मुख्य बुँदाहरू
- कुनै पनि ठूलो कालो माकुराले टोकेमा त्यसलाई आपतकालीन अवस्थाको रूपमा उपचार गर्नु पर्छ
- कुनै पनि सर्पको टोकाइले ज्यान जोखिममा पार्न सक्ने सम्भावना भएको हुनाले, प्राथमिक उपचारमा ब्यान्डेजले टोकेको भागलाई स्थिर राख्नुपर्छ
- तपाईंले अस्ट्रेलियाका दुर्गम क्षेत्रहरू सहित सबै ठाउँमा आपतकालीन चिकित्सा सहायता पाउन सक्नुहुन्छ
अस्ट्रेलियालाई विषालु जनावरहरूको घर भनेर चिनिने गरेको छ। तर माकुराको कुरामा भने मात्र एउटा प्रजातिको बारेमा चिन्तित हुनु पर्ने, न्यु साउथ वेल्स विष सूचना केन्द्रका चिकित्सा निर्देशक ड्यारेन रोबर्ट्सले बताए।
“र त्यो हो फनल वेब माकुरा। रेडब्याक माकुराहरूलाई पनि धेरैले विषालु मान्छन्, तिनीहरूले तपाईँलाई बिरामी पार्न सक्छन्, तर त्यस कारण मृत्यु हुने या विषका कारण गम्भीर अवस्थामा पुगी अस्पताल भर्ना हुने निकै कम हुन्छन्। अस्ट्रेलियाका अन्य सबै माकुराहरू सामान्यतया कम या गैर-विषालु मानिन्छन्।”

अस्ट्रेलियामा सर्पहरू देखिनु सामान्य हो, तर जीवन जोखिममा पार्ने किसिमको टोकाई भने कमै पाइन्छ।
अस्ट्रेलियामा रहेका सर्पका १७२ प्रजाति मध्य करिब १०० विषालु मानिन्छन्, र ती मध्य मात्र १२ वटा प्रजातिहरू मानवका लागि घातक हुन्छन्।
पछिल्लो तथ्याङ्कका अनुसार अस्ट्रेलियामा वार्षिक रूपमा प्रत्येक ३,००० सर्पको टोकाइमा औसत दुई जनाको मृत्यु भएको पाइन्छ।
“अस्ट्रेलिया भर सबै ठाउँमा सर्प पाइन्छ भनेर हामीलाई थाहा छ। तर समस्या निम्त्याउने सर्पका टोकाई भने कमै पाइन्छ,” डाक्टर रोबर्ट्स बताउँछन्।

माकुराले टोकेमा गरिने प्राथमिक उपचार (फर्स्ट एड)
अस्ट्रेलिया अधिकांश माकुराले धेरै हानि नपुराउने भए तापनि, आफूलाई र अरू कसैलाई टोकेमा के गर्ने भनी जानकार रहन आवश्यक छ।
फनल वेब माकुरा बाहेक अन्य माकुराले टोकेमा डाक्टर रोबर्ट्सको सुझाव यस्तो छ, “टोकेको ठाउँमा एन्टिसेप्टिकले सफा गर्ने, तपाईँले टेटानसको खोप लगाउनु भएको छ कि छैन भनेर याद गर्नुहोस्, र त्यस पछि केही लक्षणहरू देखिन्छन् कि भनेर पर्खेर बस्ने मात्र हो।”
केही अन्य लक्षणहरू या सङ्क्रमण देखा परेमा, चिकित्सा सहायता लिनुहोस्।
माकुराले टोकेको ठाउँमा दुख्नु सामान्य हो। कुनै चिसो वस्तु वा आइस प्याकलाई सफा कपडामा बेरेर, दुखेको ठाउँमा १५ मिनेटसम्म सेकेमा, त्यसलाई दुखाइ कम गर्न मद्दत गर्दछ।

यसको विपरीत, फनल वेब माकुराले टोकेमा भने निकै दुख्ने र त्यसको विषले ज्यान जोखिममा पार्न सक्ने हुनाले, तुरुन्तै अस्पतालमा उपचार गर्नु पर्छ।
कुनै पनि ठूलो कालो माकुराले टोकेमा, यदी त्यो फनल वेब माकुरा भए तापनि या नभए तापनि, त्यसको आपतकालीन रूपमा उपचार गरिनु पर्छ। त्यसैले, तुरुन्तै एम्बुलेन्स बोलाउनु होस्।
फनल वेब माकुराले टोकेमा, मुखको वरिपरि सुन्निने र केही महसुस नहुने, वाकवाक लाग्ने, बान्ता आउने, पेट या छाती दुख्ने आदि हुन सक्छ।

यस्तो अवस्थाको लागि डाक्टर रोबर्ट्सले प्राथमिक उपचारका कदमहरू बताएका छन्:
- “टोकेको ठाउँबाट विष शरीरको अन्य भागमा नसर्नका लागि त्यसको वरिपरि र माथि-तल ब्यान्डेजले बाध्ने।
- एमुलेन्स नआएसम्म उक्त व्यक्ति नचलिकन स्थिर बस्नु पर्छ।
- ती व्यक्तिलाई हिँडडुल गर्न नदिनुहोस्। त्यसले विषलाई शरीरमा फैलाउन सक्छ।”
एम्बुलेन्स नआएसम्म टोकाई भएको ठाउँमा ब्यान्डेज या अन्य कुनै वस्तु प्रयोग गरेर शरीरको उक्त भागलाई हल्लिन नदिनुहोस् (यसो गर्नुलाई स्प्लिन्ट भनिन्छ)।

अस्ट्रेलियाको दुर्गम क्षत्रमा सर्पले टोकेमा के हुन्छ?
शन फ्रान्सिस रोयल फ्लाइङ्ग डाक्टर सर्भिसको क्वीन्सल्याण्ड शाखाका डाक्टर हुन्।
उक्त गैर नाफा मूलक संस्थाले अस्ट्रेलियाको ग्रामीण र दुर्गम समुदायहरूमा हवाई सेवा मार्फत स्वास्थ्य सेवा र २४ घण्टे आपत्कालीन सेवाहरू प्रदान गर्दछ।
दुर्गम ठाउँहरूमा माकुराको टोकाई सामान्य घटना रहेको र कतिपय समयमा कस्तो माकुराले टोकेको भनी थाहा नहुने उनले बताए।
सबै अवस्थामा टोकेको ठाउँमा दुख्ने, अलिअलि रातो हुने र सुन्निने सामान्य हो।
त्यस बाहेक अन्य लक्षण देखा परेमा भने विषालु हुन सक्ने र हवाई सेवा मार्फत मद्दत लिन उचित हुने डाक्टर फ्रान्सिसले बताए।
“दुखाइ भन्दा बढी अरू लक्षण देखा परेमा चिन्तित हुनु पर्छ, जस्तै पसिना आउन थाल्ने। उदाहरणको लागि, फनल वेब माकुराले टोकेमा, मुखको वरिपरि सुन्निने र केही महसुस नहुने, वाकवाक लाग्ने, बान्ता आउने, पेट या छाती दुख्ने आदि हुन सक्छ।
यस्ता लक्षण देखा परेमा हामीले थप उपचार गर्छौँ। तर सर्पले टोकेको खण्डमा भने कुनै लक्षण नदेखिए तापनि उपचार गर्न आवश्यक छ।”

सर्पले टोकेमा गरिने प्राथमिक उपचार
कुनै सर्पका टोकाई सुख्खा हुन्छ, अर्थात् सर्पले टोके पनि विष निस्केको हुँदैन।
तर कुनै पनि सर्पको टोकाईलाई गैर-विषालु मान्नु जोखिमपूर्ण हुने डाक्टर फ्रान्सिसले चेतावनी दिए। हरेक टोकाई सम्भावित रूपमा विषालु र ज्यान जोखिममा पार्ने हुन सक्छ भन्ने सोचेर उपचार गर्नु पर्छ।
उनले तीन मुख्य कदमहरू बताएका छन्:
- टोकेको ठाउँबाट विष शरीरको अन्य भागमा नसर्नका लागि त्यसको वरिपरि र माथि-तल ब्यान्डेजले बाध्ने।
- टोकेको ठाउँलाई स्प्लिन्ट गरेर हल्लिन नदिने
- ००० मा फोन गर्ने।
क्षेत्रीय भिक्टोरियाका जियानी हज्सन इजाजतपत्र प्राप्त रूपमा सर्प पक्रने कम गर्छन्।
केही विषालू सर्पहरू नियमित रूपमा देखिने गरेको, तर गैर-विषालु सर्पको टोकाईले पनि समस्या निम्त्याउन सक्ने उनले बताए।
सर्प देखेमा के नगर्ने
धेरै जस्ता सर्पहरूले डर नलागे सम्म या जोखिम महसुस नगरेसम्म आक्रमण गर्ने सम्भावना हुँदैन।
मानिसहरूले सर्पलाई समात्न या मार्न खोज्दा घटना घट्ने हो।
सर्पले तपाईँलाई लखेट्छ भनी सोच्नु एक गलत धारणा रहेको हज्सनले बताए।
कुनै पनि सर्प तपाईँ तिर आउने भनेको तपाईँ उनीहरू जान खोजेको सुरक्षित ठाउँको बाटोमा हुनु हुन्छ भने मात्र हो। र कतिपय समयमा सर्पहरूलाई तपाईँ त्यहाँ हुनु हुन्छ भनेर पनि थाहा हुँदैन।
सर्प देखेमा के नगर्ने भनेर हज्सनले सल्लाह दिएका छन्:
- “ठुला आवाज नबनाउनुहोस्। किनभने तपाईँ सर्पको नजिक हुनु हुन्छ भने त्यसलाई खतरा महसुस हुन सक्छ, र आक्रमण गर्न सक्छ।
- आफू त्यहाँ भएको थाहा दिनुहोस्, र सर्प भएको स्थानबाट पछि हट्नुहोस्।
- यदि तपाईँले गल्तीमा सर्पको माथि टेक्नु भएको छ भने, अलिकति पनि नचल्नुहोस्। सर्पलाई चल्न दिनुहोस्, र त्यो आफ्नै बाटो लागेर जान्छ। तपाईँ त्यहाँ हुनु हुन्छ भनेर सर्पले थाहा पाएको हुँदैन।”
माकुरा या सर्पले टोकेमा कसलाई सम्पर्क गर्ने
- माकुराको टोकाई पछि के गर्ने भन्ने थाहा नभएमा, राष्ट्रव्यापी विष सूचना केन्द्र (Poisons Information centre) को हेल्पलाइन नम्बर १३ ११ २६ मा सम्पर्क गर्नुहोस्।
- सर्पले टोकेमा या अन्य सबै आपतकालीन अवस्थामा ००० मा फोन गर्नुहोस्।
- यदि तपाईँ अस्पतालबाट टाढा हुनु हुन्छ भने, रोयल फ्लाइङ्ग डाक्टर सर्भिसलाई १३०० ६९ ७३३७ मा फोन गर्नुहोस्।




