श्रीलङ्काबाट आएका मुरूगप्पन परिवार अहिले अस्ट्रेलियाको सर्वाधिक चर्चित परिवार बन्न पुगेका छन्।
मङ्गलबार बिहान अध्यागमन मन्त्री एलेक्स हकले उक्त परिवारलाई पर्थमा बस्न दिने अनुमति दिने निर्णय आफूले गरेको बताएका छन्। उक्त परिवारले समुदायमा जीवनयापन गर्न पाएता पनि, उनीहरूले पर्थ छाड्न नपाउने लगायतका नियमहरूको पालना भने गर्नुपर्ने छ।
'बिलोविला फ्यामिली' भनेर गत केही समययता उनीहरू सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू दुवैमा उत्तिकै चर्चाका बिषय बनेका छन्। तर उनीहरूको वास्तविक कथा के हो त?
को हुन् बिलोविला परिवार?
नाडेस भनेर पनि चिनिने नादेसलिङ्गम सन् २०१२ को अप्रिल महिनामा अस्ट्रेलिया (क्रिसमस आइल्यान्ड) आइपुगेका थिए भने प्रिया भनेर परिचित कोकिला चाहिँ लगभग त्यसको एक वर्ष पछि सन् २०१३ को अप्रिलमा कोकोस आइल्यान्ड मार्फत अस्ट्रेलिया आइपुगेका थिए।
नादेसलिङ्गम तथा कोकिलानादरसा बिच अस्ट्रेलिया आउनु पूर्व कुनै सम्बन्ध थिएन र उनीहरू दुवै जना डुङ्गा मार्फत बिना भिसा अस्ट्रेलिया पसेका हुन्।
उनीहरूका शुभेच्छुकहरूको कुरा मान्ने हो भने दुवै जना श्रीलङ्कामा तामिल समुदाय माथिका मानिसहरू माथि सरकारी दमनका कारण अस्ट्रेलिया शरण लिन आइपुगेका हुन्।
दुवै जनालाई निकै महिना क्रिसमस आइल्यान्ड स्थित अध्यागमन बन्दी गृहमा राखेपछि ब्रिजिङ भिसामा उनीहरू अस्ट्रेलियाली समुदाय भित्र बस्न पाउने गरी रिहा भए।

यसै क्रममा सन् २०१४ मा उनीहरूको भेट भयो र दुवै वैवाहिक सम्बन्धमा जोडिए।
त्यसपछि उनीहरू क्विन्सल्यान्डको सानो नगर बिलोविला गएर त्यहीँ बस्न थाले।
नाडेसले स्थानीय मासु कारखानामा काम पाए र अन्य समयमा एक स्वयंसेवकको रूपमा पनि दान गरिएका पुराना लुगाफाटा तथा अन्य सामाग्रीहरू बेच्ने पसलमा संलग्न रहे।
उता, प्रिया भने घरमा नै बसेर सन् २०१५ मा जन्मेकी आफ्नी जेठी छोरी कोपिकाको हेरचाहमा लाग्दै स्थानीय अस्पतालका कर्मचारीहरूका लागि खाना पकाइदिने जस्ता काम गर्न थालिन।
आफ्नो स्याहार गरिदिने डाक्टर तथा नर्सका लागि कृतज्ञता स्वरूप उनले तरकारी पकाइदिने गरेकी थिइन्।
यस्तैमा उनीहरूको कान्छी छोरी थरुनिका पनि सन् २०१७ मा जन्मिन्।

तर, अस्ट्रेलियाली अधिकारीहरूले नाडेस तथा प्रिया दुवैको शरणार्थी बारेको दाबी सही नरहेको बताउँदै उनीहरूलाई श्रीलङ्का नै फिर्ता पठाउने निर्णय गर्यो।
तीन वर्ष बिलोविलामा बिताए पछि उनीहरूको ब्रिजिङ भिसाको म्याद सकियो र ५ मार्च २०१८ का दिन अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरू एकाबिहानै उनीहरूको घरमा आएर चारै जना "डिपोर्ट" हुने बताए।
त्यसपछि उनीहरूलाई मेलबर्नको ब्रोडमेडोज स्थित अध्यागमन बन्दी गृह लगियो। त्यहाँ केही दिन बिताएपछि श्रीलङ्का जान तयार रहेको एक विमानमा मुरूगप्पन परिवारलाई अधिकारीहरूले सवार गराए।
तर, नाडेस र प्रियाले ती तीन वर्षका क्रममा निकै साथीहरू कमाउन सफल भएका थिए।

उनीहरूलाई सरकारले फिर्ता पठाउन चालेको कदम विरुद्ध ६,००० भन्दा बढी मानिसहरू बसोबास गर्ने बिलोविलाका बासिन्दाहरूले #होमटुबिलोविला भनेर अभियान नै सुरु गर्नुका साथै थुप्रै नेताहरूसँग "लबी" पनि गरे।
उक्त अपिलमा अहिलेसम्म ५४६,००० भन्दा बढी मानिसहरूले एकबद्धयता जनाइसकेका छन्।
नेताहरूसँग गुहार गर्नुका साथै बिलोविला परिवारका समर्थकहरूले सङ्घीय सरकारको उक्त परिवारलाई देश निकाला गर्ने कदम विरुद्ध कानूनी कदम पनि चालेको थियो।

अदालतले पनि अर्को निर्णय नहुन्जेल उनीहरूलाई अस्ट्रेलियामा नै राख्न भन्यो र मुरूगप्पन परिवार फेरी मेलबर्नको बन्दी गृहमा फर्किए।
फेरी सन् २०१९ को अगस्टमा उनीहरूलाई बिना कुनै चेतावनी श्रीलङ्का जाने हवाईजहाजमा हालियो।
तर अदालतले अन्तिम समयमा आएर जारी गरेको निषेधाज्ञाका कारण नाडेस, प्रिया, कोपिका र थरुनिका सवार विमान बिचैमा मोडियो र डार्विनमा ओर्लियो।
केही समय स्थानीय सैनिक छाउनीमा राखेर सेनाकै विमानबाट उनीहरू चारै जनालाई क्रिसमस आइल्यान्ड स्थित बन्दी गृहमा पुर्याइयो।
मङ्गलवार बिहानसम्म नाडेस र कोपिका त्यहीँ थिए।
प्रियालाई भने थरुनिका बिरामी भएपछि उपचारका लागि पर्थ आउन अनुमति दिइएको थियो।

सरकारको भनाई
गृह मामिला मन्त्रालयका अनुसार बिलोविला परिवारको बारेमा बृहत् रूपमा थुप्रै पटक समीक्षाहरू भइसकेका छन् र बारम्बारको छानबिनबाट उनीहरू (नाडेस र प्रिया) अस्ट्रेलियाद्वारा प्रदान गरिने सुरक्षा दायित्वका लागि योग्य ठहरिएका छैनन्।
सरकारी निर्णयको पुनरावलोकन गरिपाऊँ भनेर मुरूगप्पन परिवारले फेडेरल सर्किट कोर्टमा एक वर्ष अघि गरेको अपिल पनि उक्त अदालतले रद्द गरिदिएको थियो।
उक्त मामिलाको सुनुवाइ गर्दै अदालतले श्रीलङ्काली गृह युद्धका दौरान देश बाहिर काम गर्न गएका नाडेसलाई स्वदेश फर्किँदा कुनै खतरा नभएको सरकारी दलिललाई विशेष रूपमा उल्लेख गरेको थियो।
साथै, अदालतले उनका परिवारका अन्य सदस्यहरू श्रीलङ्कामा नै सुरक्षित रूपमा रहेको बारेमा पनि टिप्पणी गरेको थियो।
बद्लिएको परिस्थिति
सङ्घीय सरकारले क्रिसमस आइल्यान्डमा बिलोविला परिवारलाई उचित हेरचार पुगेको बताउँदै आएको छ।
तर अस्ट्रेलियाली मानवअधिकार आयोगले जारी गरेको एक रिपोर्ट अनुसार उक्त बन्दी गृहमा रहँदा बालबालिकाहरूको मानसिक स्वास्थ्य तथा शारीरिक विकासमा निकै गम्भीर तथा नकारात्मक प्रभावहरू पर्छ।
प्रियाले विभिन्न सञ्चार माध्यमहरूलाई दिएको अन्तर्वार्ताहरूमा पनि आफू डिप्रेसनमा गएको लगायत थरुनिकाको स्वास्थ्य उति साह्रो ठिक नरहने गरेको बताउँदै आएकी थिइन्।
गत सालको अगस्ट महिनामा पेट दुखेको गुनासोका कारण उनलाई पनि पर्थ स्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

यसरी निकै समयसम्म कानूनी कारबाही लम्बिँदै जाँदा र उक्त परिवारका निमित्त मात्र क्रिसमस द्विप स्थित बन्दी गृह सञ्चालन गर्दा ठुलो मात्रामा करदाताहरूबाट प्राप्त रकम खर्च भएको भन्दै आम मानिसहरूमा सरकारी रवैया प्रति विरोधको भावना बढ्दै गएको देखिन्छ।
यही बिचमा कान्छी छोरी थरुनिका निमोनिया ग्रस्त भइन र यथोचित उपचारको अभावमा उनको स्थिति बिग्रँदै जाँदा गत हप्ता आमा प्रियाका साथ उनलाई पर्थको बाल अस्पतालमा भर्ना गरियो।
गत केही दिन यता सार्वजनिक रूपमा निकै दबाब झेल्नुपरे पछि मङ्गलवार बिहान अध्यागमन मन्त्री एलेक्स हकले एक वक्तव्य जारी गरे।
"उक्त श्रीलङ्काली परिवार" भनेर सम्बोधन गरिएको उक्त पत्रमा मन्त्री हकले अध्यागमन कानुन अन्तर्गतको १९७ बी सेक्सनले आफूलाई दिएको अधिकारको प्रयोग गर्दै मुरूगप्पन परिवारलाई पर्थमा सामुदायिक रूपमा बस्न पाउने गरी निर्णय गरेको छु भनिएको छ।
योसँगै हाल जारी कानूनी लडाइँ नटुङ्गेसम्मका लागि नाडेस, प्रिया, कोपिका र थरुनिका अब पर्थमा खुल्ला रूपमा आफ्नो जीवन यापन त गर्न पाउनेछन् तर उनीहरूलाई अन्यत्र जान छुट भने हुने छैन।
उनीहरूले घर बनाएको बिलोविलाका बासिन्दा लगायत अन्य नेता, अधिकारकर्मीहरूले भने सरकारलाई छुच्चो काम गरेको आरोप लगाएका छन्।
सङ्घीय अध्यागमन मन्त्री भने डुङ्गा चढेर अस्ट्रेलिया भित्रने कसैलाई पनि यहाँ स्थायी रूपमा नबसालिने सरकारी नीति परिवर्तन नहुने स्पष्ट पार्छन्।

