परेड सुरु हुनु पूर्वको उत्सव शनिवार बेलुका ६:४५ बजे देखि हेर्न सकिनेछ त्यस्तै मार्डि ग्रा परेड भने बेलुका ७ बजे देखि राती ११ बजे सम्म हेर्न सकिनेछ।
लिभरपुल र अक्सफोर्ड स्ट्रीटको छेउमा सिड्नीको व्हिटल्याम स्क्वायरबाट परेड प्रारम्भ गरिनेछ। त्यस्तै परेडको समाप्ति मूर् पार्कमा हुनेछ।
यति धेरै चर्चा हुने अस्ट्रेलियाली मार्डि ग्रा परेड आखिर के हो त ?
फ्रान्सेली भाषाबाट आएको मार्डि ग्राको शाब्दिक रूपान्तरण नेपालीमा “मोटो मङ्गलवार” हुन्छ। यो मोटो मङ्गलवार भनिने दिन खासमा हाम्रो तिजको दर खाने दिन जस्तै हो।
यसको भोलिपल्ट देखि परम्परागत रूपमा इसाई धर्मालावाम्बीहरु लगभग ६ हप्तासम्म (इस्टर आइतबारको अघिल्लो दिनसम्म) चोखो-नितो मात्र खाने गर्दछन् जसलाई “लेन्ट” भनिन्छ।
अनि, खासमा यो लेन्ट अवधि चाहिँ परापूर्व कालमा पगानहरुले वसन्त ऋतुको आगमन (उत्तरी गोलार्धमा) तथा प्रजननताका मौसम मनाउन प्रयोग गर्ने गर्थे। पछि इसाई धर्म शास्त्रमा यसलाई विषयवस्तुसँग मिल्ने गरी समाहित गरियो।

विश्वभर नै मार्डि ग्राका महोत्सवहरू बडो भव्यताका साथ मनाइन्छ र त्यसमा पनि ब्राजिलको रियो डी जनरियो तथा संयुक्त राज्य अमेरिकाको न्यु ओर्लिंसमा मनाइने मार्डि ग्राहरु त अझै प्रसिद्ध छन्।
तर, सिड्नीमा आयोजना हुने मार्डि ग्राको कुरै भिन्नै छ, यो मार्डि ग्रा विश्वव्यापी रूपमै एलजीबीटीआईक्यू प्लसको महोत्सवका हुँदै सामाजिक न्यायको लागि एक प्रतीक आन्दोलनका रूपमा स्थापित भइसकेको छ।
सन् १९७८ को मार्डि ग्राले अस्ट्रेलियामा सामाजिक उथलपुथल नै सुरु गरिदियो भन्नु अतिशयोक्ति नहोला।
सन् १९७८ को जाडो जुन महिना, २४ तारिख, सिड्नीको मध्य भाग भएर एउटा शान्ति र्याली निस्कियो - करिब एक दशक अगाडी सन् १९६९मा समलैंगिक अधिकारका निम्ति अमेरिकी शहर न्यु योर्कमा भएको “स्टोनवाल” दङ्गाको सम्झना स्वरूप।
तर, प्रहरीको धरपकड एवं ज्यादतीका बिच उक्त शान्ति र्यालीबाट दर्जनौँ प्रदर्शनकारीहरू पक्राउ गरिए, केही माथि अत्यधिक बल प्रयोग भयो भने अन्यलाई सार्वजनिक रूपमै अपमान गरियो।

त्यसपछिका महिनाहरूमा थप प्रदर्शन तथा धरपकडहरू कायमै रहे। अन्ततः: बाध्य भएर तात्कालिन न्यु साउथ वेल्स सरकारले त्यस्ता प्रदर्शनीहरूमा मानिसहरू पक्राउ गर्न पाउने कानुनलाई नै रद्द गरिदियो।
सन् १९७९ को परेडमा करिब ३,००० मानिसहरूले भाग लिए जुन बिना कुनै घटना शान्ति पूर्वक सम्पन्न भयो । तत्पश्चात्का वर्षहरूमा बिस्तारै सर्वसाधारणहरूको धारणामा पनि परिवर्तन हुँदै गयो र ४१ वर्षको यो अन्तरालमा सिड्नी अस्ट्रेलियाकै मार्डि ग्रा मुख्यालयको रूपमा स्थापित भएको छ ।

आजको दिनसम्म आइपुग्दा सिड्नीको मार्डि ग्रामा भाग लिनकै लागि भनेर हजारौँका सङ्ख्यामा मानिसहरू विश्वभरबाट अस्ट्रेलिया आउने गर्दछन्। न्यु साउथ वेल्स सरकारका अनुसार यो महोत्सवबाट मात्रै स्थानीय अर्थतन्त्रमा करिब ३ करोड ८० लाख डलर बराबरको टेवा पुग्छ।
सदनक्रस विश्वविद्यालयमा पर्यटनका एक प्राध्यापक केभिन मार्क्वेल भन्छन् कि सिड्नीको मार्डि ग्रा झाँकी संसारका सबै एलजीबीटीआईक्यूप्लस समुदायद्वारा गरिने परेडहरू भन्दा नितान्त पृथक् छन्।

“यो रातको समयमा हुन्छ जबकि अमेरिकी परेडहरू दिनमा हुने गर्दछन्। राती हुने भएकोले यो निक्कै रमाइलो तथा रङ्गिन हुने गर्दछ। बत्ती तथा विभिन्न ध्वनिहरूले यसले अन्य दिवा समय हुने झाँकीहरू भन्दा भिन्नै अनुभव दिन्छ।”
प्राध्यापक मार्क्वेलका अनुसार सिड्नीको मार्डि ग्रा लोकप्रिय हुँदै जाँदा अन्य ठुला शहरहरु तथा क्षेत्रीय केन्द्रहरूले पनि त्यसैको सिको गर्दै छन्।
“विशेष गरी मार्डि ग्रा परेड तथा पुरै महोत्सवको लोकप्रियता बढ्दै जाँदा राज्यका अन्य शहरहरु तथा क्षेत्रीय केन्द्रहरूले पनि आ-आफ्नै ढङ्गका यस्ता उत्सवहरू आयोजना गर्न थालेका छन्। उनीहरू पनि त्यस्ता आयोजनाहरूलाई मार्डि ग्रा नै भन्न रुचाउँछन् र परेड अनि त्यसपछि पार्टीहरूको आयोजना गर्दछन्।"

सन् २०१४ देखि नै एसबीएस टेलिभिजनले मार्डि ग्रा परेडको प्रसारण गर्दै आएको छ। सन् २०१४ भन्दा अगाडी फक्सटेल अन्तर्गतको आफ्नो विश्व सिनेमा च्यानल मार्फत एसबीएसले एलजीबीटीआईक्यू प्लस सिनेमाहरू प्रदर्शन गर्ने गरेको थियो।
एसबीएस अन डिमाण्ड तथा एसबीएस टेलिभिजन मार्फत यो सप्ताहन्तमा आयोजना हुने मार्डि ग्रा परेडको प्रत्यक्ष प्रसारण हेर्न सकिने छ।

