अस्ट्रेलियाको कोरोना महामारी उच्च विन्दुमा पुग्दा पनि आफ्नो राज्यको जनजीवन सामान्य नै राख्न सफल रहेका वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क मग्गावनका लागि आगामी शनिवार हुने चुनावमा विजय सुनिश्चित प्राय: नै छ।
अघिल्लो साता मात्रै उनका प्रतिद्वन्द्वी लिबरल पार्टीका नेता ज्याक किर्कपले "हामीले यस पटकको चुनाव जित्न सम्भव छैन" भन्दै हार स्वीकार गरिसकेका छन्।
यसका साथै, अघिल्लो महिना प्रकाशित एक सर्वेक्षणको नतिजा अनुसार नै आउँदो शनिवारको नतिजा आयो भने त विपक्षी लिबरल पार्टी जम्मा दुई सिटमा खुम्चिने छ।

दि विकेन्ड अस्ट्रेलियाको फेब्रुअरी २० को अङ्कमा छापिएको सो सर्वेक्षणको नतिजालाई आधार मान्दा सत्तारुढ दल लेबरले ६८ प्रतिशत मत प्राप्त गर्नेछ भने विपक्षी लिबरल पार्टीले ३२ प्रतिशत भोट पाउनेछ।
वेस्टर्न अस्ट्रेलियाको प्रतिनिधि सभामा हाल लेबरले ४० सिट, लिबरलले १३ सिट र नेशनल पार्टीको ६ सिट रहेको छ। त्यसै गरेर उपल्लो सदनमा भने लेबरको १४, लिबरलको ९, नेशनल अनि ग्रीन्सको ४-४ सिट रहेका छन्।
यसका साथै अन्य साना दलका ५ जना माथिल्लो सदनमा छन्।
माथि भनिए झैँ, यसका लागि वेस्टर्न अस्ट्रेलियाली प्रिमियर मार्क मग्गावनले गत अप्रिलदेखि लिएको कडा राज्य सीमा सम्बन्धी नीति प्रमुख रूपमा जिम्मेवार देखिएको छ।

अस्ट्रेलियाका पूर्वी राज्यहरूमा एक पछि अर्को गर्दै कोभिड-१९ सङ्क्रमणका घटनाहरू सार्वजनिक हुँदै गर्दा, यता वेस्टर्न अस्ट्रेलियामा भने कोरोनाभाइरस सामुदायिक रूपमा फैलेन, सीमा बन्द भए पश्चात्।
केही समय अघि पाँच दिन सतर्कताका लागि भन्दै गरिएको लकडाउन यसको अपवादमा रह्यो तर मानिसहरूले यसलाई सहजै रूपमा लिइदिए।
यसका साथै, पछिल्ला महिनाहरूमा फलामको पैसा अन्तर्राष्ट्रिय बजारमा उक्लिन थालेपछि त वेस्टर्न अस्ट्रेलियाको ढुकुटीमा ३.१ अर्ब डलर बजेट नाफाका रूपमा थपिने स्थिति छ।

चार वर्ष अघि भएको चुनावमा जित हासिल गर्दा मग्गावन खासै परिचित राजनीतिज्ञ थिएनन्।
न्यु साउथ वेल्समा जन्मेका र हुर्केका उनी राजनीतिमा प्रवेश गर्नु अगाडि नौसेनामा एक वकिलका रूपमा कार्यरत थिए। तर, अहिले उनी टिकटकदेखि युवाहरूको ट्याटुसम्ममा छाएका छन्।
राजनैतिक विश्लेषक पिटर केनेडी भन्छन् कि यदि उनलाई सानो मन भएका भनेर आक्षेप लाग्छ भने उनले वेस्टर्न अस्ट्रेलियाली मानसपटलमा चाहिँ अवश्य राम्रो पकड बनाएको भन्न मिल्छ।
"उनले जसरी कोभिड-१९ माथि राम्रो नियन्त्रण राख्न सके, त्यसले उनको कार्यक्षमता र निर्णय लिन सक्ने क्षमता कति राम्रो छ भनेर देखिन्छ," केनेडीले भने।
"र, जति साह्रो पूर्वी राज्यहरूका तर्फबाट उनको आलोचना हुन्छ, सोही अनुपातमा उनको लोकप्रिय बढिरहेको छ।"

मार्क मग्गावन आफ्नो राज्यमा कति लोकप्रिय छन् भन्ने मापन उनले क्यानबेर्राबाट आएका आफ्ना पार्टी प्रमुख एन्थोनी अल्बनिजी बिना नै चुनावी सभाहरूमा गएको दृश्यबाट प्रस्ट हुन्छ।
सामान्य रूपमा, राज्य सरकारको चुनाव हुँदा सङ्घीय राजनेताहरू आफ्नो पार्टीका उमेद्ववारहरुलाई सघाउन जान्छन्। तर, वेस्टर्न अस्ट्रेलिया मार्क मग्गावनको एकछत्र राज्य भएको छ, जहाँ उनकै पार्टीका सङ्घीय छाया सरकार प्रमुखले पनि आफ्नो भूमिका खोज्नुपर्ने अनौठो समय देखा परेको छ।
लिबरलको रणनीति

हार स्वीकार गरिसके तापनि किर्कप अझै अन्योलमा रहेका भोटरहरूलाई आफ्नो तर्फ आकर्षित गर्न अनेक प्रयास गर्दै देखिन्छन्।
केही समय यता उनले लेबरद्वारा राज्य संसद् "पूर्ण कब्जा" भए के हुन्छ भन्दै हिँडेका छन् र मार्क मग्गावनले कुनै गल्ती गरी पो हाल्छन् कि भनेर कुरेर बसेको भान हुन्छ।
यही हप्ता मात्र वेस्टर्न अस्ट्रेलियाली प्रिमियरले विरलै गर्ने गल्ती गरे र भने, "प्यानडेमिक पछि पनि राज्य छिर्ने मानिसहरूलाई ट्र्याक गरिनेछ।"
यसै गल्तीलाई समातेर विपक्षी नेता किर्ककले प्रिमियर मग्गावनलाई आफ्नो भनाई फिर्ता लिन बाध्य पारे।
अनि, हार स्वीकार गरेर उनले लिबरल भोटरहरूलाई - ए हामी लाजै मर्ने गरी हार्न लाग्यौँ, लेबरमा भोट गर्नु भन्दा त अलिकति साख जोगाउनु नै उचित हुन्छ भन्ने सन्देश दिन खोजेको भान हुन्छ।
यस कदमले काम गर्छ कि गर्दैन, त्यो त अबको केही दिनमा थाहा हुने नै छ।

लिबरलका अरू समस्या पनि छन्। जस्तै गएको राज्य चुनाव यता तीन-तीन पटक पार्टी नेतृत्वमा भएको परिवर्तन।
५० वर्ष भन्दा बढी समय राज्यको राजनीति बारे विश्लेषण गरिसकेका केनेडीका अनुसार लिबरल पार्टीको अवस्था निकै नै नाजुक छ।
"सन् १९४५ मा लिबरल पार्टीको गठन भएयता यत्तिको कमजोर स्थितिमा वेस्टर्न अस्ट्रेलियामा यो पार्टी पुगेको थिएन," उनी भन्छन्।
लिबरल पार्टी समक्ष अब सन् २०२५ मा हुने राज्य संसद्को चुनावसम्ममा प्रतिस्पर्धात्मक कसरी बन्न सकिन्छ भनेर प्रश्न पनि चुनौतीका रूपमा खडा भएको छ।
जन कर्टिन इन्स्टिच्युट अफ पब्लिक पोलिसिका कार्यकारी निर्देशक जन फिलिमोर क्विन्सल्यान्डमा लेबरको पुनर् उदयले राजनीति अनेकौँ सम्भावनाको खेल रहेको भनी बुझ्नुपर्ने बताउँछन्।

सन् २०१२ को राज्य चुनावका क्रममा जम्मा सात सिटमा खुम्चिएको लेबरलाई सन् २०१५ आइपुग्दासम्ममा अनास्टेसिया पलाशेले सत्तामा ल्याई पुर्याइदिइन।
प्रोफेसर फिलिमोर भन्छन् कि प्रमुख राजनैतिक दल कहिल्यै पनि झ्याप्पै भएर निभ्दैनन्।
"अरू राज्यहरूमा पनि प्रमुख पार्टीहरूको पत्ता साफ भएको इतिहास छ र फेरी उनीहरू सत्तामा फर्किन सकेका छन्," उनले भने।
"यस कारण पनि वेस्टर्न अस्ट्रेलियामा लिबरल पार्टीको अन्त्य भएको छ भनेर म चाहिँ भन्दिन। तर, यो उनीहरूका लागि अवश्य पनि अफ्ठेरो अवस्था भने पक्कै हो।"
अब, शनिवार हुने चुनावको नतिजाको केन्द्र विन्दुमा प्रमुख प्रतिपक्ष लिबरलका नेता किर्कपले आफ्नो सिटमा जित हात पार्छन् कि पार्दैनन् भन्ने हो।
डअजभिल चुनावी क्षेत्रलाई प्रतिनिधित्व गर्ने उनले उक्त सिट गएको चुनावमा केवल ०.८ प्रतिशतको मतान्तरले मात्रै आफ्नो पोल्टामा पारेका थिए।
यसका अलावा, हिलारिस नामक चुनावी सिट लिबरलका पिटर कट्सामबानिसले केवल ०.४ प्रतिशतको मतान्तरले अघिल्लो पटक हात पारेका थिए। यो सहित विगत तीन दशक यता लेबरले कहिल्यै हात नपारेको स्कारबोरो सिट पनि लिबरल पार्टीको पकडबाट गुम्ने बताइएको छ।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
