अस्ट्रेलियाली तथ्याङ्क विभागले केही समय अघि जारी गरेको डाटा केलाउँदा, १५ देखि २४ वर्ष उमेर समूहका किशोर एवं युवाहरूले राज्यको कुल जनसङ्ख्याको केवल १५ प्रतिशत हिस्सा ओगटे पनि, उनीहरू मध्ये ३८ प्रतिशत रोजगारी तास्मानियामा गुमाएको देखियो हो।
मेरिना महर्जन नेपालबाट अस्ट्रेलिया सरेको पनि चार वर्ष भयो र अघिल्लो साल जुलाई महिनामा उनी एउटा एड्भान्स्ड लीडरशिप कोर्स गर्न तास्मानियाको राजधानी होबार्ट सरिन्।
त्यसो त उनले अकाउण्टिङ्गमा आफ्नो अध्ययन पुरा गरेकी हुन् तर महामारी सुरु हुनु अघिसम्म पनि उनले आफ्नो पढाइ अनुसारको काम पाउन सकिनन्।
निकै प्रयास पछि मेरिनाले क्लिनरको रूपमा काम त पाइन् तर त्यो पनि कोरोनाभाइरस महामारी पछि घटेको छ।
महर्जन भन्छिन् कि उनको काम ९० प्रतिशतसम्म घटेको छ।
“गएको तीन महिनामा मैले शायदै काम गरेको छु, र मेरा जीवनसाथी मसँग नभएका भए आर्थिक रूपमा मलाई एकदमै अप्ठेरो हुन्थ्यो,” उनले भनिन्।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस्को होबार्ट स्थित कार्यालयका महाप्रबन्धक रशिक श्रेष्ठका अनुसार महामारी सुरु हुनु भन्दा अगाडीदेखि नै उनका कतिपय ग्राहकहरूले होबार्टमा काम पाउन छाडी सकेका थिए।
“मैले धेरै जना विद्यार्थीहरूलाई काम पाउन गाह्रो भएको देखेँ, कुनै एक क्षेत्र विशेषमा होइन, सबैजसो क्षेत्रमा,” श्रेष्ठले भने।
“अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अहिले निकै कठिन छ, धेरैलाई घरैबाट फीको पैसा आउने भए पनि अब त त्यसरी पैसा पठाउन अभिभावकहरू पनि सङ्घर्ष गरिरहेका छन् अनि विद्यार्थीहरू पनि कि त कामबाट निकालिएका छन् कि त बेतलबी बिदामा बसालिएका छन् जस कारण उनीहरूलाई जीविका धान्न धौ धौ नै छ।”
तर, काम नपाउने समस्या अन्तर्राष्ट्रिय विद्यार्थीहरू मात्रको होइन।
मध्य होबार्ट सहर भन्दा केही पर बस्ने स्टेसी वाटकिन्सले हस्पिट्यालिटी सम्बन्धी काम खोजेको डेढ वर्ष पुग्न लागेको छ।

उनी पनि महर्जन र श्रेष्ठकै जस्तो अनुभव सुनाउँछिन् र भन्छिन्, “पहिले नै गाह्रो थियो, अहिले त झन् कामै छैन।”
तर गएको आठ महिनादेखि वाटकिन्स, होबार्ट युथ सर्भिस कोलोनी फोर्टी सेभेनद्वारा सञ्चालित “ट्रानजीसन् टु वर्क” मा सहभागी छिन् र भविष्य प्रति आशावादी देखिन्छिन्।
उनले आफूमा बढेको आत्मविश्वासमा उक्त कार्यक्रमको हात रहेको पनि बताइन।
घरै नजिकैको एक पबमा अघिल्लो हप्ता उनलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो भने यो सातादेखि परीक्षणका रूपमा उनको शिफ्ट सुरु भएको छ।
“मलाई अन्तर्वार्तासम्म पुग्छु भन्ने लागेकै थिएन, त्यो पनि हस्पिट्यालीटीमा अहिलेको अवस्थामा,” १९ वर्षिया स्टेसी वाट्किन्सले भनिन्।
महामारी सुरु भएयता ट्रानजीसन् टु वर्क कार्यक्रममा थप २०० जना सहभागी भइसकेको कोलोनी फोर्टी सेभेनकी प्रमुख कार्यकारी अधिकृत ड्यानी सटन बताउँछन्।
“उहाँहरू मध्ये धेरै जना आइसोलेसनका बखत बन्द भएका उद्ध्योगहरूमा काम गर्नु हुन्थ्यो” उनले भने।

“तर पनि मलाई लाग्दैन कि हामीले प्रभावित सबैको सङ्ख्या यसबाट निर्धारण गर्न सक्छौँ भनेर किनभने धेरै युवाहरूलाई जबकीपर लगायतको सहायताहरू उपलब्ध छ र हामीले यहाँ मद्दत गर्ने भनेको चाहिँ प्रमुख रूपमा सेन्टरलिङ्क मार्फत जबसीकर भुक्तानी लिइरहेका मानिसहरू हुन्।”
महामारी सुरु हुनु अगाडी राष्ट्रिय रूपमा युवा बेरोजगारीको दर ११.२ रहेकोमा तस्मानियामा भने सो दर १५.९ प्रतिशत रहेको दि ब्रदरहूड अफ सेन्ट लरेन्स गत मार्च महिनामा सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख थियो।
तास्मानियाका युवाहरूलाई प्रतिनिधित्व गर्ने प्रमुख संस्था - युथ नेटवर्क अफ तास्मानियाकी प्रमुख तानिया हन्टको उक्त राज्यमा रहेको युवा बेरोजगारी दरलाई सम्बोधन गर्न सो उमेर समूह लक्षित नीतिबाट मात्र सम्भव हुने विश्वास छ।
“हामी के पनि भन्छौँ भने मानिसहरूलाई तास्मानिया सर्वाधिक द्रुत गतिमा बढिरहेका उद्योगहरू के-के हुन् भनेर बुझ्नुहोस्, हामीलाई थुप्रै युवा साथीहरूले त्यसबारे केही थाहा नभएको बताइरहनुभएको छ।”

उनी अगाडी भन्छिन् कि तास्मानियाको युवाहरूलाई ध्यानमा राखेर रोजगारीको अवसर सृजना हुनुपर्छ।
“सबभन्दा महत्त्वपूर्ण कुरा भनेको युवाहरूलाई उनीहरूको समुदायमा नै रहेका रोजगारदातासँग मिलाइदिनु हो, जसबाट उनीहरूले सम्बन्धहरू स्थापित गर्न र के-कस्ता अवसरहरू छन् भनेर थाहा पाउन सक्छन्,” हन्टले भनिन्।

उता, तास्मानियाका शिक्षा तथा तालिम मन्त्री जेरेमी रक्लीफले एक विज्ञप्ति जारी गर्दै युवा बेरोजगारी माथि कोभिड-१९ को प्रभावलाई लिएर राज्य सरकार अनभिज्ञ नरहेको बताएका छन्।
“सरकारसँग युवाहरूको रोजगारी एवं तालिमको अवसर बढाउने उद्देश्यका साथ विविध कार्यक्रमहरू छ,” सो विज्ञप्तिमा उल्लेख छ।
तिनै पहलहरू मध्येको एक - तासटेफको “स्किल अप” अभियान अन्तर्गत आफ्नो सीप बढाउन चाहने मानिसहरूलाई निःशुल्क तालिम प्रदान गरिन्छ भने स्किल्स म्याचिङ्ग सर्भिसले कामका लागि तयार रहेको जनशक्तिलाई रोजगारदातासँग मिलाइदिने काम गर्छ।
अनि, र्यापिड रेस्पन्स स्किल्स इनिसिएटिभले चाहिँ कामबाट हटाइएका मानिसहरूलाई तालिमको लागि भनेर तीन हजार डलर उपलब्ध गराउँछ।

हाल तास्मानियामा वृद्ध स्याहार, निर्माण र उत्पादन क्षेत्रमा रोजगारीका अवसरहरू निकै बढिरहेको बताइँदै गर्दा २७ वर्षिया ड्यानिएला सर्टिफिकेट टु इन कन्स्ट्रक्सन गर्दै छिन्।
ड्यानिएलाका अनुसार महामारीका कारण आफूले सही निर्णय लिएको अनुभूति उनलाई छ र अगस्टमा आफ्नो पढाई सकेपछि उनलाई एप्रेण्टिशिप पाउन आसा।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

