वायु प्रदूषणका कारण दमको रोगले मर्नेहरू चालिस प्रतिशतभन्दा बढी रहेको बेला, कोरोनाको प्रकोप अनि थप वायु प्रदूषणले त स्थिति झनै गम्भीर बनाएको विज्ञहरूले बताएका छन्।
काठमाण्डुमा सोमबार राती हालसम्मकै उच्च वायु प्रदुषण देखिएपछि यस हप्ता काठमाण्डु विश्वकै प्रदुषित शहर बनेको छ। वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रमा एक्युआई अर्थात वायु गुणस्तर सूचक ६०० भन्दा बढी देखिएको थियो।
त्यस दिन अन्यत्र पनि एक्युआई ४०० भन्दा बढी देखिएको थियो, जुन विश्वका प्रायः शहर भन्दा बढी हो।
विश्व स्वास्थ्य संगठनले ३०० भन्दा बढीको एक्युआईलाई खतरनाक मानेको छ, र त्यो भन्दा पनि बढी रहेको काठमाण्डुको एक्युआईले जनस्वास्थ्यमा समस्या ल्याउने डर बढिरहेको छ। वायु प्रदुषणले घाँटी, आँखा, नाकमा समस्या ल्याउने, दम र मुटुका रोगलाई अझ साह्रो पार्ने, र छालाको एलर्जी गराउने सक्ने बताइन्छ। हाल कोभिड १९ को महामारी रहेको समयमा वायु प्रदुषण झनै खतरनाक भएको फोक्सो रोग विशेषज्ञ डा. रक्षा पाण्डेले वातारण सम्बन्धी कार्यक्रम आँखीझ्याललाई बताएकी छिन्।

"कोभिड नै नभएको बेला पनि हामी भनिरहेका थियौं, (वायु प्रदुषणका कारण) दमको रोगले मर्ने ४० प्रतिशत भन्दा बढी हुन्छ भनेर। त्यसमा झन् कोभिड थपिदिँदा खेरी के देखिएको छ भने कोभिडले मर्ने वा कडा रोग लाग्ने चाहिँ वायु प्रदुषणले गर्दा अझै बढेको छ।"
काठमाण्डुमा आईतबारदेखि चीसो बढेको थियो भने सोमबार दिनभर तुवाँलो लागेको थियो। यस्तो मौसममा प्रायःजसो हरेक वर्ष काठमाण्डुको वायु प्रदुषण बढ्ने गर्छ।
नेपालमा बन्दाबन्दी हटेपछि सावरी साधनको चाप बढेको, काठमाण्डु वरीपरीका इँटाभट्टा सञ्चालन भइरहेका, वरीपरीका थुप्रै जंगलमा आगो लागेको, भारतमा समेत यो मौसममा आगो बाल्ने चलन रहेकाले वायु प्रदुषण बढेको विज्ञहरु बताउँछन्।
यस हप्ता बादल लागेकाले धुवाँ धुलो उडेर जान नपाएकाले पनि अचानक प्रदुषण बढेको बताइएको छ।
देशभर नै विभिन्न स्थानमा एक्युआई उच्च देखिएको छ भने तराईमा विशेष जोखिम रहेको बताइएको छ।
नेपाल सरकारको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ ले एक्युआई ३०० भन्दा बढी पुगेमा कारखानाहरु बन्द गर्ने, विद्यालय बन्द गर्न मिल्ने, जस्ता विभिन्न कदम चाल्न मिल्ने नीति पारित गरेको छ, तर यस हप्ता एक्युआई ६०० नाघ्दा पनि ती कदम नचालेकोमा सरकारको आलोचना भइरहेको छ।
वातावरण विभागले एउटा विज्ञप्ती जारी गर्दै नागरिकहरुलाई अत्यावश्क परेको खण्डमा मात्र बाहिर निस्कन, निस्कन परेमा मास्कको प्रयोग गर्न, र बालबालिका र वृद्धवृद्धाले स्वास्थ्यको विशेष ख्याल राख्ने सूचना दिएको छ।





