तन्नेरी अवस्थामा पुग्न लागेका आफ्ना सन्तानसँग कुरा गर्न अभिभावकहरूलाई हम्मे-हम्मे नै पर्ने कुरा कुनै नौलो होइन।
अब झन् यौन वा त्यससँग सम्बन्धित विषयमा आफ्ना किशोर अवस्थामा रहेका छोरा-छोरीहरूसँग कुरा गर्न थाल्दा धेरै अभिभावकहरूलाई नैतिकताको डरले पनि धेरै सताउँछ।
किशोर किशोरीहरूले आफ्ना नग्न वा अर्ध नग्न तस्बिरहरू सामाजिक सञ्जालमा बाँड्नु अब लगभग सामान्य कुरा झैँ भइसकेको छ।
साधरणतया, सेक्सटिङ्गको बारेमा अभिभावक तथा मद्दत गर्ने अन्य मानिसहरूले “जिरो टोलरेन्स” अथवा आफू मातहतका युवा जमातले त्यसो गरेमा आफूहरूले बिलकुलै नसहने नीति लिन्छन्।
उनीहरूले के कुरा बुझ्न जरुरी छ भने, सेक्सटिङ्ग युवा जमात बिच सामान्य कुरो भइसक्यो।
अनि अर्को तर्फ, अभिभावकहरूको यही जमात सेक्सटिङ्गको दुरुपयोगबाट पीडित भएकाहरूलाई नै दोषी देख्छन्।
उनीहरू त्यस्ता तस्बिर अरूलाई बाँड्ने र अनधिकृत रूपमा फैलाउन सहयोग गर्नेलाई जबाफदेही बनाउनुको साटो उनीहरूलाई दण्ड दिन लालायित हुन्छन्।
सेक्सटिङ्ग भनेको के हो?

सजिलो भाषामा भन्ने हो भने सेक्सटिङ्गको परिभाषा भित्र बिना छाँट-काँट अश्लील शब्दहरू राखेर मोबाइल फोनबाट पठाइने सन्देशहरू नै हुन्।
तर, अहिले सबैजसोको हातमा फोटो र भिडियो खिच्ने सुविधा भएकै मोबाइल हुन्छन् र यस कारण पनि सेक्सटिङ्गको दायरा शब्दहरुमात्र भएका सन्देश मात्र हुन् भनेर बुझ्नु ठिक होइन।
त्यस कारण सेक्सटिङ्गमा छाडा सन्देशहरूको अलावा माथि उल्लेख गरिए झैँ नग्न वा अर्ध नग्न तस्बिरहरू र भिडियोहरू समेतको आदान प्रदान हो भनेर बुझ्न जरुरी छ।
साथै, अस्ट्रेलियाको हकमा भन्ने हो भने, सेक्सटिङ्गलाई सामाजिक रूपमा आफ्नो लैङ्गिकता एवं कामुकता व्यक्त गर्ने माध्यमको रूपमा स्विकारिएको अवस्था छ।
अनि, पठाउनेको गोपनीयता भङ्ग नहुने र अनधिकृत रूपमा यस्ता सन्देश, तस्बिर र भिडियोहरू अरूलाई पुन: प्रेषित गरेर नपठाएसम्म सेक्सटिङ्गलाई सुरक्षित नै मानिएको छ।
कानूनी रूपमा भने, यसरी तस्बिर र भिडियो आदान प्रदान गर्दा १८ वर्ष चाहिँ पुगेको हुनुपर्छ र यस्ता सन्देशहरू पठाउनेको पूर्व स्वीकृति बिना पुन: प्रेषित गर्न पाइँदैन।
तस्बिर वा भिडियोमा देखिएका व्यक्तिलाई तर्साउने, सताउने र धम्काउने गरे पनि कानून बमोजिम सजाय हुन्छ।
तर, सेक्सटिङ्ग गर्न रुचाउने किशोर-किशोरीहरूले बुझ्न जरुरी के छ त?
कानून

पहिलो कुरा त कानून नै हो।
माथि भनिए झैँ अस्ट्रेलियाको सङ्घीय कानून अनुसार १८ वर्ष भन्दा तलकालाई सेक्सटिङ्ग गर्न बन्देज छ।
यदि १८ वर्ष भन्दा मुनिका व्यक्तिहरू समावेश भएर सेक्सटिङ्ग गर्छन् भने त्यो बाल यौन शोषणको दायरा भित्र पर्न सक्छ।
“चाइल्ड पोर्नोग्राफी” भनेर चिनिने बाल अश्लिताका सामग्री र बाल यौन शोषणको भिन्नतामा धेरै फरक नहुने गरी कानूनी परिभाषाहरू बनिरहेको अवस्थामा १८ वर्ष मुनिका व्यक्तिहरूको नग्न वा अर्ध नग्न फोटो, भिडियो वा उनीहरूले यौनजन्य क्रियाकलाप गरेको जस्तो देखिने सामग्रीहरू आदान प्रदान गर्दा वा सङ्ग्रह गरेर राख्दा ठुलै कानूनी झमेलामा परिन्छ।
धेरै टीनेजरहरूको धारणामा अरू साथीहरूले गर्न हुन्छ भने मैले किन गर्न नहुने भन्ने कुरा व्याप्त हुन्छ।
उनीहरूको विचारमा सेक्सटिङ्ग सामाजिक रूपमा स्वीकार्य सामान्य कुरा हो।

मेलबर्न स्थित ला’ट्रोब विश्वविद्यालयले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार, १० देखि ११ कक्षामा पढ्ने अस्ट्रेलियाका करिब एक तिहाइ विद्यार्थीहरूले सबैभन्दा पछिल्लो सेक्सटिङ्ग आफूले गर्लफ्रेन्ड, बोईफ्रेन्ड वा आफ्ना साथी बिच भएको जनाएका थिए।
उक्त सर्वेक्षणमा भाग लिने आधा भन्दा बढी विद्यार्थीहरू (६,३२७) का अनुसार उनीहरूले अश्लील टेक्स्ट मेसेज पाएको जनाएका थिए भने करिब ४४ प्रतिशतले नग्न वा लगभग नग्न अवस्थामा रहेको अरूहरूको तस्बिर वा भिडियो आफूले पाएको बताएका थिए।
अनि लगभग एक तिहाइ विद्यार्थीहरूले आफ्नो वा अरूको अश्लील मुद्रामा खिचिएका तस्बिर वा भिडियोहरू अन्य मानिसहरूलाई पठाएको स्वीकार गरेका थिए।
जोखिम र पुरस्कार दुवै

सेक्सटिङ्गमा भाग लिने सबैजसोले आफूहरू त्यस्तो कार्यमा लाग्नुको कारण आफ्नो लागि राम्रै होस् भन्ने अभिलाषा राखेर गरेको बताउँछन्।
उनीहरूका अनुसार सेक्सटिङ्ग गर्दा आत्मबल, आत्मविश्वास र आत्मसम्मान बढ्ने अनि आफ्नो कामुकतामा पनि वृद्धि हुन्छ।
सेक्सटिङ्ग गर्न रुचाउने अरू मानिसहरूका अनुसार यसरी आफ्नो कामुक रूपमा रहेको तस्बिर र भिडियोहरू अरूलाई पठाउँदा रमाइलो हुने, “सेक्सी” उपहार दिए झैँ लाग्नेछ।
साथै, आफ्ना अन्तरङ्ग भाव आफूलाई प्रिय लाग्ने मानिसलाई देखाउन पाउँदा दुई व्यक्ति बिच हुने सम्बन्धमा नयाँ आयाम आउने पनि बताउँछन्।
तर, यसरी आफ्नो नितान्त व्यक्तिगत भावपूर्ण सामाग्रीहरू गलत हातमा पर्न सक्छ है भन्नेबारे पनि सोच्न जरुरी छ।
श्रब्यदृश्यमा आधारित शोषण भनेर परिभाषित हुने यस्ता गतिविधिले नसोचेको नोक्सान गर्नुका साथै सामाजिक तिरस्कार, अनावश्यक डर र चिन्ता उत्पन्न भएर मानिसक पिडा थपिन सक्छ।
अनि, अझ किशोर-किशोरीको हकमा भन्ने हो भने त थप कानूनी कारबाही हुनसक्ने सम्भावना पनि उत्तिकै रहन्छ।
“जिरो टोलरेन्स” नीतिले काम गर्दैन
[[{"fid":"1801679","view_mode":"body_content","uuid":"87d57e94-9a22-41d4-bf61-915aa743ec11","type":"media","attributes":{"height":"467","width":"700","alt":"The Hunting","title":"Amanda (Elena Carapetis) chats with daughter Zoe (Luca Sardelis), a victim of image-based abuse in the new SBS drama - The Hunting","class":"media-element file-body-content"}}]]
आफ्ना निजी तस्बिर र भिडियो एक अर्कामा साटासाट गर्ने कुराबाट आजका नवजवानहरुलाई रोक्न सकिने अवस्था छैन।
एक बाटो रोके उनीहरूले अर्को बाटो खोजी हाल्छन्।
तसर्थ, क्षति कम हुने बाटो रोजेर उनीहरूलाई यस बारे सकेसम्मको सही र व्यवहारिक ज्ञान दिनु नै सबैभन्दा बुद्दिमता पूर्ण उपाय हो।
आफ्ना बच्चाहरूलाई आधुनिक सञ्चारका साधन बारे समालोचना गर्न सिकाउने, साथीहरू बनाउँदा विवेक अपनाउने, आफूले सिर्जना गरेका सामाग्रीले के-कस्ता परिणामहरू ल्याउँछन् भन्ने सोच्न लगाउने र कसलाई कति विश्वास गर्ने भन्ने बारे बिचार गर्न लगाउनु नै सबैभन्दा उत्तम मार्ग हो।
समग्रमा भन्दा, सेक्सटिङ्ग प्रविधिको बारेमा भन्दा पनि मानवताको बारेमा हो। यसलाई चाहिने भन्दा बढी जटिल बनाउनु जरुरी छैन - कानून उल्लङ्घन हुने कुरा गर्नु भएन, अरूसँग राम्रो सम्बन्ध राख्ने असल र निष्ठावान् मानिस बन्नुपर्यो।
आफ्ना सन्तानलाई विश्वास बन्न प्रेरित गर्नुहोस्, अरूको गोपनीयताको मान राख्न सिकाउनुहोस् अनि अरूको मन्जुरी बिना मन लागी गर्न ठिक होइन भनेर बुझाउनु होस्।

डा. टेस्सा ओपी अस्ट्रेलियन सेक्सोलोजिस्ट समाज - साउथ अस्ट्रेलिया र नदर्न टेरोटेरीकी शाखाकी प्रमुख हुन्।
यसका साथै, उनी “इन योर स्किन” नामक एक सम्बन्ध र यौन शिक्षा प्रदायक संस्थाकी संस्थापक पनि हुन्।
यदि तपाईँ वा तपाईँले चिनेको कसैलाई यौन उत्पीडन, घरेलु हिंसा वा पारिवारिक हिंसाको सिकार हुनुभएको छ वा भएको बारेमा जानकारी छ भने १८००-७३७-७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्।
आपत्कालीन अवस्था छ भने ००० डायल गर्नुहोस्।
यस बारे थप जानकारीका लागि ई-सेफ्टी कमिश्नरको वेबसाइट जानुहोस्।
