कोरोनाभाइरस सङ्क्रमित संख्या ३१ र अलपत्र मजदूरलाई क्वारेन्टिनमा राख्न निर्देशन: गत ७ दिन नेपालमा

Police officers patrol the street during the coronavirus crisis in Kathmandu Nepal.

Police officers patrol the street during the coronavirus crisis in Kathmandu Nepal. Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

यस हप्ता कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या ३१ पुगेको, जुन पछिल्लो हप्ताभन्दा ३ गुणा बढी रहेको अधिकारीहरुको भनाइ र लकडाउनका बीच उद्योगहरु बन्द भएर अलपत्र परेका मजदूरहरु पैद हिंडेरै विभिन्न जिल्लामा जान थालेका समाचारका माँझ प्रधानमन्त्री द्वारा उनीहरुलाई क्वारेन्टिनमा राख्न आदेश। यी लगायतका नेपालका गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


अडियो रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

नेपालमा कोरोनाका ३१ केस

यस हप्ता नेपालमा अचानक कोरोना संक्रमित मानिसको संख्या ३१ पुगेको छ, जुन पछिल्लो हप्ताभन्दा ३ गुणा बढी हो।

पछिल्लो हप्तासम्म नेपालमा कोरोना संक्रमित मानिसको संख्या ९ मात्र थियो। मंगलबार सम्ममा बीरगञ्जमा ३ जना, कैलालीमा एकजना, रौतहटमा एकजना र भक्तपुरमा एकै अपार्टमेण्टमा बस्ने २ जनामा संक्रमणको पुष्टि भएको थियो।

भक्तपुरका संक्रमित करीब एक महिना अघि लण्डनबाट आएका थिए।

एक महिनापछि पनि संक्रमण देखिएपछि सरकारले नयाँ रणनीति अवलम्बन गर्दै चैत महिनाभरमा विदेशबाट आएका र त्यस्ता मानिसहरुसँग सम्पर्क भएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेको छ।

त्यसपछि १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिँदै शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने, "कोरोनाको थप १४ जनाको पुष्टि भएको छ। उदयपुरमा १२ जना र चितवनमा २ जना। यो १४ जना सबैको केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढिसकेको छ। त्यसको लागि टीमहरुले कार्य गर्दैछन्। उदयपुरमा १२ जना जो २० देखि ४० वर्ष उमेरका पुरुष हुनुहुन्छ। चितवनमा २ जना, २७ वर्षीय पुरुष र ६३ वर्षीय महिला हुनुहुन्छ।"

A member of the Red Cross Society sprays disinfectants onto a vehicle at a check-point along Kathmandu and Bhaktapur district border.
A member of the Red Cross Society sprays disinfectants onto a vehicle at a check-point along Kathmandu and Bhaktapur district border. Source: Sipa USA Sunil Pradhan / SOPA Images/Sipa

उदयपुरमा भेटिएका १२ जना संक्रमित मानिस एउटै मस्जिदमा बसिरहेका भारतीय नागरिक हुन्। उनीहरु र उनीहरुसँगै बसेका ४ जना नेपालीलाई उपचारका लागि बिराटनगरको कोशी अस्पताल पठाइएको छ।

यसपछि शनिबार राती बिराटनगरका एकजनामा कोरोनाको संक्रमण पुष्टि भएपछि संक्रमितको कूल संख्या ३१ पुगेको छ।

ती मध्ये एकजना केही महिना अघि निको भइसकेका छन्, दुई जना शनिबार अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने २८ जनाको उपचार जारी छ।

संक्रमित मानिसको संख्या बढेसँगै सरकारले बैशाख १५ गते सम्मका लागि लकडाउन थपेको छ। तीन हप्ताअघि देखि लगाइएको लकडाउन सकिने दिनमा सरकारले त्यसको समयावधी थपेको हो।

दोस्रो संक्रमित घर फिर्ता

नेपालमा कोरोना संक्रमति दोस्रो व्यक्ति टेकु अस्पतालमा २७ दिन उपचार गरिसकेपछि शनिबार घर फर्केकी छिन्।

कोरोनाको प्रकोप शुरु भएपछि फ्रान्सबाट चैत ४ गते नेपाल आएकी ती १९ वर्षीया विद्यार्थीको नाम सरकारले खुलाएको छैन। तर उनले पहिचान नखुलाएता पनि मास्क लगाएर नेपाल टेलिभिजनलाई छोटो अन्तर्वार्ता दिएकी छिन्।

अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै उनले सर्वसाधारण र सञ्चारकर्मीलाई यस्तो सन्देश दिएकी छिन्, "सेल्फ आइसोलेसन एकदम महत्वपुर्ण हो। टेस्टिङ पनि गरिदिनु होला। अनि मिडियाको तर्फबाट चाहिँ  सकेसम्म कोरोना भाइरसको रोगसम्बन्धी स्टिग्मा क्रिएट नगरिदिनु होला। स्टिग्मा क्रिएट गरिदिँदा मान्छेहरुलाई कस्तो हुन्छ भन्दा टेस्टिङ गर्न मात्रै अप्ठ्यारो होइन, बोल्न पनि गाह्रो होला। स्टिग्माको असर मैले पनि देखेको थिएँ। "

Second coronavirus confirmed Nepali was discharged from hospital after treatment, speaking to Nepal Television.
Second coronavirus confirmed Nepali was discharged from hospital after treatment, speaking to Nepal Television. Source: Nepal Television

यी विद्यार्थीको कोरोना संक्रमणको बारेमा स्वास्थ्य विभागले बताएपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा उनीबारे धेरै नकारात्मक टिकाटिप्पणी गरिएका थिए।

केही पत्रिकाले उनलाई नेपालमा व्यापक रुपमा कोरोना फैलाउन सक्ने मानिस भन्दै लाञ्छित समेत गरेका थिए। यस्तै समाचारका बारेमा प्रतिकृया दिँदै उनले सञ्चार माध्यमहरुलाई भविष्यमा त्यस्तो नगर्न आग्रह गरेकी हुन्।

अलपत्र मजदूरलाई क्वारेण्टाइनमा

लकडाउनका बीच उद्योगहरु बन्द भएर अलपत्र परेका मजदूरको स्थितिले धेरैको ध्यानाकर्षण गरेको छ। विभिन्न जिल्लाबाट काठमाण्डु आएर काम गरिरहेका मजदूरहरु लकडाउन लम्बिँदै गएपछि घर फर्किन थालेका छन्।

सबै किसिमका यातायात बन्द भएपछि थुप्रै मजदूर पैदलै हँडेर विभिन्न जिल्लामा जान थालेका छन्।

यसरी हिँड्ने मानिसको यकीन संख्या कतै छैन, तर सयौं मानिसका तस्वीर र कथाहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा आईरहेका छन्।यसको प्रतिकृयामा पधानमन्त्री केपी ओलीले मानिसहरुलाई हिँडेर जान नदिनु, बरु जहाँ छन् त्यहीँ क्वारेण्टाइनमा राख्नु भन्ने आदेश दिएका छन्।

विभिन्न जिल्ला प्रशासनहरुले त्यसै अनुसार हिँडिरहेका मानिसलाई रोकेर खाने बस्ने व्यवस्था मिलाउन थालेका छन्। लकडाउनको तेस्रो हप्ता सम्ममा पनि दैनिक ज्यालादारी गर्ने मजदूरहरुको व्यवस्थापन नगरेको भन्दै सरकारको व्यापक आलोचना भएको छ।

Nepal's daily wage workers walk home to remote districts.
Nepal's daily wage workers walk home to remote districts. Source: RSS

स्वास्थ्य सामग्री खरीद

नेपालका सबै ७७ वटा जिल्लामा कोरोनाको परीक्षण गर्ने सामग्री पुगेको र सबै जिल्लामा परीक्षण शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर अझै पनि नेपालमा पुग्ने गरी स्वास्थ्य उपकरण र औषधीहरु भने छैनन्।

त्यसका लागि गत हप्ता नेपाल सरकारको स्वास्थ्य सामग्री खरीद गर्ने प्रकृया अत्यन्त विवादित बनेपछि उसले दुई प्रकृयाबाट स्वास्थ्य सामग्री खरीद गर्न थालेको छ।

एकातर्फ स्वास्थ्य विभागले यो कामको जिम्मा सेनालाई लगाएको छ भने अर्कोतर्फ आफैं पनि प्रतिस्पर्धात्मक विधिबाट तत्काल खरिदको सूचना सार्वजनिक गरेको छ।

सेनाले आफ्नो तर्फबाट जीटुजी अर्थात सीधै विदेशी सरकारसँग समन्वय गरेर स्वास्थ्य सामग्री आयात गर्नेछ।

सेनाले रक्षा मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भारतबाट ५३ थरी औषधी र चीनबाट ६७ किसिमका स्वास्थ्य उपकरण लगायतका सामग्रीको अन्तिम सूची तयार गरेको छ।

यो प्रकृयाबाट सबै सामान आईपुग्न समय लाग्न सक्ने भन्दै स्वास्थ्य विभागले पनि आफ्नै तयारी थालेको हो।

त्यस्तै, व्यापारीहरुले पनि स्वास्थ्य सामग्री खरीद प्रकृया अघि बढाएका छन् र उनीहरुले खरीद गरेर ग्वाङ्जाओ आइपुगेका सामग्री लिनका लागि नेपाल वायुसेवाका दुई विमान बिहीबार बेलुकी चीन उडेका थिए।

स्वास्थ्य सामग्री लिएर ती दुई वाइडबडी विमान शुक्रबार नेपाल फर्केका छन्।

Workers label bottles of hand sanitizer at Nepal Aushadhi Limited during the twentieth day of nationwide lockdown.
Workers label bottles of hand sanitizer at Nepal Aushadhi Limited during the twentieth day of nationwide lockdown. Source: Sipa USA Sunil Pradhan / SOPA Images/Sipa

इन्टरनेट नकाट्न निर्देशन

सरकारले निर्धारण गरेको लकडाउन अवधिभर सेवाग्राहीको ईन्टरनेट अवरुद्ध नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।

लकडाउनकै समयमा पैसा तिर्न नसक्दा ईन्टरेट सेवा काटिएको धेरै ग्राहकले बताएपछि प्राधिकरणले ईन्टरनेट सेवा प्रदायकलाई त्यस्तो निर्देशन दिएको हो ।

लकडाउन अवधिभर सकेसम्म अनलाईन महसुल भुक्तानीलाई प्राथमिकता दिन पनि प्राधिकरणले निर्देशन गरेको छ।

ईन्टरनेट अत्यावश्यक सेवा हो भन्दै यस्तो समयमा थप आवश्यक पर्ने भएकोले हालको परिस्थितिमा सेवा अवरुद्ध हुँदा आम मानिसमा नकारात्मक असर परेको प्राधिकरणले जनाएको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now