यस हप्ताका प्रमुख समाचारमा,
- क्रिप्टोकरेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरेको घोषणा नेपालले यसै हप्ता गरेको छ। नेपालमा अहिले सम्म कानुनी मान्यता नपाएको यस भर्चुअल मुद्रा कारोबारका विरुद्ध थप कडाइ गर्ने नेपाल राष्ट्र बैङ्कको निर्णय आएको हो। नेपाल लगायत विश्वका विभिन्न मुलुकमा यो मुद्राप्रति रुचि र कारोबार बढिरहेको बेला यस्ता कारोबार प्रलोभन केन्द्रित भएको नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले एसबीएस नेपालीलाई बताए।
- गत बुधवार राष्ट्रिय सभाका १९ वटा पदका लागी भएको निर्वाचनमा १८ पदमा सत्तारुढ गठबन्धनका तर्फबाट विजयी भएका छन् भने एक पदमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
निर्वाचनमा एमालेले १ सिटमा मात्र जित हासिल गर्दा ७ सिट गुमाएको छ भने जनता समाजवादी पार्टीका उम्मेदवारले राष्ट्रिय सभामा २७ वर्षमा पहिलो पटक विजय हासिल गरेका छन्।
निर्वाचन भएका १९ पदमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र काँग्रेसका ३ सदस्यहरूको आगामी २० फागुनमा पदावधि सकिदैछ ।
- स्थानीय तहको निर्वाचनको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारबिच मत बाझिएको छ। राष्ट्रपति भण्डारीले पत्र पठाएर नै आगामी वैशाखमै निर्वाचन गराउन सरकारलाई निर्देशन दिएकी छन् भने गठबन्धन भने कात्तिकमा सबै तहको निर्वाचन एकसाथ गर्ने प्रयासमा रहेको बताउँदै आएको छ। ऐन संशोधन गरेर तीनै तहका निर्वाचन एकैसाथ गर्ने सरकारको आशय रहेको भन्दै सरकारले केही पक्षबाट आलोचना खेपेको छ भने आफ्नो संवैधानिक व्यवस्था बाहिर गएर चाहिने भन्दा बढी सक्रियता देखाएको भन्दै केही संबिधान विदहरूले राष्ट्रपतिको कदमको आलोचना गरेका छन।
- नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाले जनसङ्ख्या वृद्धिदर घट्ने क्रममा रहेको देखाएको छ। पछिल्लो तथ्याङ्कले वृद्धिदर ०.९३ रहेको देखाएको छ जुन यस अघि अर्थात् विसं २०६८ मा १.४० प्रतिशत रहेको थियो।
- शुक्रवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको छ । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कका अनुसार गत मङ्गलवार कुल ९ हजार ४ सय ३२ नयाँ सङ्क्रमणका साथ यस हप्ता कै सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भयो। सङ्क्रमित मध्ये ४ हजार १ सय ५३ महिला र ५ हजार २ सय ७९ पुरुष रहेका देखाएको छ। तर मङ्गलवार पछि भने सङ्क्रमण संख्यामा कमी देखिएको छ। अहिले सम्म कुल कोरोना भाइरस सङ्क्रमित मध्ये ८९.२३ % सङ्क्रमण मुक्त भएको र जम्मा सक्रिय सङ्क्रमित ९.५३ % रहेको देखाएको छ। सङ्क्रमणका कारण अहिले सम्म सङ्क्रमित मध्ये 1.२४ प्रतिशतले ज्यान गुमाएका छन्।
यस हप्ताको विशेष कुराकानीमा समीर मणि दीक्षितको अस्ट्रेलिया सम्बन्धबारे गरिएको कुराकानी रहेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा दुई वटा स्नातकोत्तर डिग्री र विद्यावारिधि समेत गरेका डा. समीर मणि दीक्षित नेपालका चर्चित जनस्वास्थ्यविद् हुन्।
अस्ट्रेलियामा ९ वर्ष अध्ययन गरेपछि हाल उनी नेपालकै जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन्, र यस बारेमा सरकारलाई परामर्श दिने समेत गर्दछन्।
यसका साथै उनी सञ्चार क्षेत्रमा समेत सक्रिय छन्, उनले कान्तिपुर टिभी, एपी वान र अहिले ग्यालेक्सी टिभीमा बिहानैको कार्यक्रम चलाउने गर्दछन्।
अस्ट्रेलियाको शिक्षा प्रणाली राम्रो छ। त्यहाँ सैद्धान्तिक अध्ययन मात्रै नभएर आफैँ प्रयोगशालामा काम गर्नुपर्थ्यो। त्यसले गर्दा धेरै कुरा सिकियो। अस्ट्रेलियामा यति रमाइलो गरी पढ्न थालेपछि मलाई अमेरिका फर्कन पनि मन लागेन र अन्त कतै जान पनि मन लागेन
कोरोना महामारी सुरु भएपछि नेपालमा पहिलो पटक कोरोनाको परीक्षण र पुष्टि दीक्षितको प्रयोगशालाको सहयोगमा भएको थियो।
अस्ट्रेलियामा गरेको अध्ययनले आफूलाई नेपालमा आएर काम गर्न सजिलो बनाएको उनी बताउँछन्।

"अस्ट्रेलियाको शिक्षा प्रणाली राम्रो छ। त्यहाँ सैद्धान्तिक अध्ययन मात्रै नभएर आफैँ प्रयोगशालामा काम गर्नुपर्थ्यो। त्यसले गर्दा धेरै कुरा सिकियो। अस्ट्रेलियामा यति रमाइलो गरी पढ्न थालेपछि मलाई अमेरिका फर्कन पनि मन लागेन र अन्त कतै जान पनि मन लागेन," अमेरिकामा स्नातक तह पढेका दीक्षित भन्छन्।
दीक्षितले अध्ययन बाहेक अस्ट्रेलियाका अरू पनि मीठा याद सँगालेका छन्। "अस्ट्रेलियाको बसाई नै निकै रमाइलो रह्यो मेरा लागि। म सबैभन्दा धेरै त्यहाँको समुद्री तट सम्झिन्छु। अङ्ग्रेजी नयाँ वर्षको समयमा समुद्री तटमा रमाइलो गरेको सम्झनाहरू अझै आई रहन्छन्। म जे सबैभन्दा धेरै सम्झन्छु, त्यो चाहिँ नेपालमा ल्याउन मिल्दैन," उनी भन्छन्।
उनी अझै पनि अस्ट्रेलियाका साथीहरूसँग ह्वाट्सएप ग्रुपमा छन्, जसबाट उनलाई अस्ट्रेलियाका हरेक खबर, राष्ट्रिय, स्थानीय र समुदाय स्तरका खबर समेत थाहा भइरहन्छन्। अस्ट्रेलियाको धेरै सम्झना आइरहने हुनाले उनी अहिले पनि दुई-चार वर्षमा एक चोटि अस्ट्रेलिया पुगिरहेका हुन्छन्।

विदेशमा जतिसुकै रमाइलो भए पनि दीक्षितले नेपाल फर्कने लक्ष्य भने कहिल्यै नबिर्सेको बताउँछन्, जसका कारण उनी आज नेपालका धेरै क्षेत्रमा सक्रिय छन्। "फर्केर आएर काम गर्नलाई राजनीतिक स्थिति र ब्युरोक्रेसी लगायतका धेरै समस्या छन्, तर पनि आफूले आँट्यो भने जे पनि गर्न सकिन्छ," उनी भन्छन्।
"नेपालमा बसेर विश्वकै उच्च स्तरीय वैज्ञानिक अनुसन्धान गर्छु भनेर मैले भन्दा सुरुमा कसैले पत्याएन, मेरो बुवा आमाले पनि पत्याउनुभएन। तर आज हामी त्यसरी काम गरिरहेका छौँ।"




