SKIP TO MAIN CONTENT

न्याभ कप क्रिकेट प्रतियोगिताको १५ औँ संस्करण आइतबारदेखि मेलबर्नमा सुरु हुने

NAV Cup Cricket 2020 Melbourne Australia Nepali Cricket
Source: NAV

नेपलिज एसोसिएसन अफ भिक्टोरियाद्वारा वार्षिक रूपमा आयोजना हुँदै आएको न्याभ कप क्रिकेटको १५ औँ संस्करण मेलबर्नमा आगामी आइतबारदेखि सुरु हुँदैछ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

नेपलिज एसोसिएसन अफ भिक्टोरियाद्वारा वार्षिक रूपमा आयोजना हुँदै आएको न्याभ कप क्रिकेटको १५ औँ संस्करण मेलबर्नमा आगामी आइतबारदेखि सुरु हुँदैछ।


डेढ दशक लामो इतिहास बोकेको न्याभ कप क्रिकेट मेलबर्न अनि आसपासका क्षेत्रमा बस्ने नेपालीहरूलाई आफ्नो खेल प्रतिभा देखाउने डबलीका रूपमा परिचित छ।

१२ ज्यानुवरी देखि प्रत्येक आइतबार बिहानी र दिवा सत्र गरेर दिनको चार-चार खेल हुने न्याभ कप क्रिकेट टी-ट्वेन्टी प्रतियोगिता हो।

सात क्लबका १० टोली सम्मिलित यस पटकको न्याभ कपमा ब्रिलीयन्ट क्रिकेट क्लब, एक्स्पर्ट क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, हिमा अस क्रिकेट क्लब, हिमालयन क्लब, रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लबले भाग लिंदैछन् जसमा हिमालयन, रोयल राइनोज र सगरमाथाले प्रत्येकले दुई-दुई टोली मैदानमा उतार्ने न्याभका उपाध्यक्ष समेत रहेका र प्रतियोगिता सञ्चालनको जिम्मा पाएका सन्तोष बस्ताकोटीले एसबीएस नेपालीलाई बताए।

साबिकको विजेता नारे किंग्स भने विशेष कारणवश प्रतियोगिताको यस संस्करणमा सहभागी नहुने बताइएको छ।

“यो दुखको कुरा हो। वहाँहरू डिफेनडिङ्ग च्याम्पियन भएर पनि यो पाली उहाँहरूको केही पर्सनल कारणका बिच सहभागी हुन पाउनु भएको छैन,” बस्ताकोटीले भने।

NAV Cup Cricket Melbourne Winners Narre Kings Cricket Club Nepali
गत बर्षका बिजेता नारे किंग्स ट्रफीका साथ Source: NAV

उक्त टोलीको सट्टा, १९ वर्ष मुनिका खेलाडीहरू सहभागी हुने अन्डर नाइनटीन टोलीबाट नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका एक जना अनुभवी खेलाडी - यसवन्त सुवेदी संलग्न हिमा अस क्रिकेट क्लब अन्तर्गतको एक नयाँ टोलीले यस पटकको न्याभ कपमा भाग लिन लागेको पनि उनले खुलाए।

“हिमा असबाट निकै अनुभवी खेलाडीहरू खेल्नु हुन्छ”, आफूले उक्त टोलीबाट धेरै नै अपेक्षा राखेको बताउँदै प्रतियोगिता संयोजक बस्ताकोटीले भने।

भर्खरै समाप्त भएको एक अर्को नेपाली क्रिकेट प्रतियोगिता लगत्तै आयोजना हुन लागेको यस प्रतियोगितामा पनि उत्साहजनक सहभागिता होला त भन्ने प्रश्नमा न्याभ कपको बचाउ गर्दै उनी भन्छन्, “मेलबर्नमा वर्ष भरी नै क्रिकेट प्रतियोगिता आयोजना त भई नै रहन्छन् तर अरू प्रतियोगितामा आठ टिम भन्दा माथि सहभागी हुन सकेका छैनन्…एक वर्ष हुन्छ अर्को वर्ष हुने नहुने अन्योलता रहन्छ…हाम्रो १५ वर्षदेखि निरन्तर कायम छ।”

Paid umpires have been introduced at NAV Cup Cricket Tournament in Melbourne, Australia Nepali
सन् २०१९ को खेलका दौरान अम्पायरद्वय Source: NAV

१५ औँ संस्करणसम्म आइपुगेको न्याभ कप क्रिकेट प्रतियोगितामा समयानुकूल परिमार्जनहरू गर्दै अगाडी बढ्ने आफूहरूको योजना अनुरूप खेल-खेल्दा हुनसक्ने दुर्घटनालाई न्यूनीकरण तर्फ ध्यान दिएको पनि बस्ताकोटीको भनाई छ।

“ह्याजार्डका कुराहरूलाई गेममा केही मतलब राखेनौँ, अहिले प्राथमिकता दिएका छौँ।”

यसका साथै, पारिश्रमिक दिएर अम्पायर राख्ने कार्यले पनि उक्त प्रतियोगिताको साखलाई टेवा पुर्‍याएको उनको ठम्याई छ।

“हाम्रो भिजन भनेको यस प्रतियोगिता मार्फत राम्रा खेलाडीहरू उत्पादन गरेर भिक्टोरियन प्रिमियर लीगसम्म खेल्ने…बीग ब्याशसम्म पुर्‍याउने हाम्रो प्लान हो।”

kids cricket in melbourne NAV Cup 2017 Nepali
Source: Norgen Norbu

२६ फेब्रुअरीका दिन हुने फाइनल खेलका दिन आयोजना हुने क्रिकेट क्लिनिकमा बालबालिकाहरूलाई प्रेरणा दिन हाल अस्ट्रेलियामै रहेका उदीयमान नेपाली खेलाडी सन्दीप लामिछानेलाई बोलाउने प्रयास भइरहेको पनि सन्तोष बस्ताकोटीले बताए।

“फाइनलको दिन एक घण्टाको किड्स क्रिकेट क्लिनिक भनेर चलाइदिनको लागि हामी रिक्वेस्ट गर्दै छौँ,” उनले एसबीएस नेपालीसँग भने।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now