राष्ट्र सङ्घका स्वास्थ्य प्रमुख टेड्रस एडनम गेब्रिएससले विश्व भरका युवाहरूलाई आफूहरू कोरोना भाइरसको जोखिमबाट मुक्त छु भन्ने भ्रम नराख्न भनेका छन्।
उनले युवा वर्ग प्रति लक्षित गर्दै भने, "तपाइहरू अपवाद होइन। यो भाइरसले तपाइलाई हप्तौँ सम्म अस्पतालमा राख्न सक्छ र ज्यानै लिन पनि सक्छ।"

गेब्रिएससले विश्वभर २ लाख ७२ हजार भन्दा बढी भाइरस सङ्क्रमण भएको पुष्टि भइसक्दा र यसबाट ११ हजार जनाले ज्यान गुमाएको बताइदा सङ्क्रमण नियन्त्रणका लागी राष्ट्रहरू बिचको समझदारी मात्रले काम नगर्ने भन्दै अब उमेर समूहका बिच पनि एकता आवश्यक रहेको बताएका छन्।
पछिल्लो विवरण :
पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित भनिएको इटलीमा एक दिनमा नै यसका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६२७ ले बढेर जम्मा ४०३२ पुगेको छ। एक दिनमा भएको १८.४ प्रतिशतको यो वृद्धि अहिले सम्मकै सबैभन्दा बढी हो।
इटलीमा सङ्क्रमणको ४ हप्तामा नै कोभिड-१९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या चीनको भन्दा बढी देखिएको छ। शुक्रवार मात्र थप ६ हजारमा सङ्क्रमण भेटिए पछि सङ्क्रमितहरूको सङ्ख्या ४७,०२१ पुगेको छ।

त्यस्तै स्पेनमा शुक्रवार थप २३५ मानिसहरूले ज्यान गुमाएका छन् भने मृतकहरूको कुल सङ्ख्या १,००० नाघी सकेको छ।
बेलायतमा प्रधान मन्त्री बोरिस जोन्सनले भिडभाड हुने पब तथा रेस्टुरेन्टहरू बन्द गर्न भनेका छन्। बेलायतमा सङ्क्रमितहरूको सङ्ख्या अहिले सम्म ३,९८३ रहेको बताइदा यसका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या भने १७७ पुगेको छ।
अमेरिकामा पनि दुई प्रमुख राज्यहरूले कोरोना भाइरस सङ्क्रमणका बिच कडा प्रतिबन्धहरू लागु गरेका छन्।
न्यु योर्क र क्यालिफोर्नियाले अत्यावश्यक कार्य बाहेकका सम्पूर्ण कामदारहरूलाई घरमा नै बस्न भनेका छन्।
न्यु योर्कमा अहिले सम्म ७,१०२ सङ्क्रमण पुष्टि भएको छ भने क्यालिफोर्नियामा १,००० सङ्क्रमित रहेको र यसका कारण १९ जनाले ज्यान गुमाई सकेका छन्।

अमेरिकामा अहिले सम्म २०० भन्दा बढीको मृत्यु भएको छ भने १४,६०० मा कोभिड-१९ सङ्क्रमण देखिसकेको छ।
अस्ट्रेलियामा:
९३० जनामा सङ्क्रमण देखिएको अस्ट्रेलियामा सबैभन्दा बढी कोभिड-१९ सङ्क्रमितहरू न्यु साउथ वेल्समा देखिएको छ।
सङ्क्रमितहरूको सङ्ख्या :
न्यु साउथ वेल्स: ३८२
भिक्टोरिया : २५१
क्विन्सल्याण्ड : १८४
पश्चिम अस्ट्रेलिया: ६४
दक्षिण अस्ट्रेलिया : ५०
तास्मनिया: १०
अस्ट्रेलियन क्यापिटल टेरिटरी: ९
नर्दर्न टेरिटरी : २

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
