बाढीपहिरोमा परेर २६ जनाको मृत्यु
सरकारले देशभर आएको बाढी र पहिरोमा परेर एक सातामा २६ जनाको मृत्यु भएको जानकारी गराएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ गतेदेखि बुधबारसम्म बाढी र पहिरोमा परेर २६ को मृत्यु, करिब एक दर्जन सर्वसाधारण घाइते र दुई बेपत्ता भएको जानकारी गराएका थिए ।
उनले दिएको तथ्यांक अनुसार बाँकेमा ४, रोल्पामा ३, सिन्धुली, पर्सा, मकवानपुर, तनहुँ र सर्लाहीमा २ र कैलाली, चितवन, काठमाडौं, उदयपुर, सिराह, दाङ, महोत्सरी, बर्दिया र बारामा एक जनाले ज्यान गुमाएका थिए ।
टिपर दुर्घटनामा २० जनाको मृत्यु
उपल्लो मुस्ताङको लो घ्याकर दामोदर कुण्ड गाउँपालिका ३ मा पर्ने स्याङ्बोचेमा मजदुर बोकेको टिपर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। शुक्रबार जोमसोम–कोरला खण्डको घिलिङ नजिक खाना खाएर मजदुर बोकेर कार्यस्थल फर्कदै गरेका बा२ ख २२१९ नम्बरको टिपर अनियन्त्रित भइ सडकबाट खस्दा १२ जना घाइते भएका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले दुर्घटनाका घाइतेहरुलाई थप उपचारको लागि पोखरा लगिएको जानकारी गराएका थिए।

तत्काल माग पूरा नभए मर्न तयार ः डा.केसी
विगत सात दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीले तत्काल आफ्ना माग पूरा नभए मर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । स्वास्थ्य शिक्षा सुधारका माग राखेर अनसनरत डा. केसीले सरकारले कर्णालीका जनता र विद्यार्थीलाई वेवास्ता गरेको बताएका थिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीको आठौं दिन पुग्दा स्वास्थ्यमा समस्या देखिएको छ ।
स्वास्थ्य शिक्षा सुधारका लागि विभिन्न सात बुँदे माग राखेर जुम्लामा १५औं अनशन थालेका डा. केसीको समर्थनमा शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो ।
त्यस्तै अनशनरत डा. केसीको जीवन रक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो ।
स्वास्थ्य शिक्षा सुधारको लागि उनले राखेका मागलाई अध्यादेशअनुसार सम्बोधन गनुपर्ने कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू बताएका थिए ।
...
सरकारले सामन्तवादी चरित्र देखायो ः पूर्वप्रधानन्यायाधीश कार्की
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले सामन्ती शोषकको चरित्र देखाएको आरोप लगाएकी छन् ।
विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसी र गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्की सरकारलको सामन्ती शैली तत्काल रोक्न आग्रह समेत गरेकी थिइन् ।
त्यस्तै चिकित्सा शिक्षा आयोगका संयोजक केदारभक्त माथेमा र अधिवक्ता ओम अर्यालले नेपालको स्वास्थ्य सेवा विपन्नको पहुँचमा र्पुयाउन मेडिकल शिक्षामा सरकारी लगानी हुनुपर्ने बताएका थिए ।

कोशीमा बालकको शव बगाउँदै गरेको तस्विर जित्यो फोटो अफ द इयर
नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । उनले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यसवर्षको फोटो अफ द इयर घोषित भएको थियो ।
उपाधिसँगै उनले १ लाख रुपैयाँ पुरस्कार पाएका थिए ।
त्यस्तै नेपाल स्माइल विधामा दीपेन्द्र रोक्काको फोटो उत्कृष्ट भएको थियो । डेली लाइफ विधामा सुनिता डंगोल, न्युज फोटोमा अंगद ढकाल, नेचर एण्ड वाइल्ड लाइफमा श्रीराम खत्री र कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले खिचेको फोटोहरु उत्कृष्ट हुँदै उपाधि जितेको थियो ।
एक्सन स्पोर्टस विधामा प्रतिक रायमाझी र स्टोरीमा मनिष पौडेलले खिचेको फोटो पहिलो भएको थियो । प्रत्येक विधामा उत्कृष्ट हुने फोटोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रतियोगिताको आयोजना फोटो पत्रकार क्लबले गरेको थियो ।
...
देशभर २२ प्रतिशत रोपाइँ
देशभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेपनि हालसम्म २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।
युवाहरु विदेशिनु, समयमा बीउ र मलको व्यवस्थापनमा हुन नसक्नु र वर्षा हुन नसक्दा यसवर्ष धान उत्पादनमा असर परेको छ ।
उच्च पहाडी भेगमा धान खेती हुन नसकेपनि मध्यपहाडी क्षेत्रमा धान उत्पादन राम्रो हुने गरेको छ। त्यस्तै तराईका अधिकांश जिल्लामा उत्पादन अधिकतम हुने गरेको मन्त्रालयले जनाएको छ ।
...
ग्लोबल टी–२० मा सन्दीपको उत्कृष्ट प्रदर्शन
नेपाली क्रिकेटर सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । टोरन्टोमा आयोजित प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनसँग मोन्ट्रियल टाइगर्सले बुधबार इडमोन्टन रोयल्सलाई १५ रनले हराएको थियो ।
सन्दीपले ४ ओभरमा १६ रन खर्चिदैं १ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङ गर्न आएको मोन्ट्रियलले २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सकेको थियो । म्यान अफ द म्याच अष्ट्रेलियन पिटर सिडेल घोषित भएका थिए । प्रतियोगिताको चौथो स्थानमा रहेको मोन्ट्रियल, यो जितसँगै प्लेअफमा पुग्ने सम्भावना बढेको छ ।
...



