कोरोना
नेपालमा कोरोना संक्रमित मानिसको संख्या १५ हजार भन्दा बढी पुगेको छ। कोरोना संक्रमित मानिस र स्वास्थ्यकर्मी माथि धेरै भेदभाव भइरहेकोमा दुःख प्रकट गर्दै त्यस्तो भेदभाव नगर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गरेका छन्।
“यतिखेर हामी सबैलाई कोरोना विरुद्धको लडाइँ लड्न सामाजिक सद्भाव र एकताको खाँचो छ।कोरोना सर्नबाट के के सावधानी अपनाउने भन्ने बारेमा कुरा गरौं। तर यो संक्रमण कसले कहाँबाट र कसरी ल्यायो जस्ता अर्थहीन कुरा नगरौं।”
यसका साथै कोरोनाका कारणले मृत्यु हुने मानिसको संख्या ३४ पुगेको छ।
प्रधानमन्त्री र संसद
प्रधानमन्त्री केपी ओलीले बिहीबार अचानक संसदको छैठौं अधिवेशनको अन्त्य गरेपछि त्यसको सर्वर्त्र विरोध भएको छ। प्रधानमन्त्री ओलीको नेतृत्वदेखि असन्तुष्ट नेकपाकै नेताहरुले उनको राजीनामा मागेपछि नेताहरुले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने डरले ओलीले हतार हतार संसद अधिवेशनको अन्त्य गरेको अनुमान गरिएको छ।
प्रधानमन्त्रीले व्यक्तिगत फाइदाका लागि प्रजातान्त्रिक संरचनाको दुरुपयोग गरेको आरोप लागेको छ। र उनको त्यो प्रस्ताव स्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि पनि प्रश्न उठेको छ।

नेपालको राष्ट्रपति व्यक्तिगत वा दलीय स्वार्थ भन्दा माथि, र तटस्थ हुनुपर्ने प्रावधान छ। संसदका सभामुखलाई नै थाहा नदिइ अधिवेशनको अन्त्य गर्नु संविधानको प्रावधानमा नभएकाले ओलीको यो कदम वैधानिक नभएको र फेरी अधिवेशन बोलाईन सकिने पनि केही विज्ञको विचार छ।
लकडाउनका बीचमा थुप्रै समय नबसेको संसदको अधिवेशन, बजेट संसदबाट पारित गराउनु पर्ने भएपछि फेरी शुरु गरिएको थियो।
संसदको यो अधिवेशनमा नागरिकता लगायतका थुप्रै महत्वपुर्ण कानुनहरु पारित गरिनुपर्ने थिए, र ती अब पछि सरेका छन्। जुन महिनाको अन्त्यबाट लागु गरिनुपर्ने अमेरिकी सहयोग अन्तर्गतको एमसीसी परियोजनाको भविष्य अन्योलमा परेको छ।
नेकपा संकट
संसदको अधिवेशन अन्त्य गरेको घटनालाई विपक्षी दलले मात्रै होइन, प्रधानमन्त्री केपी ओलीको आफ्नै पार्टी नेकपाका नेताहरुले समेत विरोध गरेका छन्, र यसले नेकपा पार्टी फुट्ने डर अझ बढेको छ।
यस हप्ता प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेका कारण भारतको निर्देशनमा नेपाली नेताले आफूलाई हटाउन खोजेको दावी गरेका थिए।
“संविधान संशोधन भयो, नक्शा जारी भयो। त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब। दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्। त्यसैले निर्देश गरिहाल्छ कि कहाँ कहाँ के के भइराखेको छ। तर नेपालकै नेताहरु पनि लागेका छन्, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन भनेर!”
उनको यो भनाइदेखि असन्तुष्ट नेकपाका वरिष्ठ नेताहरुले उनलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरे। त्यसपछि अचानक ओलीले संसद अधिवेशन अन्त्य गरेका हुन्। र शनिबार निकै रातीसम्म जारी नेकपाका नेताहरुको बैठकमा ओलीले मन्त्रीहरुलाई कि अफ्नो पक्षमा रहन कि सरकारबाट राजीनामा दिन भनेका छन्।

संसद नभएको बेलामा ओलीले पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याउने धेरैले अनुमान गरेका छन्, जुन प्रयास उनले केही हप्ताअघि मात्रै गरेका थिए।
दुइ तिहाइको बहुमतको सरकार स्थापित गर्न सफल नेकपा पार्टी फेरी पनि टुक्रिने र राजनीतिक स्थायित्व गुम्ने डर बढिरहेको छ भने केही ठाउँमा ओलीको पक्षमा जुलुस र नाराबाजी पनि गरिएको छ।
अन्दोलनकारी युवा
प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत केही युवालाई भेटेर उनीहरुको माग पुरा गर्ने आश्वासन दिएका छन्।
कोरोना संकटको राम्रो व्यवस्थापन, पीसीअर परीक्षणमा वृद्धि र क्वारेण्टिनमा सुधार लगायतका माग लिएर करीब एक महिनादेखि थुप्रै युवाले सडकमा अन्दोलन गरिरहेका थिए। ती मध्ये ४ युवाले गत हप्तादेखि सत्याग्रह थालेर पाटनमा अनसन बसेका थिए।
स्वास्थ्य बिग्रिएपछि इशान अधिकारी र पुकार बमलाई बिहीबार ह्याम्स अस्पताल ल्याइएको थियो।
प्रधानमन्त्रीले उनीहरुलाई शनिबार अस्पतालमै भेटेर सरकार यस विषयमा संवेदनशील रहेको बताएका छन्। तर उनले त्यसो भनेतापनि आफुहरुको माग भने सुन्न समेत नचाहेको भन्दै युवाहरुले ती माग पुरा गर्नका लागि विस्तृत छलफलको बाटो बनाउन माग गरेका छन्।

सलह
नेपालमा सलह किरा ५० भन्दा बढी जिल्लामा पुगेर केही जिल्लामा मकै, तरकारी, फलफूल र भटमासका बालीमा नोक्सान पुर्याएको छ।
दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा सलहले ११ सय हेक्टर भन्दा बढी खेतबालीमा क्षति पुर्याएको बताइएको छ। अरु केही जिल्लामा पनि यसले थोरै क्षति पुर्याएको छ।
शनिबार नेपाल छिरेको सलहले आफ्नो बाटोमा पर्ने सबै बालीनाली, फलफूल र पात समेत खाइदिने हुनाले किसानहरु सलहसँग डराएका छन्।
मनसुन
यो हप्ता बझाङमा पहिरो जाँदा एक दर्जन भन्दा बढी घर पुरिएका छन्, जसमा ६ जनाको मृत्यु भएको छ र १ जना बेपत्ता भएका छन् भने गुल्मीमा एउटा गाउँ नै विस्थापित भएको छ।
यो वर्ष मनसुन भन्दा अगाडि नै लगातार वर्षा भएकाले थुप्रै ठाउँमा पहिरो गइसकेको छ।
जुन महिना भरीमा ५० भन्दा बढी ठाउँमा पहिरो गइसकेको छ, थुप्रै ठाउँमा भारी वर्षा भएको छ र बाढी आएको छ भने यस्ता प्राकृतिक प्रकोपका कारण २५ जना भन्दा बढीको मृत्यु भइसकेको छ।
मनसुन अझै एक महिना भन्दा बढी बाँकी भएको हुनाले यो वर्ष मनसुनले धेरै क्षति गर्ने अनुमान गरिएको छ।
चलचित्र क्षेत्रमा दुर्व्यवहार
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रमा दुर्व्यवहार भोग्नु परेको भन्दै इन्स्टाग्राममा भिडियो राखेपछि चलचित्र क्षेत्रमा बहस चर्किएको छ।
शाहले विभिन्न चलचित्रमा काम गर्ने क्रममा आफुमाथि शारीरिक दुर्व्यवहार गरिएको, गालीगलौज गरिएको र यौन दुर्व्यवहार गर्ने कोशिश गरिएको बताएकि छिन्।
भिडियोमा शाहले कसैको नाम लिएकी छैनन् तर उनले अभिनय गरेको पहिलो चलचित्रका निर्माता भुवन केसीले शाहलाई आफुबारे गलत प्रचार नगर्न र गरेमा मुद्दा हाल्ने बताएका छन्।
तर शाहले त्यसपछि अरु पनि भिडियोमा ती कुरा दोहोर्याएकी छिन् र विभिन्न सञ्चार माध्यमसँग पनि कुरा गरेकी छिन्।
शाह र केसीको पक्ष र विपक्षमा विभिन्न चलचित्रकर्मी र साधारण मानिसले समेत सामाजिक सञ्जालमा बोलिरहेका छन् र थुप्रैले शाहले चलचित्र क्षेत्रमा लामो समयदेखि रहेको दुर्व्यवहार उजागर गरेको बताएका छन्।
सेवा भट्टराई, काठमाण्डु




