छोटो समयका लागी अस्ट्रेलिया आइ यहीँ अड्किएका नेपालीहरूको उद्धार लागी स्पष्ट योजनाका साथ कदम चाल्नु पर्ने भन्दै अनसन बसेका अधिकारीले अनसन तोडे पनि आफ्नो सो कदमले सरकारलाई झकझक्याएको विश्वास व्यक्त गरेका छन्।
दूतावासले तत्काल नेपालीलाई देशमा फर्काउनेबारे केहि समय धैर्य गर्न आग्रह गरेकोमा अनिल अधिकारी आफ्नो कदमले विदेशमा अड्किएकाहरूको समस्या सरकार समक्ष पुर्याउन सफल भएको बताउँछन्।

बुधवार बिहान १० बजे देखि साँझ आठ बजे सम्म आफ्ना केही सहयोगीहरूको साथमा अनसन बसेका अधिकारीले क्यानबेरा स्थित नेपाली दूतावासलाई अब आउने भनिएको जहाजमा अस्ट्रेलियामा अड्किएका नेपालीहरूलाई उद्धार गर्न सकिने नसकिने बारे सत्य सूचनाको माग गरेका थिए।
"अघिल्लो पटक पनि प्लेन आएको र त्यतिखेर चाहिँ विभिन्न गलत सूचनाहरू आइरहेको अवस्थामा के हो वास्तविकता र सत्य तथ्य के हो भनेर मैले आठ घण्टाको अनसन बसेको थिएँ।"
प्रतिक्रिया स्वरूप दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले अस्ट्रेलियामा प्रतिबन्धका कारण अड्किएका नेपालीहरूलाई फिर्ता पठाउने सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।

तर सो जहाजमा नेपालीहरूलाई पठाउँदा स्वास्थ्य जोखिम उच्च रहने हुनाले सो निर्णय उचित नहुने भन्दै दूतावासले तत्कालका लागी जहाँ बसिरहेको हो त्यहीँ सुरक्षित बस्न समेत आग्रह गरेको छ।
केही महिना अगाडी नेपाली क्रिकेटबारे अध्ययन र प्रचार प्रसारका लागी मेलबर्न आएका नेपाली क्रिकेट प्रशिक्षक अनिल अधिकारी कोरोना भाइरस सङ्क्रमण कम गर्न अस्ट्रेलिया सरकारद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय उडान प्रतिबन्धका कारण नेपाल फर्कन नपाउने भएका थिए।
नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूलाई फर्काउँदा भाइरस देशमा भित्रने सोच राखे पनि एक दिन त यो यथार्थलाई मनन गर्नु पर्ने भन्दै अधिकारीले आफ्नो उद्देश्य यो विपतको घडीमा मातृभूमि फर्कन चाहनेहरूलाई स्वदेश फर्काउन पहल होस् भन्ने रहेको बताएका छन्।
नेपालबाट अस्ट्रेलियाले आफ्ना नागरिकहरूको उद्धार गरिरहेको समयमा अस्ट्रेलिया आएको नेपाली ध्वजा वाहक जहाज भने रित्तै नेपाल फर्किनु दुर्भाग्य पूर्ण रहेको उनको भनाइ छ।
“म भन्दा पनि नेपाल फर्कनै पर्ने बाध्यात्मक परिस्थितिमा रहेकाहरूलाई नेपाली ध्वजा वाहक जहाज अस्ट्रेलियाको आकाशमा आइरहँदा कुनै पनि जान खोज्ने नेपालीको मन कुँडिन्छ नि।"
केही महिना अगाडी अस्ट्रेलियाको सिड्नीमा रहेकी नातिनी र ज्वाई भेट्न आएका कृष्ण प्रसाद शेरचन र हर्क देवी शेरचनले मे १५ मा नेपाल फर्कने योजना बनाएका थिए ।
तर अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय उडान तत्काल सुरु गर्ने अवस्था नदेखिँदा योजना अनुरूप नेपाल फर्कन नपाउने उनीहरूले बुझिसकेका छन्।

अस्ट्रेलियामा जाडो याम सुरुवात हुन लाग्दा खुट्टा दुख्ने समस्या भएकोले नेपाल फर्किन पाए हुन्थ्यो जस्तो लाग्ने शेरचन दम्पतीले बताए पनि आत्तिएको जस्तो आफूले अनुभव नगरेको नातिनी आकृति शेरचनको भनाइ रहेको छ।
काठमान्डु निवासी प्रमीला दाहाल फेब्रुअरीमा नेपालमा बस्दै आएको नाति लिएर दुई महिनामा फर्किने गरी अस्ट्रेलिया आएकी थिइन।
तर दुई महिना काटेर पनि अझै कहिले नेपाल फर्कन पाइने हो भनेर अनिश्चित नै रहेकोले दाहाल चिन्तामा रहेकी छन्।
उनी नेपालमा जागिरे श्रीमान् र वृद्ध सासू ससुरा मात्र रहेको र यति लामो समय आफू अस्ट्रेलियामा नै अड्किदा केही आत्तिएकी छन्।
नेपालबाट अस्ट्रेलियालीहरूलाई फेरी एक पटक उद्धार गरेर ल्याइने कुरा सुन्दा आफूलाई नेपाल फर्कन हतारो भए पनि आफू भन्दा धेरै समस्यामा रहेकाहरूका लागी चाहिँ सोही जहाजमा नेपाल फर्कने व्यवस्था मिलाई दिए राम्रो हुने उनको भनाइ छ।
"मेरो त छोरा छोरी सबै यतै छन् त्यसैले त्यस्तो गाह्रो भएको छैन तर म भन्दा धेरै पीडित भएकाहरूलाई चाहिँ राजनीतिक खिचातानी छोडेर नेपाल सरकारले उद्धार गर्ने व्यवस्था मिलाउनु पर्छ।"

आफ्नो छोरा बुहारी, छोरी ज्वाई सबै जना अस्ट्रेलियामा नै रहेकोले दिन कटाउन खासै गाह्रो छैन र साथमा दिनभर नाति सँगै खेलेर पनि दिन बिताउन रमाइलो नै लागी रहेको दाहालको भनाइ छ।
नेपाल जानै पर्ने अवस्था देखाउँदै दूतावासमा ५०/६० जना जातिले नेपाल फर्काउन आग्रह गरेको आफूले बुझेको अनिल अधिकारीको भनाइ छ।
अस्ट्रेलियामा ज्यान गुमाएको व्यक्तिको शव र नेपालमा केही स्वास्थ्य सामाग्रीहरू पनि पठाउने पहलहरू भई रहँदा कम्तीमा पनि त्यस्ता सामाग्रीहरू लाने सम्म व्यवस्था गरिदिए आफूहरूको माग सम्बोधन भएको अनुभूति हुन सक्ने थियो भन्छन् अधिकारी।






