छाउगोठमा फेरी एक महिलाको मृत्यु
एक महिना भित्र दुई फरक घटनामा छाउगोठमा बसेका चार जनाको मृत्यु भएको छ। बाजुरामा एक महिला र उना दुई छोराको छाउगोठमा मृत्यु भएको महिना दिन नबित्तै फेरी त्यस्तो घटना दोहोरीएको हो।
यसपटक यस्तै घटना डोटीमा भएको हो। डोटी पूर्वीचौकी गाउँपालिका-५की २१ वर्षीया पार्वती बोगटीको बुधबार राती महिनावारी भएका बेला बसेको ठाउँमा मृत्यु भएको हो।
यी दुवै घटनामा छाउगोठमा बस्दा जाडो भएका कारण बालिएको आगोका धुँवाले निसास्सिएर मृत्यु भएको बताइएको छ।
डा. केसीको अनसन स्थगित
चिकित्सा शिक्षा विधेयकमा आफ्ना मागहरु नपरेपछि सरकरालाई आफूसंग गरेको सहमति पुरा गराउन दवाव दिन अनसन बसेका डा. गोविन्द केसीले अन्तत बिना सहमति अनसन स्थगित गरेका छन्। गतसता संसदको प्रतिनिधिसभाले बलपूर्वक चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो।
शुक्रबार राष्ट्रियसभामा पनि त्यही शैलीमा सरकारले उक्त विधेयक पारित गर्यो। सोही दिन राती सातबजे डा. केसीले पत्रकार सम्मेलन गरि आफूले अनशन स्थगन गरेको जानकारी दिए। तर उनले आफ्ना मागहरु सम्बोधन गर्न नयाँ तयरीकाबाट आन्दोलन गर्ने पनि बताए।
पूर्व प्रधानन्यायधीश शुशीला कार्की र त्रिवि शिक्षण अस्पतालका एकजना कर्मचारीको हातबाट जुस खाएर उनले अनसन तोडेका हुन्। "नयाँ तरीकाबाट अनसन लड्नुहोस् त्यसमा हाम्रो पनि साथ, सहयोग हुनेछ," उक्त अवसरमा पूर्व प्रधानन्यायाधिश कार्कीले डा. केसीलाई भनेकी थिइन्।
सरकारले भने डा. केसीसंगको सम्झौताकै आधारमा सहमति भएको बताउँदै आएको छ।
केहि दिन यता नागरिक अगुवाहरु लगायत प्रतिपक्षी दलका नेताहरुले डा. केसीलाई भेटेर अनसन तोड्न आग्रह गर्दै आएका थिए।
यसैबीच शनीवार पनि विभिन्न पेशामा आबद्ध व्यक्तिहरु र नागरिक समाजका अगुवाहरुले डा. केसीको समर्थनमा प्रदर्शन गरेका थिए।

उपचारपछि पूर्व युवराज घरफिर्ता
पूर्वयुवराज पारस शाह शुक्रबार नर्भिक इन्टरनेशनल अस्पतालबाट घर फर्केका छन्।
उनलाई ह्रदयघात भएपछि गतसाता अस्पताल भर्ना गरिएको थियो। उनको मुटुको एन्जिओप्लास्टि गरिएको अस्पतालले जनाएको छ। उनलाई यो तेस्रो पटक ह्रदयघात भएको हो।
शान्ती प्रकृया हामी आफैँ मिलाउँछौं: सरकार
नेपाल सरकारले बाँकि शान्ती प्रकृया आफैँ मिलाउने सन्देश विभिन्न कुटनितिक नियोगका अधिकारीहरुलाई दिएको छ। शुक्रबार नेपाल स्थित विभिन्न कुटनी तिक नियोगका पदाधिकारीहरु डाकेर सरकारले यस्तो सन्देश दिएको हो।
गतसाता नेपालको शान्ति प्रकृया बारे चासो दिँदै कुटनितिक नियोगहरुले प्रेस विज्ञेप्ती निकालेपछि सरकारको उसको धारणा यसरी सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडा उपस्थित थिए।
"शान्ती प्रकृयाका केहि कामहरु बाँकि छन् जसलाई हामीले भन्दै आएको विस्तृत शान्ती सम्झौताको मर्म, हामीले गरेका अन्तराष्ट्रिय प्रतिबद्धताहरु, पीडीतका सरोकार र सर्वच्च अदालत लगातबाट आएका फैसलाका मार्गदर्शनमा हामी यसलाई छिट्टै टुङ्ग्याउँछौं," कार्यक्रमपछि संचारकर्मीहरुसंग कुरागर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, "त्यसैका लागि हामीले आयोगहरुको म्याद थप्ने सम्बन्धमा विधेयसंशोधन गरेको छ।
यो नेपालको आफ्नो विषय हो। नेपाललाई सबैको साथ र सहयोग चाहिन्छ नै तर यो नेपालले आफ्नो मौलिक ढङ्गले ढुङ्ग्याउँछ।"
यसका साथै आउने चैत महिनामा नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलनका बारेमा पनि जनाकारी दिइएको मन्त्री ज्ञवालीले बताए।

बल्ल बन्यो मेची पुल
यसै साता प्रधानमन्त्री केपी ओलीले नेपाल र भारत जोड्ने मेची पुलको उद्घाटन गरे। झण्डै सात दशक लगाएर उक्त पुलको निर्माण कार्य सम्पन्न भएको हो।
अधिकारीहरुका अनुसार उक्त पुलको निर्माण कार्य विसं २००९मा शुरु गरिएको थियो। तर विभिन्न कारणले त्यो हालैमात्र सम्पन्न भएको हो।
सन्दिप जोराको किर्तिमान
युवा क्रिकेटर सन्दिप जोराले टि- २० क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बनेका छन्। जोराले आफ्नो डब्यु खेलमै यस्तो किर्तिमान बनाएका हुन्।
बिहिवार युएईको घरेलु मैदानमा उसै विरुद्ध भएको पहिलो टि-२० खेलका क्रममा उनले ५३ रन बनाए र कर्तिमान कायम गरेका हुन्। जोराको उत्कृष्ट प्रदर्शनले पनि नेपाललाई उक्त खेल जिताउन भने सकेन।
तीन खेलको शृङ्खलामा नेपालको दोस्रो खेल जितेर बराबरीको अवस्थामा ल्याएको छ। अन्तिम तथा निर्णायक खेला आइतबार हुँदै छ। यसअघि उक्त किर्तिमान क्यानडाका हिरल पटेलको नाममा रहेको थियो।
टि-२० अघि भएको एकदिवसीय श्रृखला नेपालले २-१ले जितेको थियो।

करिब ३ हजार सुरक्षाकर्मी सहिद घोषणा
नेपाल सरकारले विभिन्न समयमा मृत्यु भएका करिब ३ हजार राष्ट्र सेवकलाई सहिद घोषणा गरेको छ।
यहि साता बसेको मन्त्रिपरिषद बैठकले विगतका जनआन्दोलन, सशस्त्र द्वन्दव र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेकाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए।




