउन सक्छन्।

"यी लहरहरूले कति मानिस प्रभावित हुन्छन्, र सङ्क्रमणको गम्भीरता - दुवै कम होस् भन्ने हाम्रो आशा छ," डाक्टर भालीले बताए।

कोभिडसँग बाँच्न सिक्नु भनेको कोभिडलाई बेवास्ता गर्नु होइन भन्ने कुरा हामीले स्पष्ट बुझ्नु पर्छ।

"यो सङ्क्रमण अझै केही समयका लागि हाम्रो लागि एक सार्वजनिक स्वास्थ्य जोखिमको रूपमा रहने छ।"

"यसर्थ, हामीले गत तीन वर्षमा सिकेका कुराहरूलाई लागु गर्दै, आउँदो सालमा खोप र उपचारमा प्रगति होस् भन्ने आशा गर्न सक्छौँ।"

"यसले हामीलाई कोभिड-१९ भाइरससँग बाच्ने बाटोमा अगाडी लैजान्छ," डाक्टर भालीले बताए।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now