अस्ट्रेलियामा सरकार, सञ्चार निकाय, व्यवसाय र गैर सरकारी निकाय प्रति आम मानिसहरूको विश्वसनीयता एकदमै कम रहेको एक पछिल्लो अध्ययनले देखाएको छ।
एडेलम्यान ब्यारोमिटर नाम दिइएको उक्त अध्ययनले देशका चार प्रमुख निकायहरू - सरकार, सञ्चार, व्यवसाय र गैर सरकारी संस्थाहरू बारे सर्वसाधारण अस्ट्रेलियालीहरूको बिचार सङ्कलन गरेको थियो जसमा धेरैले सरकारदेखि सञ्चार क्षेत्र सबै असक्षम र अनैतिक रहेको बताएका छन्।
विश्वसनीयता सम्बन्धी उक्त अध्ययनका अनुसार - ती निकायहरू मध्ये कुनै प्रति पनि सक्षम र नैतिकताको आधारमा काम गर्ने मानिसहरूको विश्वास नरहेको भएता पनि गैर सरकारी संस्था एवं व्यावसायीहरु प्रति चाहिँ सरकार र आमसञ्चार माध्यमहरू भन्दा बलियो स्थानमा रहेको पनि देखिएको छ।

एडेलम्यान अस्ट्रेलिया का प्रबन्ध निर्देशक स्कट थोम्सन भन्छन् कि मानिसहरूको जीवनको अवस्थाका आधारमा हाल अन्य निकायहरू प्रतिको विश्वसनीयता निर्भर रहेको हुन सक्ने देखिएको छ।
एसबीएससँग कुरा गर्दै उनले भने कि पैसा भएका, विश्वविद्यालयमा अध्ययन गरेका वा उच्च आय रहेकाहरूको भन्दा त्यस्तो अवस्थामा नरहेकाहरूले अरूप्रति कम विश्वास व्यक्त गर्ने गरेको आफ्नो अध्ययनले देखाएको छ।
यस्तै सर्वेक्षण गरिएका अन्य राष्ट्रहरूको भन्दा अस्ट्रेलियामा अविश्वसनीययताको स्तर धेरै रहेको पनि बताइँदै गर्दा भविष्य बारे मानिसहरू बढी चिन्तित रहेको पनि देखिएको छ।

सर्वेक्षण गरिएकाहरू मध्ये केवल एक तिहाइ परिवारहरूले मात्र अबको पाँच वर्षको समयमा आफूहरूको जीवनमा सुधार आउने विश्वास राखेका छन्।
अस्ट्रेलियाको आर्थिक विकास गए २८ वर्ष देखि अनवरत रूपमा जारी रहँदा पनि धेरै मानिसहरूमा नैराश्यता देखिएको हो।
"गिग इकोनोमी" पनि भनिने स्थायी रूपमा कुनै एक संस्थामा काम नगर्ने बानीका कारण पनि बढ्दो अवस्थाका माझ सर्वेक्षणमा शमिल प्रत्येक १० जना मध्ये आठ जनाले चिन्ता व्यक्त गरेका थिए।
साथै डढेलो, खडेरी, सुक्खा याम र जलवायु परिवर्तनका कारण - वातावरण प्रति चिन्तित रहनेहरूको सङ्ख्या लगभग ९० प्रतिशत रहेको पनि देखिएको छ।
यस्ता कारणहरूले पनि सरकार लगायत विभिन्न निकायहरू प्रतिको विश्वसनीयता कम भएको बताइएको छ र यस्तो अवस्थामा सुधार ल्याउन समाजमा विभाजन भन्दा एकता बढेको अस्ट्रेलियालीहरूले हेर्न चाहेको बताउँछन् स्कट थोम्सन।
यस सम्बन्धी अडियो रिपोर्ट सुन्न यो पेजको माथि रहेको मिडिया प्लेयरमा स्पिकर आइकन थिच्नुहोस्





