अरुण समदलका लागि वेस्टर्न अस्ट्रेलियाको संसद सम्मको यात्रा त्यहाँ सेवा दिइरहेका अन्य संसद भन्दा भिन्न हुनेछ ।
सन् २००६ मा २७ वर्षको उमेरमा अस्ट्रेलिया आउनु अघि लाइबेरीयामा भएको पहिलो गृहयुद्धका दौरान उनको अधिकांश जीवन त्यहाँका शरणार्थीलाई राखिने शिविरहरूमा बितेको थियो।
पेसाले साइबर सुरक्षा विज्ञ रहेका समदलको अस्ट्रेलियामा बितेका पछिल्ला १५ बर्ष अफ्रिकी शरणार्थीहरूलाई पर्थको उत्तर पूर्वी क्षेत्रहरूमा पुनर्वासमा सहयोग गर्नमा बितेको छ ।
यस हप्ता वेस्टर्न अस्ट्रेलियामा हुन लागेको चुनावका लागि लिबरल दलबाट मिराबूका क्षेत्रबाट चुनाव लड्न उनी चुनिएका छन् । र उनको यो चुनावी यात्रा उनको समुदाय प्रतिको कामको निरन्तरता भएको उनी बताउँछन्।
तर मिराबू क्षेत्र लेबरको पकड क्षेत्र भित्र पर्दछ। र समदलका लागि चुनावमा जित हासिल गर्नका लागि कुनै चमत्कारको आवश्यकता पर्ने छ।

यता दक्षिणतर्फ रिभरटनमा भने लेबरका प्रतिनिधि डाक्टर जगदीश कृष्ननका लागि भने यस पटकको निर्वाचनमा जित्ने सम्भावना अधिक भएको बताइन्छ।
रिभरटन क्षेत्र विपक्षी लिबरलको पकड क्षेत्र मानिए तापनि कोभिड-१९ का बेला मार्क म्याकगोवनका लागि देखिएको समर्थनले यस पटकको निर्वाचनमा लेबरको मत माथि हुन सकिने देखाएको छ।
भारतको तामिलनाडु स्थित कोटागीरीको चियाबारीबाट सुरु भएको “डा. जग्स” भनेर चिनिन मन पराउने डाक्टर जगदीश कृष्ननको आप्रवासनको यात्रा, नयाँ सफलता अर्को एउटा कथा बन्न सक्छ।
सन् २००६ मा अस्ट्रेलिया आएका डाक्टर कृष्नन हाल थुप्रै क्लिनिकहरूका मालिक हुन्। उनले यसपालिको चुनावमा जित हासिल पारेमा अङ्ग्रेजी पहिलो भाषा नभएका थुप्रै आप्रवासीको उनले ससंदमा प्रतिनिधित्व गर्ने छन्।

अस्ट्रेलियाली तथ्याङ्क विभागको सन् २०१६ को तथ्याङ्क अनुसार वेस्टर्न अस्ट्रेलियाका करिब एक तिहाइ बासिन्दाहरूले घरमा अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्छन् भने करिब ४० प्रतिशत राज्यका जनसङ्ख्या विदेशमा जन्मिएका छन्।
तर हाल सम्म कुनै पनि प्रमुख दलले प्रतिनिधिहरू चुन्दा विविधतामा भने ध्यान नदिएको देखिन्छ।
लेबरले वेस्टर्न अस्ट्रेलिया ससंदको तल्लो सदनका लागि बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको बताइन्छ। तर एसियाली वा अफ्रिकी समुदायका केबल ५ जना सदस्यलाई मात्र संसद सदस्यका रूपमा भित्राउने सम्भावना छ।
आदिवासीका हकमा भने एक मात्र संसद सदस्य रहने सम्भावना छ।
बहु सांस्कृतिक समुदायको प्रतिनिधित्व पर्याप्त मात्रामा नहुनु वेस्टर्न अस्ट्रेलियाको राजनीतिका लागि कुनै नौलो कुरा होइन तर ठुला भनिएका राजनीतिक दल वा सङ्गठनहरूले यसमा समस्या रहेको देख्न हिचकिचाउँछन्।
अस्ट्रेलियाको जातीय भेदभाव सम्बन्धी संस्था अस्ट्रेलियन रेस डिस्क्रिमिनेसन्का कमिसनर चिन टान गैर युरोपियन मूलका राजनीतिक नेताहरूको देशैभर अभाव रहेको बताउँछन्।

त्यस्तै, सांसदले उनीहरूले सेवा दिने समुदायको प्रतिनिधित्व नगर्दा प्रजातान्त्रिक सिद्धान्तहरूमा प्रभाव पर्ने पनि उनको धारणा छ।
बहुभाषिक वा बहु सांस्कृतिक समुदायको प्रतिनिधित्व हुने गरी कोटा व्यवस्था लागु हुनु पर्नेमा आफ्नो समर्थन रहने उनी बताउँछन्।
उनी भन्छन् कि राजनीतिक दलहरूले विविध समुदायमा उदाउँदै गरेका नेताहरूलाई बढी श्रोत र समय दिनु आवश्यक छ।
मतदाताहरूले अङ्ग्रेजी बाहेक अन्य भाषामा चुनावको बारेमा जानकारी प्राप्त गर्नका लागि वेस्टर्न अस्ट्रेलियाको इलेकटोरल कमिसन वेबसाइटमा जान सक्ने छन्।





