सेल्फ आइसोलेसन र अस्ट्रेलियामा यसको निर्देशन पालना नगर्दा हुने सजाय

केही दिन अघि प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया आउने सबै मानिसहरूलाई सेल्फ आइसोलेसनमा बस्नै पर्ने उर्दी जारी गरेपछि यो सबैको चासोको विषय भएको छ। तर खासमा सेल्फ आइसोलेसन भनेको चाहिँ के हो त?

Passengers arriving on flights into Australia will be forced to self-isolate for two weeks under new restrictions announced by the prime minister.

新抵步旅客將被送到酒店,要接受爲期14天的自我隔離程序。 Source: AAP

१५ मार्च २०२० मध्यरात यता, विदेशबाट अस्ट्रेलिया आउने र अस्ट्रेलियामा नै भए पनि, कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूको संसर्गमा रहेका सबै व्यक्तिहरूलाई अनिवार्य रूपमा १४ दिनसम्म अलग्गै वा सेल्फ आइसोलेसनमा बस्न आदेश जारी गरिएको छ।

उक्त आदेशलाई अटेर गर्ने मानिसहरूलाई जरिवाना, जेल सजाय वा दुवै हुनसक्ने प्रावधानहरू छन् र विभिन्न राज्यमा ती फरक-फरक रूपमा लागु हुन्छन्।

नेपालबाट अस्ट्रेलिया आएका एक २० वर्षीय युवकलाई सेल्फ आइसोलेसनमा बस्न भने पनि उनी आफ्नो कलेज र काम गर्ने होटेल पुगेको खबर पछि, तास्मेनियाकी स्वास्थ्य मन्त्री सेरा कर्ट्नीले त्यही बखत नै, आफ्नो सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई थप फैलन नदिन कडा मापदण्ड लागू गर्न सक्ने टिप्पणी गरेकी थिइन्।

तास्मेनियाको सार्वजनिक स्वास्थ्य ऐनको दफा ४२ अनुसार मानिसहरूले त्यसरी स्वास्थ्य अधिकारीहरूले दिएको निर्देशन पालना नगरिएको पाइएमा अधिकतम ८,४०० सम्म जरिवाना तिर्नुपर्नेछ।

अब, अस्ट्रेलियामा नै सबैभन्दा बढी कोरोनाभाइरस सङ्क्रमण देखिएको राज्य - न्यु साउथ वेल्सको कुरा गरौँ - यहाँको स्वास्थ्य विभागका अनुसार सेल्फ आइसोलेसनमा बस्न दिइएको आदेश विरुद्ध जाने मानिसहरूलाई ११,००० डलर जरिवानाको साथ-साथै ६ महिनासम्म जेल सजाय हुनसक्छ।

त्यसै गरी, भिक्टोरियामा २०,००० डलर र साउथ अस्ट्रेलियामा चाहिँ २५,००० डलरसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ।

वेस्टर्न अस्ट्रेलियामा त यस्ता सार्वजनिक स्वास्थ्य आदेशको बर्खिलाप गरेमा एक वर्षको जेल सजाय वा ५०,००० डलरसम्म जरिवाना हुन्छ।

यस मामिलामा क्विन्सल्याण्ड सरकार अलिक नरम देखिएको भान हुन्छ।

उसका अनुसार १४ दिने सेल्फ आइसोलेसन सूचना उल्लङ्घन गर्ने व्यक्तिहरूसँग सरकारले नजिकबाट काम गर्नेछ र त्यस्ता मानिसहरूलाई उनीहरूको दायित्व प्रति सजग गराउने मात्र होइन त्यसरी अलग्गै नबस्दा समुदायका अन्य सदस्यहरू माथि पर्न जाने असर बारे पनि अवगत गराउने छ।

तर त्यसरी सम्झाई बुझाइ गर्दा पनि नमाने राज्यको सार्वजनिक स्वास्थ्य ऐन - २००५ अन्तर्गत १३,३४५ डलरसम्म जरिवाना तिर्नुपर्ने बताइएको छ।

उता, देशकै राजधानी अवस्थित अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)मा सोमवार सार्वजनिक स्वास्थ्य सङ्कटकाल लागू गरिएपछि त्यहाँ सेल्फ आइसोलेसनमा बस्न आदेश पाएका मानिसहरूले त्यसो नगरेमा ८,००० सम्म जरिवाना तिर्नुपर्नेछ।

नर्दन टेरिटरीको अधि सूचित रोग ऐन अन्तर्गत सार्वजनिक स्वास्थ्य आदेश नमाने १,२५६ डलर जरिवाना वा छ महिनासम्मको जेल सजाय हुन सक्नेछ।

अस्ट्रेलियाभर नै यस्ता कानूनहरू इतिहास मै पहिलो पटक लागू गरिएकाले यी कसरी अनुगमन भएका छन् र यसको उल्लङ्घन गर्ने मानिसहरूलाई कुन हदसम्मको कारबाही हुनेछ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन।

क्विन्सल्याण्ड सरकार कै जस्तो नरम नीति अवलम्बन नगरेता पनि भिक्टोरियाका प्रिमियर ड्यानियल एन्द्रुज र एसीटीका मुख्यमन्त्री एन्ड्रु बार्र मानिसहरूले यी नियमहरू समुदायको हितका लागि ल्याइएको बुझेका कारण तिनको पालना राम्ररी नै हुने विश्वास व्यक्त गर्छन्।

“म के स्पष्ट पार्न चाहन्छु भने हामी सार्वजनिक स्वास्थ्य ऐन अन्तर्गतका निर्देशनहरू अन्तिम उपायका रूपमा मात्र प्रयोग गर्नेछौँ,” बार्रले सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गर्दै सोमवार भनेका छन्।

उता, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले भने यसबारेमा अलिक कडा धारणा व्यक्त गर्दै नियम उल्लङ्घन गर्ने मानिसहरूको बारेमा उजुरी दिन आव्हान गरेकी छिन्।

तर, यो सेल्फ आइसोलेसन भनेको चाहिँ के हो त?

विदेशबाट अस्ट्रेलिया आउने जो कोहीलाई पनि सम्भव भएसम्म आफ्नै निजी यातायातका साधन प्रयोग गरेर आफ्नो घर वा होटेल जान प्रोत्साहित गरिएको छ।

यसरी आफ्नै सवारीसाधन प्रयोग गर्दा समुदायका अन्य सदस्यहरूसँग कम सम्पर्क हुने भएकाले निजी यातायातका साधनमा जोड दिइएको हो।

आफ्नो घर वा गन्तव्य पुगेपछि भने, कानूनत: तपाईँ १४ दिनसम्म त्यहीँ रहनुपर्छ।

ब्रिसबेनमा जनरल फिजिसियनको रूपमा कार्यरत वेंडी बर्टनका अनुसार १४ दिनसम्म अलग्गै एउटै स्थानमा बस्न भनिएको आदेशको अर्थ पसल, पार्क वा अन्य सार्वजनिक स्थलसम्म नजानु हो।

त्यसै गरी, तपाईँ कुनै पनि पारिवारिक जमघट वा साथीभाइलाई भेट्न जानु हुँदैन।

Grocery bags left at the homes of people self quarantining.
Grocery bags left at the homes of people in isolation. Source: Supplied

“एक्लै हुनुहुन्छ र बाहिरबाट खाना र अन्य दैनिक उपभोग्य वस्तु मगाउनु भएको छ भने ती सामान लिएर आउने मानिस गइसकेपछि मात्र तपाईँ ढोका बाहिर जानुपर्छ,” उनी भन्छिन्।

परिवार वा अन्य साथीभाइसँग मिलेर बस्नुभएको छ भने चाहिँ एउटा अलग्गै कोठामा बस्न र भिन्नै शौचालय प्रयोग गर्ने बारे सोच्न जानकारहरू बताउँछन्।

त्यस्तो अवस्थामा भान्सा कोठा छिर्नु परेमा घरमा बस्ने अन्य सबै जना अन्यत्र लागेको बेलामा जान र प्रयोग पछि राम्ररी सफा गर्न आधिकारीहरूले सुझाएका छन्।

घरमा बाल-बच्चा छन् भने थप मुस्किल हुने पक्का-पक्की भएकाले सम्भवभएसम्म होटेलमा आइसोलेसन समयावधि बिताउनु उपयुक्त हुने बताइएको छ।

त्यो सम्भव नभए घरका अन्य सदस्य आफ्ना अरू आफन्तजनका जाने र आइसोलेसनमा बस्नुपर्ने मानिसलाई घर खाली गरिदिने पनि गर्न सकिने स्वास्थ्य अधिकारीहरूको भनाई छ।

यी दुवै कुरा गर्न सम्भव नदेखिए आइसोलेसनमा बस्नुपर्ने मानिसहरू एकदमै सतर्क रहेर बस्नुपर्ने राय अधिकारीहरूको छ।

 

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Share

4 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now