अस्ट्रेलिया मानव तस्करीको मुद्दा शुरुवातको संकेत र बेल्जियमकी राजकुमारीको भ्रमण: गत ७ दिन नेपालमा

last 7 days in Nepal

Source: Facebook

रातो पासपोर्टको दुरुपयोग गरेर अस्ट्रेलियामा मानव तस्करी गराएको मुद्दामा सर्वोच्च अदालतले फाइल खोज्न शुरु र बेल्जियमकी राजकुमारी एस्ट्रिडले नेपालमा एक हप्ते भ्रमण गरेकी छिन्। यी लगायत गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


अस्ट्रेलिया मानव तस्करी

रातो पासपोर्ट अर्थात कूटनीतिक राहदानीको दुरुपयोग गरेरअस्ट्रेलियामा मानव तस्करी गराएको अभियोगमा परेको पुनरावेदन मुद्दामा सर्वोच्च अदालतले फाइल खोज्न सुरु गरेको छ। तीन वर्ष अघि आफ्नो राहदानीमा अर्कैको फोटो टाँसेर अस्ट्रेलिया पठाएको आरोप कतिपय सांसदलाई लागेको थियो।

विशेष अदालतले पूर्वसांसद शिवपुजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गर्दै तीन महिना कैद  र १५ हजार रुपैयाँ जरिवाना गरेको थियो तर अन्य थुप्रैलाई सफाइ दिएको थियो।

त्यसको विरोधमा सरकाले २०७३ सालमा सर्वोच्चमा पुनरावेदन गरेको थियो र नेकपाका सांसद नारदमुनी रानासहित सबै विरुद्ध अभियोग पुष्टि हुनुपर्ने दाबी गरेको थियो। सर्वोच्च अदालतले हालै त्यस मुद्दा सम्बन्धी सबै फाइल झिकाएको छ।

 

सभामुख संकट

प्रतिनिध सभाको सभामुखको पदमा सत्तारूढ दल नेकपाले पुर्व माओवादीका सांसद अग्नि सापकोटालाई मनोनित गरेको छ र सापकोटले सोमबार आफ्नो उम्मेद्वारी दर्ता गरेका छन्।

अरू कसैले उम्मेद्वारी नदिएपछि सापकोटा नै सभामुख बन्ने निश्चित भएको छ। तर सापकोटाको विगतका कारण उनको उम्मेद्वारी विवादमा परेको छ। सापकोटामाथि द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप लागेको छ।

यो भन्दा अघिका सभामुख कृष्ण बहादुर महराले बलात्कारको आरोप लागेपछि राजीनामा दिएका थिए। बलात्कार आरोपितको सट्टामा हत्या आरोपित व्यक्तिको मनोनयन गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ।

हत्या गरिएका अर्जुन लामाकी श्रीमती पुर्णिमाया लामा भन्छिन्: "मेरो श्रीमानलाई कहाँ लगेर मार्यो। हामीलाई चिहान पनि देखाएको छैन, ज्यान पनि देखाएको छैन। चिहान भएपनि देखाएको भए हाम्रो चित्त बुझ्थ्यो।

झन् उनीहरूको पार्टीको मान्छेले उनीहरूलाई मन्त्री बनाउने के के बनाउने भनेर गर्दाखेरी चाहिँ हाम्रो चित्त दुखिराखेको छ। हामीलाई कहिले पनि न्याय नदेला जस्तो सरकारले पनि। उनीहरूकै छ सरकार पनि। "

सापकोटाले सबै आरोपहरू अस्वीकार गरेका छन् र यो विषयको टुंगो लागेको छैन। तर हत्याका आरोपीलाई देशकै महत्वपुर्ण र गरीमामय पदमा मनोनित गरिएको भन्दै मानव अधिकारकर्मीहरूले माइतीघर मण्डलामा प्रदर्शन समेत गरेका छन् र उनलाई सभामुख नबनाउने माग गर्दै सर्वोच्चमा रिट समेत दायर गरिएको छ।

संक्रमणकालीन न्याय

सापकोटाको मनोनयनको १० वर्षे द्वन्द्वकालका पीडितहरूले पनि विरोध गरेका छन्। यस बाहेक पनि संक्रमणकालीन न्यायको क्षेत्रमा यो हप्ता धेरै गतिविधि भएका छन् र द्वन्द्व पीडित साझा चौतारीले तिनीहरूप्रति असन्तुष्टि जनाएको छ।

संक्रमणकालीन न्याय सम्बन्धी ऐनमा संशोधन गर्ने पीडितहरूको माग अनुसार कानुन मन्त्रालयले हालसालै सातै प्रदेशका पीडितहरूसँग परामर्श गरेको थियो। परामर्श छोटो र प्रकृया गलत भएको भन्दै साझा चौतारीले त्यसको अस्वीकार गरेको छ।

त्यस्तै, संक्रमणकालीन न्याय सम्बन्धी दुइ आयोगहरू – सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा – एक वर्ष भन्दा बढी समयदेखि पदाधिकारीहरू थिएनन्। यसै हप्ता सरकारको एउटा सिफारिश समितिले ती आयोगमा पदाधिकारीहरूको नाम सिफारिश गरेको छ। तर नेताहरूको स्वार्थपुर्ती गर्ने हिसाबले ती नामहरू आएको भन्दै द्वन्द्व पीडित साझा चौतारीले विरोध गरेको छ।

माओवादी द्वन्द्वकालमा करीब १७,००० मानिस मारिएका थिए र १,४०० बेपत्ता पारिएका थिए। उनीहरूका परिवार अझै पनि न्यायको लागि पर्खिरहेका छन्।

राष्ट्रिय सभा

राष्ट्रिय सभाका १८ पदका लागि भएको निर्वाचनको नतीजा सार्वजनिक गरिएको छ। १८ मध्ये १६ पद सत्तारूढ दल नेकपाले जितेको छ भने २ पद राष्ट्रिय जनता पार्टीले जितेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि पद  जितेको छैन।

last 7 days in Nepal
Source: RSS

यस सँगै राष्ट्रिय सभामा कुल ५९ मध्ये कांग्रेसका ६ जना सभासद, राजपाका २ जना, समाजवादीका २ जना, राष्ट्रपतिबाट मनोनित १ जना र बाँकी सबै नेकपाका सभासद भएका छन्।

एकीकृत भन्सार जाँच चौकी

प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडियो कन्फरेन्स गरेर विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीको संयुक्त रुपमा उद्घाटन गरेका छन्। त्यो चौकीबाट विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम गरिनेछ र सवारीको चाप घट्ने अपेक्षा गरिएको छ।

भारत सरकारले त्यो चौकी निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ र त्यसै क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता गरेका छन्। मोदीले निम्तो स्वीकार गरेका छन् तर भ्रमणको  समय भने तोकेका छैनन्।

एमसीसी

यस हप्ता एमसीसी अर्थात मिलेनियम च्यालेञ्ज कर्पोरेशन शीर्षक अन्तर्गत अमेरिकी सरकारले दिने आर्थिक सहयोगलाई लिएर नेपालमा विवाद चर्केको छ।  ५० करोड अमेरिकी डलर बराबरको यो सहयोग अन्तर्गत नेपालले उर्जा र यातायात क्षेत्रमा लगानी गर्ने योजना रहेको छ।

तर यो परियोजना अमेरिकाको इण्डो प्यासिफिक स्ट्राटेजी भनिने सैन्य रणनीति अन्तर्गत पर्छ भन्दै कतिपय सांसदले त्यसको विरोध गरेका छन्।

चीनले बेल्ट एण्ड रोड इनिशिएटिभ अन्तर्गत संसारभर आफ्नो प्रभाव फैलाइरहेको बेला अमेरिकाले त्यसलाई टक्कर दिनलाई इण्डो प्यासिफिक स्ट्राटेजी कार्यान्वयन गरेको र त्यस अन्तर्गत नेपाललाई राख्न खोजेको तर्क कतिपय सांसद र परराष्ट्रका जानकारले गरेका छन्।

उता अमेरिकी राजदूतावासले एमसीसीमा कुनै सैन्य मामिला नरहेको भन्दै स्पष्टिकरण दिइरहको छ। सामाजिक सञ्जालमा राखिएको एउटा भिडियोमा अमेरिकी राजदूत र्याण्डी बेरी भन्छन् : "एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन।

अमेरिकी कानुनले संसारभरीका एमसीसी प्रोजेक्टमा सैन्य मामिला प्रतिबन्धित गर्दछ। एमसीसीको प्रावधान अनुसार यो परियोजना कार्यान्वयनका लागि नेपालले नै नेपालीहरूबाट नेतृत्व छनोट गर्नुपर्छ।"

नेपालले यो परियोजनामा हस्ताक्षर गरिसकेको छ तर विवादका कारण कार्यान्वयनमा ढिलाई भइरहेको छ।

बेल्जियमकी राजकुमारी

 

last 7 days in nepal
Source: Twitter

यस हप्ता बेल्जियमकी राजकुमारी एस्ट्रिडले नेपालमा एक हप्ते भ्रमण गरेकी छिन्। बेल्जियमका राजा फिलिपकी बहिनी एस्ट्रिड अनौपचारिक कार्यक्रममा क्षयरोग र कुष्ठरोग विषयमा केन्द्रित हुँदै नेपाल आएकी हुन्।

यस क्रममा एस्ट्रिडले भरतपुरको मध्यबिन्दु अस्पतालमा क्षयरोग पोषण केन्द्र शिलान्यास गरिन् र काठमाण्डु, भक्तपुर, कैलाली र चितवनको भ्रमण पनि गरिन्। एस्ट्रिडले भ्रमण गरेका अस्पताललाई दामिन फाउन्डेसन नामक बेल्जियमको गैरसरकारी संस्थाले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको छ।

बेल्जियमबाट २३ वर्षपछि नेपालको उच्चस्तरीय भ्रमण भएको हो।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now