Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बाल यौन दुराचारको कथित आरोपमा एक अस्ट्रेलियाली पक्राउ र कोरोना भाइरसको बढ्दो प्रभाव: गए ७ दिन नेपालमा

Campaign against corona virus in Nepal.

एक अस्ट्रेलियाली नागरिकलाई बाल यौन दुराचारको कथित आरोपमा प्रहरी द्वारा पक्राउ नेपालमा कोरोना भाइरस नदेखिएपनि यसको प्रभाव भने बढ्दो लगायत गए ७ दिनका प्रमुख नेपाल समाचार।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


एक अस्ट्रेलियाली नागरिकलाई बाल यौन दुराचारको कथित आरोपमा प्रहरी द्वारा पक्राउ नेपालमा कोरोना भाइरस नदेखिएपनि यसको प्रभाव भने बढ्दो लगायत गए ७ दिनका प्रमुख नेपाल समाचार।


अस्ट्रेलियन धर्मगुरु पक्राउ

अस्ट्रेलियाका एकजना नागरिक गोन्दुक रिम्पोछेलाई प्रहरीले बिहीबार बेलुकी कथित बाल यौन दुराचारको आरोपमा पक्राउ गरेको छ।

मेलबर्न घर हुने ५८ वर्षीय रिम्पोछेले १५ वर्षीय बालक माथि कथित यौन दुर्व्यवहार गरेको उजुरी परेको थियो। रिम्पोछे आरुबारीमा रहेको कदम्बा बौद्ध प्रतिष्ठानमा प्रमुखका रुपमा कार्यरत थिए भने १५ वर्षे किशोर उनकै अनुयायी थिए।

घटनाको बारेमा विस्तृत अनुसन्धान थालिने प्रहरीले बताएको छ।

नेपालमा धर्मगुरु भनेर चिनिएका मानिसले गर्ने गरेको कथित दुर्व्यवहारको श्रृंखलामा यो पछिल्लो घटना हो।

कोरोनाको प्रभाव

नेपालमा कोरोना भाइरस नदेखिएपनि यसको प्रभाव भने बढिरहेको छ।

कोरोना भाइरसको केन्द्र चीनको हुबेइ प्रान्तबाट उद्धार गरेर क्वारेण्टाइनमा राखिएका विद्यार्थी घर फर्किएका छन्। वुहान विमानस्थलबा ट १७५ जना विद्यार्थी नेपाल फर्काइएका थिए र भक्तपुरमा दुइ हप्ता क्वारेण्टाइनमा राखिएका थिए।

उनीहरुसँगै क्वारेण्टाइनमै रहेका चिकित्सक पनि घर फर्किएका छन् र यससँगै उनीहरु कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ। 

कतिपय सिनेमा, ब्यांक जस्ता सार्वजनिक स्थलहरुले भित्र बाहिर आउने जाने ग्राहकहरुलाई ह्याण्ड स्यानिटाइजर लगाइदिने अभ्यास शुरू गरेका छन् भने कतिपय विद्यालयहरुले विद्यार्थीहरुलाई अनिवार्य ह्याण्ड स्यानिटाइजर लिएर आउने नियम लगाएपछि ह्याण्ड स्यानिटाइजर जस्ता सामाग्रीको अभाव चुलिएको छ।

भारतले औषधी निर्यातमा रोक लगाएपछि त्यसको असर नेपालमा पर्ने सक्ने डर फैलिएको छ, र नेपाल सरकारले भारतलाई औषधीको निर्यात नरोक्न अनुरोध गरेको छ। जवाफमा भारतले आवश्यक औषधिहरुको सूची माग गरेको छ।

Campaign against corona virus in Nepal
Campaign against corona virus in Nepal Source: RSS

सरकारले विद्यालहरुको यो सत्र एसइइ परीक्षा भन्दा अगाडि नै अर्थात चैत ६ गते भन्दा अगाडि नै बन्द गर्ने निर्देशन दिइसकेको छ र केही समयसम्म भीडभाड र ठुला समारोह आयोजना नगर्ने अनुरोध गरिसकेको छ।

कोरोना नियन्त्रणका लागि सरकारको तयारीका बारेमा जानकारी दिँदै सञ्चारमन्त्री युवराज खतिवडाले भने, "हामीले करीब करीब ६ वटा स्थलमार्ग, जुन मुख्यतया विदेशीहरु प्रवेश गर्छन्, ती मार्गमा हामीले सम्पूर्ण सुरक्षाका व्यवस्था र क्वारेण्टाइनका प्रबन्धहरु गरिसकेका छौं। र नेपा भारतको बीचमा मानिसको बढी ओहोरदोहोर हुने ३७ वटा नाकामा चाहिँ टोलीहरु स्वास्थ्यकर्मीहरु खटाएर जोखिम अने स्थसतसमा निगरानी राख्ने व्यवस्था गरिएको छ।"

यस्तै, यो हप्ता शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा चारजना बिरामी कोरोना संक्रमणको आशंकामा भर्ना गरिएका थिए।

ती मध्ये एकजना खुसुक्क अस्पतालबाट निस्किएपछि अन्यौल श्रृजना भएको थियो। तर पछि ती बिरामी पनि अस्पतालको सम्पर्कमा आए र कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको अस्पतालले बताएको छ।

तर त्यसपछि आइतबारदेखि अस्पतालले आइसोलेसन वार्डको सुरक्षामा प्रहरी र मनोसामाजिक परामर्शदाता राखेको छ।

Education campaign
Source: RSS

कोरोना भाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको छ। पर्यटकहरु र विशेषगरी चीनिया पर्यटकको संख्या निकै कम भएपछि पर्यटकीय क्षेत्रहरु सुनसान भएका छन्।

त्यसैगरी नेपालका निर्माणाधीन, साना ठुला र सरकारी गैरसरकारी थुप्रै किसिमका योजनाहरु स्थगित गरिएका छन्।

कतिपय उपकरण चीनबाट आउनुपर्ने हुनाले थुप्रै निर्माण प्रकृया रोकिएका हुन् भने चीनियाँ लगानीकर्ता र कामदार भएका आयोजना अझ बढी प्रभावित छन्।

सरकारले श्रमका लागि विदेश जाने नेपालीहरुमाथि पनि रोक लगाउने तयारी गरिरहेको छ।

युवराज खतिवडाको राजीनामा र नियुक्ति

यस हप्ता अर्थमन्त्री युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएर फेरी अर्थमन्त्री नियुक्त भएका छन्।

नेपालको संविधान अनुसार सांसद नभएका व्यक्ति मन्त्री हुन पाउँदैनन्, र खतिवडा राष्ट्रपतिबाट मनोनित राज्यसभाका सांसद थिए।

मंगलबार राज्यसभाको दुइवर्षे कार्यकाल सकिएपछि उनले टिचिङ अस्पताल पुगेर उपचाररत प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए। तर अस्पतालबाटै प्रधानमन्त्रीले उनलाई फेरी अर्थमन्त्री नियुक्त गरेपछि त्यो निर्णय निकै विवादित बनेको थियो।

त्यसका साथै खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पनि शपथग्रहण गरेका छन्। भ्रष्टाचारको आरोप लागेका कारण भूतपुर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले गत हप्ता राजीनामा दिएपछि खाली भएको पदमा खतिवडा नियुक्त गरिएका थिए।

Finance minister Yuvaraj Khatiwada was reappointed after resigning
Finance minister Yuvaraj Khatiwada was reappointed after resigning Source: RSS

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण

प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण शल्यकृया सफल भएको छ।

प्रधानमन्त्री ओली लामो समयदेखि मृगौलाको सम्सयाले ग्रस्त थिए, र १२ वर्ष पहिले नै एउटा मृगौला प्रत्यारोपण गरिसकेका छन्। यसपटक काठमाण्डुको शिक्षण अस्पतालमा उनको उपचार गरिएको हो।

यसै हप्ता बुधबार उनको बायाँ मृगौला झिकेर त्यसको ठाउँमा उनकी भाञ्जी पर्ने ३२ वर्षीया समीक्षा संग्रौलाको मृगौला राखिएको छ। शल्यकृया गर्न ४ घण्टा लागेको थियो र त्यसपछि प्रधानमन्त्रीलाई आइसियुमा राखिएको छ। 

शल्यकृयापछि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले भने: "प्रधानमन्त्रीलाई ७ दिनसम्म निगरानीमा राखिने छ।"

Nepal's PM KP Sharma Oli had kidney transplant at a Kathmandu hospital
Nepal's PM KP Sharma Oli had kidney transplant at a Kathmandu hospital Source: RSS

सुन निक्षेप

नेपाल राष्ट्र ब्यांकले आगामी वर्षदेखि ब्यांकमा पैसाजस्तै सुन डिपोजिट गर्न पाइने बताएको छ।

राष्ट्र ब्यांकले त्यो प्रकृयाको कार्यविधि तयारी गरिरहेको छ जस अनुसार सुनलाई गहनाको रूपमा नभइ पगालेर धातुका रुपमा ब्यांकमा राख्न सकिने छ। हालको प्रचलन अनुसार ब्यांकमा सुन राख्नका लागि ग्राहकले लकर लिएर उल्टै भाडा तिर्नु पर्छ।

नेपाल सहित दक्षिण एशियाली मुलुकमा सुनको खपत धेरै हुनाले यो योजना सफल हुने ब्यांकको भनाइ छ भने सुनलाई गहनाको रूपमा नभएर पगालेर राख्नुपर्ने हुनाले ग्राहकमाझ लोकप्रिय रनहोला भन्ने कतिपयको आशंका छ।

मिस वर्ल्ड टोनी एन सिंह नेपालमा

मिस वर्ल्ड २०१९ टोनी एन सिंह यस हप्ता नेपाल आएकी छिन् र मिस वर्ल्डका आयोजकसँग नेपालमै मिस वर्ल्ड प्रतियोगिताको आयोजना गर्ने बारेमा प्रारम्भिक छलफल गरिएको छ।

मिस वर्ल्ड सिंह र मिस वर्ल्ड प्रतियोगिताकी एकजना आयोजक जुलिया मोर्लेलाई पर्यटन मन्त्री योगेश भट्टराई र मिस नेपाल अनुष्का श्रेष्ठले स्वागत गरेका थिए।

सिंह त्यसपछि अनुष्का श्रेष्ठ र पुर्व मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्टहरु हेर्न हेलम्बु र मकवानपुर जाने योजना रहेको छ।

नेपालले भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्ने उद्देश्यले मिस वर्ल्ड प्रतियोगिता नेपालमै गर्न खोजेको हो। महिला सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड वर्षेनी फरक फरक देशमा आयोजना हुन्छ र पछिल्लो पटक यसको ६९औं सस्करण लण्डनमा आयोजना गरिएको थियो। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now