अभिभावक बन्नु सजिलो कुरा होइन र त्यसमा पनि प्रविधिले थप चुनौती ल्याएको छ।
कसरी बालबालिकालाई अनलाइनबाट सकारात्मक अनुभव पाउने सुनिश्चित गर्न के गर्न सकिन्छ त ?
प्रविधिहरूको धेरै फाइदा भए पनि, अनलाइन सुरक्षा आयुक्त जुली इन्म्यान भन्छिन् यसबाट नकारात्मक अनुभव पाउनु पनि निकै सामान्य बनेको छ।
"पाँच मध्ये एक युवा अस्ट्रेलियालीहरूले अनलाइनबाट नकारात्मक अनुभव पाएका छन्, यो क्रम साइबर बुलिइङ्ग देखि तस्बिरको दुरुपयोग त्यस्तै हिंसा तथा घृणा व्यक्त गरिएका सामाग्री हेर्ने सम्म पुग्छ।"
तस्बिरको दुरुपयोग भनेको, नितान्त व्यक्तिगत तस्बिरहरू व्यक्तिको स्वीकृति बिना नै अरूलाई बाँड्नु हो।
यो यस्तो कुरा हो जसको बारेमा अभिभावकहरू अनभिज्ञ हुन्छन्।
"यसलाई कतिपयले बदलाको भावनाले फैलाइएको अश्लिलता पनि भन्ने गरेका छन्, तर हामी त्यो शब्द प्रयोग गर्दैनौँ किनभने हामी सोध्छौँ 'के कुराको बदला?' र यसलाई व्यापक सङ्ख्यामा हेरिएको पनि हुँदैन।
त्यसैले हामी यसलाई तस्बिरको दुरुपयोग भन्ने गर्दछौँ किनकि यसमा गोप्य तस्बिर वा भिडियो स्वीकृति बिना नै अरूसमक्ष बाँडिन्छ। र यो भोगाइ प्राय युवा पुस्ताको हुन्छ जब सेक्स्टिंग (यौनिक कुराकानी) को दुरुपयोग हुन्छ।"
अभिभावकलाई आफ्ना बच्चाहरूलाई अनलाइनमा अपरिचित मानिसहरूले सम्पर्क गर्न खोजेको विषयले पनि चिन्तित बनाउन सक्छ।
बच्चाहरूको हेल्प लाइन कि सल्लाहकार बेलिन्डा बेमन्ट भन्छिन् साइबर बुलिइङ्ग पनि गम्भीर समस्या हो।
अभिभावकले के गर्ने त ?
तपाईँहरूको बालबच्चालाई कुनै न कुनै हिसाबले कुनै एक समयमा अनलाइनमा नकारात्मक अनुभव भएको हुन सक्ने प्रबल सम्भावना हुन्छ।
त्यसैले यस्तो हुनु पूर्व नै गर्नु पर्ने भनेको उनीहरूसँग खुलेर कुराकानी गर्ने र उनीहरूलाई तपाईँ सधैँ उनीहरूको साथमा रहेको प्रत्याभूति दिलाउनु पर्छ।
अभिभावक भएको कारणले सम्पूर्ण सामाजिक सञ्जाल र अनलाइन खेलहरूलाई पूर्ण तय प्रतिबन्ध गराउन धेरै मन हुने भए पनि त्यो समस्याको समाधान नभएको बेलिन्डाको भनाइ रहेको छ।
"बालबालिकाको सल्लाहकारको रूपमा रहँदा मैले के थाहा पाए भने उनीहरूले जसरी पनि त्यसको प्रयोग गर्छन्, र तपाईँले त्यस्तो गर्नु भयो भने उनीहरू झन् गोप्य हुन र कुराहरू लुकाउन सिक्छन्, र उनीहरूले आफ्नै अकाउन्ट खोलेरै छाड्छन्।"

विशेष गरी कलिला बच्चाहरूका सम्बन्धमा के चाहिँ गर्न सकिन्छ भने, उनीहरूको उपकरणमा अभिभावकमय नियन्त्रण राख्ने ताकि जानीजानी वा थाहा नपाइ पनि उनीहरूले के के कुरामा पहुँच पाउन सक्छन् भन्नेलाई सीमित गर्न सकियोस्।
बालबालिकाको सुरक्षाका क्षेत्रमा काम गर्दै आएको चाइल्ड वाइज नामक संस्थाकी प्रबन्ध निर्देशक ज्यान फ्रेन्चले आफ्ना बालबच्चा सँग कुरा गर्ने र सामाजिक सञ्जाल र उपकरणहरूको प्रयोगमा सीमा निर्धारण गर्न सुझाव दिएकी छन्।
आफ्नो घरका केही नियमहरूको उदाहरण दिँदै भनिन्, "सुत्ने कोठामा कुनै पनि उपकरण हुँदैन। सामाजिक सञ्जालमा रहँदा आफ्नो परिचय खुल्ने केही पनि नराख्ने। जस्तै : बच्चाहरूले आफ्नो विद्यालयको युनिफर्म लगाएको तस्बिर वा उनीहरू बस्ने ठेगाना नराख्न भन्ने सुनिश्चित गर्नु पर्दछ।"
यदि परिवारमा अनलाइन सुरक्षा महत्त्वका बारेमा बुझेका दाइ - दिदी छन् भने उनीहरूलाई पनि कुराकानीमा समावेश गर्न सकिन्छ।
उनीहरूसँग घुलमिल हुने अर्को तरिका भनेको उनीहरूले प्रयोग गर्ने भिडियो गेम वा एप डाउनलोड गरेर प्रयोग गर्ने।
यस्तो गर्दा त्यस्ता खेल र एपहरूले कसरी काम गर्छ भनेर बुझ्न सजिलो हुन्छ र त्यसलाई उनीहरू सँग कुराकानीको सुरुवात गर्ने माध्यम पनि बनाउन सकिन्छ।

तर यति सावधानी अपनाउँदा पनि बच्चाहरू समस्या पर्न सक्ने सम्भावना रहन्छ।
यदि त्यस्तो भए पनि शान्त रहन ज्यान फ्रेन्च सुझाउँछिन्।
"पहिलो काम भनेको कुराकानी गर्ने वातावरण निर्माण गर्नु पर्छ।
आफ्ना बच्चाहरूलाई यदि केही नराम्रो भई हाल्यो भने आफू कहाँ आउन सक्ने बारे विश्वस्त पार्नु पर्छ।"
यदि तपाइको बालबालिका साइबर बुलिइङ्ग र तस्बिर दुरुपयोग पीडित भएका छन् भने इसेफ्टी कमिस्नरको वेबसाइट जान इन्म्यानको सुझाव रहेको छ।
इसेफ्टी कमिस्नरको वेबसाइट esafety.gov.au मा पनि अनलाइन सुरक्षा सम्बन्धी जानकारी र आफ्ना बालबच्चासँग छलफल गर्ने सुझावहरू धेरै भाषाहरूमा उपलब्ध रहेको छ।
तपाईंले १७ भाषामा उपलब्ध CyberParent एप पनि डाउनलोड गर्न सक्नुहुनेछ।
एसबीएसको 'द हन्टिंग' नामक नाटक शृङ्खलाको चार भागमा अनलाइन सुरक्षालाई समेटिएको छ।
उक्त नाटक शृङ्खलामा कसरी किशोर किशोरीले कसरी सम्बन्धमा देखिएको जटिलता, आफ्नो पहिचान र लैङ्गिकताका विषयहरूलाई प्रविधिका माध्यमबाट सुल्झाउँछन् भनेर देखाइएको छ।
यस शृङ्खलाको प्रिमियर बिहीबार अगस्ट १, राति ८:३० बजे एसबीएस टेलिभिजन र एसबीएस अन डिमाण्डमा हुँदैछ।




