SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: न्यु साउथ वेल्समा थप एक व्यक्तिको मृत्यु

स्वास्थ्य अधिकारीहरूका अनुसार न्यु साउथ वेल्स राज्यमा बिहीबार राती थप एक व्यक्तिको कोभिड-१९ बाट मृत्यु भएको छ।

St Vincent's Hospital in Sydney.
St Vincent's Hospital in Sydney. Source: Getty

2 min read

Published

Updated



Skip to article content

न्यु साउथ वेल्समा बिहीबार राती थप एक ८१ वर्षिया महिलाको मृत्युका साथ उक्त राज्यमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ।

ती महिला सिड्नी स्थित राइड अस्पतालमा रहँदा, कोभिड-१९ बाट सङ्क्रमित अन्य व्यक्तिसँग निकटको सम्बन्ध रहेको बताइएको छ।

पर्थमा एकजनाको मृत्यु सहित यस पछिल्लो घटनासँगै अस्ट्रेलियामा कोरोनाभाइरसको सङ्क्रमणबाट ७ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।

बिहीबार मात्र न्यु साउथ वेल्समा थप ४६ जना सङ्क्रमित भएको अधिकारीहरूले पुष्टि गरेका छन् र योसँगै उक्त राज्यमा हालसम्म कुल ३५३ जना कोभिड-१९ बाट पीडित भएको सरकारी तथ्याङ्क छ।

अस्ट्रेलियामा कोरोना प्रकोप सुरु भएदेखि न्यु साउथ वेल्स राज्यमा मात्र हालसम्म ४०,००० भन्दा बढी मानिसहरूको स्वास्थ्य परीक्षण भइसकेको अधिकारीहरूले जनाएका छन्।

न्यु साउथ वेल्स हेल्थका अनुसार सङ्क्रमित मध्ये ६ जनाको सघन उपचार कक्षमा हाल रेखदेख भइरहेको छ र हिजो मात्र राज्य सरकारले कोभिड-१९ विरुद्धको आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउन एक केन्द्रीय सञ्चालन संयन्त्रको निर्माण गरिने बताएको थियो।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now