कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या १ लाख ३० हजारको नजीक पुगेको छ भने मृतकको संख्या ७२० नाघेको छ।
सरकारको उच्चतम तहमा कोरोनाको संक्रमण फैलिएको छः शिक्षामन्त्री गिरीराजमणि पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार देखि शुरु भएको दशैंको चाडलाई पनि कोरोनाको प्रकोपले प्रभावित गर्ने देखिएको छ। सामान्यतया यो समयमा अधिकतम मानिस शहरबाट गाउँ जाने गर्दछन्।
यस वर्ष भने कतिपय स्थानीय तहले पीसीआर रिपोर्ट लिएर आउनेलाई मात्रै प्रवेश दिने बताएका छन्, त्यसकारण दशैंको समयमा आवागमन कम हुने अनुमान गरिएको छ।
सरकारले यस हप्ता सार्वजनिक यातायातलाई पुर्ण क्षमतासम्म यात्रु चढाउन दिने अनुमति दिएको छ, र यो निर्णयको स्वास्थ्य विज्ञहरुले विरोध गरिरहेका छन्। यो भन्दा अघि सरकारले सार्वजनिक यातायातमा आधा क्षमतासम्म मात्र यात्रु चढाउने अनुमति दिएको थियो।

संघीय मन्त्रीमण्डल पुनर्गठन
यस हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गरेका छन्। अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयको जिम्मा पाएका युवराज खतिवडाको राजीनामापछि खाली रहेका पदहरु पुर्ती गर्दै ओलीले केही पदहरु हेरफेर पनि गरेका छन्।
अर्थ मन्त्रालयको जिम्मा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडललाई र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिइएको छ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङ भन्छन्, "हामी कुनै पनि मन्त्रालयले अब सूचना लुकाएर….. कुनै मन्त्रालयमा रहेका गलत कुरालाई पनि हामी तुरुन्तै यस मन्त्रालयले त्यो कुरामा खोज अनुसन्धान गर्नुपर्छ। त्यो गर्ने पत्रकारिताको काम पत्रकारहरुले गर्नुहोला तर मन्त्रालयले पनि त्यो काम गर्ने छ।"
यसअघि गुरुङले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा मन्त्रीपरिषद विस्तारका क्रममा थपिएका लीलानाथ श्रेष्ठलाई दिइएको छ।
कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यो भन्दा अघि रक्षा मन्त्रालयको नेतृत्व गरिहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मा पाएका छन्।
रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफ्नै मातहतमा राखेका छन्। शहरी विकास मन्त्रालयमा खाली रहेको राज्यमन्त्रीको पद रामबीर मानन्धरलाई दिइएको छ।

पर्यटक
सात महिना लामो अन्तरालपछि नेपालमा विदेशी पर्यटकको आगमन हुन थालेको छ। अक्टोबर १७ देखि सरकारले विदेशी पर्यटकका लागि प्रवेश खुला गरेको हो।
११ चैतदेखि बन्द रहेको पर्यटन क्षेत्रले यो अवधिमा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ ।
तर नेपाल आएपछि सात दिन क्वारेण्टिन बस्नुपर्ने र त्यसपछि पनि पिसिआर परीक्षण गरेर मात्रै पदयात्रा वा अन्य पर्यटन यात्रामा जान पाइने भएकाले त्यति धेरै पर्यटकले रुची नदेखाएको पर्यटन व्यवसायी बताउँछन्।
यस भन्दा अघि नै नेपालमा आन्तरिक पर्यटनको गतिविधि भने बढिरहेको छ।
पोखरा, राराताल जस्ता आन्तरिक रुपमा लोकप्रिय गन्तव्य स्थलमा पर्यटकको संख्या बढेको देखिएको छ।

कर्णाली मुख्यमन्त्री संकट
नेपालमा पहिलोपटक प्रदेश सरकारका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबादुर शाही विरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
४० सीट भएको कर्णालीको प्रदेश सभामा ३३ जना सांसद सत्तारुढ दल नेकपाका छन्, र मुख्यमन्त्री शाही र प्रस्ताव दर्ता गर्ने सांसदहरु सबै सत्तारुढ दल नेकपाकै हुन्।
सरकारको कार्यविधि चित्त नबुझेर अविश्वासको प्रस्ताव दर्ता गरेको सांसद यामलाल कँडेल बताउँछन्।
"कर्णालीका समस्यामा हामी एक ठाउँमा उभिएर हामी अहिलेसम्म आन्तरिक छलफलमा दलभित्र, पार्टीभित्र छलफलमा हामी सामेल थियौं सबै। भइरहेको काम चाहिँ ठिक भइरहेको छैन हो। यसलाई सुधार गर्ने कुरा गरौं। भन्ने कुरा गर्दागर्दै यो बाटोबाट जानु नै उपयुक्त बाटो हो भन्ने निश्कर्षका साथ हामी अगाडि बढेको अवस्था छ।"
१८ जना सांसद मध्ये नेकपाका अर्का वरिष्ठ नेता माधव नेपाल निकट ७ जना प्रस्तावबाट पछि हटेकाले संसदमा प्रस्तावमाथि छलफल नै गरिएन र सहमतिमा यो घटना टुंगिएको छ।
यसपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन्। यो घटनाले अरु प्रदेशमा पनि यस्ता घटना दोहोरिन सक्ने सम्भावना देखाएको छ र नेकपा भित्र विभिन्न शीर्ष नेताहरुको आ आफ्नो गुटबन्दी प्रदेशहरुमा पनि फैलिएको देखिएको छ।
बलात्कारी संगठन
फेसबुकमा बलात्कारी संगठन नामक समूह खोल्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
महिलाहरुले सडकमा "बलात्कारी होस् तँ" भन्दै प्रदर्शन गरेपछि त्यसको प्रतिकृयामा केही युवाहरुले फेसबुकमा बलात्कारी संगठन खोल्दै बलात्कारका विषयमा हलुका टिप्पणीहरु गरिरहेका थिए।
यस समूहले बलात्कार जस्तो गम्भीर विषयलाई सामान्यीकरण गरिरहेको भन्दै थुप्रै जनाले सामाजिक सञ्जालमा त्यसको विरोध पनि गरेका थिए।
यसका विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि प्रहरीले यस बारेमा अनुसन्धान थालेको हो। प्रहरीले चितवनबाट एकजना १९ वर्षीय पुरुषलाई यस सम्बन्धमा गिरफ्तार गरेको छ।
देशमा बलात्कारको संख्या बढ्दै गएको देखिएपछि देशभर नै बलात्कार विरोधी प्रदर्शनहरु बढेका छन् भने त्यस्ता प्रदर्शनका प्रतिकार पनि बढिरहेका छन्।

डा केसी
डा गोविन्द केसीको २८ दिनको अनशनपछि सरकारले उनीसँग गत शनिबार सम्झौता गरेको छ।
सरकारी पक्षबाट वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेपछि डा. केसीले गत आइतबार अनशन तोडेका छन्। सम्झौतामा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सर्वसुलभ बनाउने बुँदाहरु राखिएका छन्।
यिनै मागका लागि डा. केसीले बारम्बार अनशन बस्ने गरेका छन्, र यो उनको १९औं अनशन हालसम्मको सबभन्दा लामो अनशन हो।
सरकारले भने हरेक पटक उनीसँग गरेका सम्झौताहरु तोड्दै आईरहेको छ, र यस पटक पनि त्यस्तै हुने हो कि भन्ने डर रहेको केही टिप्पणीकार बताउँछन्। डा. केसीले अनशन तोडेसँगै चिकित्सक संघहरुले उनलाई समर्थन गर्नका लागि शुरु गरेका आन्दोलनहरु फिर्ता लिएका छन्।





